२०७६ मङ्सिर ८ आइतबार १९:२१:००

विपन्न परिवारको विवाह खर्च गाउँपालिकाले दिने

२०७६ मङ्सिर ८ आइतबार १९:२१:००

सुनसरीको कोशी गाउँपालिकाले विपन्न, दलित गरिब समुदायका व्यक्तिको सामुहिक विवाह गरिदिने भएको छ । उक्त कार्यक्रमको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीले बताए । 

जसले विवाहको लागि ऋण लिनुपर्छ, दाइजो दिन सक्दैंन, जन्तीलाई भोज खुवाउने सामथ्र्य हुदैंन त्यस्तो परिवारलाई लक्षित गरेर निःशुल्क विवाहाको कार्यक्रम ल्याएको हो ।

गत असारमा नै गाउँसभाबाट कार्यक्रम स्वीकृत गरि १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको उनले बताए । जनचेतना कार्यक्रमको नाममा लाखौंको बजेट सकिएपछि विवाहको नाममा तिलक दिने, भोज खुवाउने काममा विपन्न वर्गले खेतवारी नै बेच्नु पर्ने भएको कारण यस्तो कार्यक्रम ल्याएको अध्यक्ष अन्सारीको भनाइ छ ।

गाउँपालिकाले मंसिरको अन्तिम साता आयोजना गर्न लागेको सामुहिक विवाह कार्यक्रममा सहभागिताको लागि शुक्रबारदेखि नाम दर्ता खुलाएको छ । विवाह गर्न चाहने उमेर पुगेका युवायुवतीले अभिभावकको मञ्जुरीमा १७ मंसिर भित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा नाम दर्ता गराउन सक्ने कार्यालयले जनाएको छ ।  

सामुहिक विवाहमा सरिक भए वापत बेहुला र बेहुलीलाई लुगाकपडाका लागि १०–१० हजार रकम गाउँपालिकाले उपलब्ध गराउने छ । विवाह गर्ने जोडीलाई जातीय परम्परा अनुसारको विधिविधानसहितको बन्दोवस्ती मिलाइने गाउँपालिकाले जनाएको छ ।   

‘विवाहमा केटा पक्षले जन्तीसमेत लिएर आउन पाउने छन् । जन्ती भने ५० जना भन्दा बढी ल्याउन पाइने छैन । जन्तीसहित आगन्तुकको स्वागत तथा खानपिनको व्यवस्थासमेत गाउँपालिकाको कार्यालयले जुटाउने छ,’ अध्यक्ष अन्सारीले भने, ‘उनीहरुको परम्परा तथा रितिलाई मर्न दिइने छैन ।’ 

सामुहिक विवाह कार्यक्रममा गाउँपालिका भित्र बसोबास गर्नेहरुले मात्र सहभागिता जनाउन पाउने छन् । मंसिर र वैशाखमा यो कार्यक्रम आयोजन गर्ने गाउँपालिकाले जनाएको छ ।