२०७६ मङ्सिर ३ मंगलबार १७:११:००
अजित अधिकारी काठमाडाैं

साढे १९ लाख रुपैयाँको डिजेल बोकेको ट्यांकर अपहरण, खाेजी कार्य जारी

नेपाल आयल निगमको बारास्थित अमलेखगञ्जबाट बिराटनगर डिपोका लागि डिजेल बोकेर हिडेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोमबार राति सिराहाको लाहानबाट अपहरण भएको छ । २० किलोलिटर डिजेल लिएर गएको ट्यांकर सिराहा बजारमा अपहरण भएको चालकले प्रारम्भिक जानकारी दिएका हुन् । 

आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले अमलेगखञ्जबाट हिडेको ट्यांकर डिपोमा नपुगी सम्पर्कविहीन भएको जानकारी दिए । ‘हामीलाई चालकले ट्यांकर अपहरणमा परेको बताएका छन्’ गोइतले भने । उनका अनुसार लाहान पुगेपछि चालकले ट्यांकर रोकेर बिश्राम गरेका थिए । सोही बेला एक अज्ञात समूह आएर चालक र सहचालकलाई अपहरण शैलीमा एक भ्यानमा राखेर दौडाएका थिए ।

‘चालक र सहचालकको आँखामा पट्टी बाँधेर भ्यान दौडिएको थियो । त्यसपछि बर्दिबास र लालबन्दीबीचको जंगलमा रोकेर दुवैलाई जनालाई छाडिएको बताएका छन् । ट्यांकर अपहरणकारील नै चलाएर लगेको प्रारम्भिक बुझाइ छ’ गोइतले भने । सो ट्यांकरमा रहेको डिजेलको प्रचलित बजार मूल्य १९ लाख ४० हजार रुपैयाँ हो । यति ठूलो परिमाणको तेल हराएपछि निगमले छानबिन समिति बनाएर खोजी कार्यअघि बढाएको छ ।

निगमको बिराटनगर कार्यालय प्रमुख अशोक साहको संयोजकत्वमा एक टोली बनाएर छानबिनअघि बढाएको निगमले जनाएको छ । त्यस्तै लाहान प्रहरीले पनि खोजी कार्य तिव्र बनाएको जनाएको छ । यो ट्यांकर व्यवसायी राजेशकुमार गुप्ताको हो । चालकले अपहरण भएको भनेर निगमलाई जानकारी गराए पनि ट्यांकरको तेल चोरी गर्ने उदेश्यले घटना घटाइएको हुनसक्ने आशंका गरिएको छ ।

करिब ५ वर्षअघि पनि यसै गरी सिंगो ट्याकरको तेल गायब गरिएको थियो ।  पछि अनुसन्धान गर्दा एउटा पम्पले बजार मूल्यभन्दा केही सस्तोमा चोरीको तेल किनेको पुष्टि भएको थियो । अहिले पनि चालक सकुशल रहेको अवस्थामा ट्यांकर नै गायब हुनुलाई शंकाको घेरामा राखेर हेरिएको छ ।