२०७६ कार्तिक २१ बिहीबार १६:२३:००
एजेन्सी

ट्विटरका पूर्वकर्मचारीमाथि साउदीका लागि जासुसी गरेको आरोप 

एजेन्सी
२०७६ कार्तिक २१ बिहीबार १६:२३:००

अमेरिकामा ट्विटरका दुई पूर्व कर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको आरोप लागेको छ । 

सान फ्रान्सिस्कोमा बुधबार सार्वजनिक भएको यो मामिलामा साउदी गुप्तचरहरुले साउदी सरकारका आलोचक र ट्विटर प्रयोगकर्ताको व्यक्तिगत सूचना मागेका थिए । अदालतको कागजातमा लेखिएअनुसार यी दुई आरोपीहरु अमेरिकी नागरिक अहमद अबुउआमो र साउदी अरबका नागरिक अलि अल्जाबराह रहेका छन् ।

यी दुईबाहेक साउदी नागरिक अहमद अल्मुतैरीमाथि पनि जासुसीको आरोप लागेको छ । अल्मुतैरीमाथि दुई गुप्तचर र साउदी अधिकारीबीच मध्यस्थ भूमिका निभाएको अभियोग लागेको हो । बुधबार सियाटल अदालतले अहमद अबुउआमोलाई हिरासतमा राख्ने आदेश दिएको छ र अबुउआमोविरुद्धको अर्को सुनुवाइ शुक्रबार हुनेछ । उनीमाथि कागजपत्र हेरफेर गरेको र संघीय अनुसन्धान निकाय एफबिआईसँग गलत बयान दिएको आरोप लागेको छ । 

अबुउआमोले २०१५ मा ट्विटरको आफ्नो मिडिया पार्टनरसिप म्यानेजरको जागिर छोडेका थिए । अल्जबराह र अहमद अलमुतरी दुवै अहिले साउदी अरबमा रहेको विश्वास गरिएको छ ।

ट्विटरका पूर्वइन्जिनियर अल्जबराहले २०१५ मा ६ हजारभन्दा धेरै ट्विटर प्रयोगकर्ताको व्यक्तिगत विवरणको जानकारी लिएको आरोप छ । अनुसन्धानकर्ताका अनुसार यसबारे अल्जबराहका सुपरभाइजर्सले हस्तक्षेप गरेका थिए । उनी छोरी र श्रीमतीसहित साउदी अरब जानुअघि सुपरभाइजरले बिदा दिएको बताइएको छ । 

ट्विटरले एक विज्ञप्तिमा भनेको छ ‘आफ्नो सेवालाई कमजोर बनाउन मानिस कुन हदसम्म जान सक्छ । हामी विश्वसँग आफ्ना धारणा राख्न र सत्तामा रहेकालाई जवाफदेही बनाउन चाहने हाम्रा प्रयोगकर्ताले सामना गरेको यो अविश्वसनीय जोखिम हामी बुझ्छौं । हामीसँग प्रयोगकर्ताको गोपनियता र महत्वपूर्ण कार्य गर्ने उनीहरूको क्षमताको रक्षा गर्न लायक टुल्स छ ।’

साउदी अरब मध्यपूर्वमा अमेरिकाको एक महत्वपूर्ण साझेदार देश हो । पत्रकार जमाल खसोग्गीको हत्यापछि अन्तर्राष्ट्रिय स्तरमा साउदीको आलोचना भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग घनिष्ठ सम्बन्ध बनाएका छन् ।  

खसोग्गी साउदी सरकारको एक आलोचक पत्रकार थिए ।