सीमाका विषयमा सरकार अल्मलिँदैन :मन्त्री बास्कोटा

२०७६ कार्तिक २२ शुक्रबार १३:३४:००
नयाँ पत्रिका

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । 
 
देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताएका छन् । 
 
'सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ', सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, 'विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पु-याउनेछौं ।'
 
'सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन', उनको भनाइ थियो । 'सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ', उनले भने, 'सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।'
 
आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए । 
 
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन् । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले बताइन् । रासस