२०७६ कार्तिक २० बुधबार १७:३०:००
नयाँ पत्रिका

भेषजराज साहित्य प्रतिष्ठानको अठारौं रचना वाचन सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचना वाचन श्रृंखला सम्पन्न गरेको छ । प्रतिष्ठानले जिल्लाको वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकाको सहयोगमा यस पटक पुरस्कार एवम् सम्मान अर्पणसहित रचना वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितले भेषजराज शर्माले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रतिष्ठान स्थापना हुनु सान्दर्भिक रहेको बताए । उनले शर्माका समकक्षीहरु बल्लभमणी दाहाल, चुडामणी बन्धु, तारानाथ शर्मा, बालकृष्ण पोखरेल राष्ट्रिय स्तरमा चिनिदा समेत शर्मा पछाडी पर्नु विडम्बना रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रा.डा. हेमनाथ पौडेलले नेपाली कविताको विकासक्रमको चर्चा गर्दै शर्माले नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी विद्यार्थी, भाषा साहित्यका साधकहरु, शिक्षक–शिक्षिकाहरू, कलाकाहरू, राजनीतिकर्मीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बालप्रतिभा बिहानी पंज्ञानी लगायत कविहरु केदार विकल, श्यामप्रसाद अर्याल, नारायण प्रसाद रेग्मी, शम्भु अर्याल, डिल्लीराम भण्डारी, उप.प्रा. लालमणी पोखरेल लगायत बाइस जना स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । 

कार्यक्रममा भेषजविन्दु साहित्यक पुरस्कार मित्रलाल पंज्ञानी र भेषजराज साहित्य चिन्तु गिरीलाई अर्पण गरिएको थियो ।