२०७६ कार्तिक १६ शनिबार १०:१८:००
राज सरगम काठमाडाैं

कामेश्वरको जीवन बदल्ने छोट्का माझी

कामेश्वर चौरसिया केही समय डिप्रेसनको समस्यामा परे । मुख्य भूमिकाको खोजीमा उनले पाइरहेको काम पनि गुमाए । अभिनयभन्दा परको काम पनि गर्न चाहेनन् । तर पनि उनले केही त गर्नु नै थियो । ६ वर्षअगाडि उनी अभिनीत फिल्म ‘द स्पोन्सर’का निर्देशक प्रणय लिम्बूले फोन गरे । फिल्मको छायांकन सकेर हराएका निर्देशकले फिल्म चल्ने खबर सुनाएपछि उनको दिमागमा क्लिक भयो ‘छोट्का माझी’ । जसको भूमिका कामेश्वर चौरसियाले गरेका थिए ।  

सप्तकोसीको किनारमा बस्ने धेरै माझीको दैनिकीमा फेरबदल ल्याउन कोही न कोही आइरहन्छन् । तर, कति बदलाव आयो त ? कसैले खोज्दैनन् । यही बस्तीको छोट्का माझी दैनिक माछा तारेर भोक मेट्छ, मदिरा किन्न सक्छ । आफ्नै जहानसँग कलह गर्न सक्छ । यो दैनिकीबाट ऊ टाढिन चाहँदैन । ६ वर्षअगाडि छायांकन सकेको फिल्म द स्पोन्सर प्रदर्शनमा  आउन लागेको खबरले उनी प्रफुल्ल भए । भन्छन्, ‘निर्देशक जवान हुँदा निर्देशन गरेको फिल्म  ‘द स्पोन्सर’ ६ वर्षपछि कपाल फुलेको अवस्थामा  चलाउन लाग्दा फिल्मको पात्र छोट्का माझी अब बाँचेको लाग्छ ।’

उनले ‘द स्पोन्सर’को छोट्का माझी सम्झिए । उनको निराशा आशामा बदलियो । भन्छन्, ‘म गरिब पात्रको भूमिका गर्न सक्छु भने एउटा कलाकार गरिबीमा किन बाँच्न सक्दैन त ?’ आफैँसँग गरेको यो प्रश्नले उनलाई केही न केही गर्न हौस्यायो । 

के काम गर्ने त ? सोचे । साथीलाई सोधे । छोट्का माझी दुई छाक टार्न खोला धाउँछ । माछा मार्छ । हाटमा लगेर बेच्छ । ‘म माछा तारेर बेच्न किन सक्दिनँ ?’ उनले धेरैपटक आफूलाई सोधेर आफ्नो निराशालाई आशामा बदले । आखिर पर्दामा मात्रै अभिनय गरेर कहाँ चल्छ जीवन ! उनले यही सोचे । त्यसपछि  तिनकुनेबाट शंखमुलतिर जाने बागमती करिडोरमा ‘माछा तारेर बेच्न’ थाले । जीवन धान्न भगवानको निर्देशनमा यो काम गरेको बताउने चौरसिया भन्छन्, ‘जीवन धान्न यो अभिनय गर्दै छु । काम गर्न लजाउँदिनँ ।’

‘म गरिब पात्रको भूमिका गर्न सक्छु भने एउटा कलाकार गरिबीमा किन बाँच्न सक्दैन त ?’ आफैँसँग गरेको यो प्रश्नले उनलाई  हौस्यायो । छोट्का माझी दुई छाक टार्न खोला धाउँछ । माछा मार्छ, बेच्छ । ‘म माछा तारेर बेच्न किन सक्दिनँ ?’ उनले निराशालाई आशामा बदले । ‘माछा तारेर बेच्न’ थाले । 

 काम गरेको देखेर उनका सहकर्मीहरू खुसी छन् ।  परिवारको सपोर्ट पाएका छन् । तारेको माछा खान दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की उनकामा पुगिसकेका छन् । अन्य कलाकार पनि पुग्नेक्रम जारी छ । उनको कर्मप्रति परिवारका सदस्य नतमस्तक छन् । उनले  अभिनयसँगै माछा बेच्न थालेपछि आफूभित्रको डिप्रेसन कम भएको अनुभव सुनाए । अचेल उनी खुसी छन् । फेरि सप्तकोसीको छोट्का माझी सम्झँदै भने, ‘छोट्का माझीको जीवन माछा मारेरै चल्छ भने माछा तारेर मेरो जीवन कसो नचल्ला ।’ 

डिप्रेसनबाट मुक्ति 

‘द स्पोन्सर’को पात्र छोट्का माझीले दिएको प्रेरणाले उनको डिप्रेसन निको भयो । उनमा खुसीको सञ्चार ल्यायो । त्यो मात्रै होइन उनलाई माछा तारेर जीवन निर्वाह गर्न सहज भएको छ । कामेश्वर चौरसिया आफ्नो भूमिकामा पनि सधैँ विविधता खोज्छन् ।  माछाको परिकारमा पनि उनी विविधता दिने कोसिस गर्छन् । आफूले गर्न नसक्ने भूमिकालाई उनी स्विकार्दैनन् । पात्र कुन समुदायको हो, त्यसलाई मिहीन ढंगले बुझेर मात्रै हात हाल्ने गरेको बताउँदै चौरसिया भन्छन्, ‘न्याय गर्न नसक्ने भूमिका छ भने हातै हाल्दिनँ ।’

चौरसिया ‘रेसम फिलिली’मा हरियाको भूमिकामार्फत चर्चामा आए । ‘पलाँस’, ‘अमेरिका ब्वाइज’, ‘साढे सात’, ‘राज्जारानी’, ‘गरुड पुराण’मा पनि अभिनय गरेका चौरसियाले द स्पोन्सरमा छोट्का    माझी बनेर अभिनय गरेका छन् । यतिखेर द स्पोन्सरको छोट्का माझीले आफ्नो अभिनयको यात्रामा नयाँ आयाम थप्पेमा उनी ढुक्क छन्  । भन्छन्, ‘छोट्का माझीको चरित्रले गरिबी कस्तो हुन्छ, भोकले कति पोल्छ ? भन्ने छर्लङ्ग पारेको छ । म आफैँ आफ्नो भूमिकाले धेरैपटक रोएको छु ।’ 

छाक टार्नै धौ धौ

स्क्रिनमा चरित्रअनुसारको संघर्ष गर्छन् उनी । तर, वास्तविक जीवनमा बाँच्नका लागि उनी नभौँतारिएको कहाँ छ र ? सप्तकोसीको तातो बालुवामा छाक टार्न माछालाई जालमा पार्न कोसिस गर्ने द स्पोन्सरको छोट्का माझीझैँ उनी काठमाडौंमा कामको खोजीमा भौँतारिएको सम्झन्छन् । भन्छन्, ‘काम त पाइयो । तर, छाक टार्न धौ धौ भयो ।’

जसरी ‘द स्पोन्सर’ फिल्म छायांकनपछि लामो समय गायब भयो । त्यसैगरी, उनी पनि लामो समयदेखि कामविहीन भए । जसरी निर्देशक प्रणय लिम्बूले छिटो फिल्म निकाल्न नसकेर हरायो भन्ने कलाकारले आरोप लगाए, त्यसैगरी उनले पनि फिल्म नपाएर भौँतारिएको खबर फैलियो ।  ‘कलाकार मात्रै भएर पुग्दोरहेनछ । कलाकारिताले मनको भोक मेटिए पनि, पेटको भोकले पिरोलिरह्यो,’ उनले भने । 

नेपालका धेरै कलाकार पलायन हुनुपरेको छ । उनी पलायन हुन चाहँदैनन् । बरु सिनेमासँगै अन्य काम पनि गर्न चाहन्छन् । आफूले फिल्म टन्नै पाएको बताउँछन् । ‘तर, सुहाउँदो भूमिका पाइनँ, रिजेक्ट गरेँ,’ उनले भने, ‘सायद त्यसैले पछाडि परेँ कि ! मलाई राम्रो कलाकार बन्नु छ । बाँच्न र आफूलाई टिकाइराख्न केही न केही त गर्नै पर्‍यो ।’

उनले आफूलाई हिरो बनाउन चाहेका थिए । हिरो हुन संघर्ष पनि गरे । वास्तविक हिरो क्यारेक्टरमा देख्न थालेपछि आफूभित्रको भ्रमलाई हटाए । वास्तविक चरित्र स्विकार्न थाले । धोखेबाज, खुनी, जँड्याहाजस्ता चरित्र निभाएका चौरसिया भन्छन्, ‘असली हिरो पात्रको भूमिकामा हुन्छ । त्यसैले, अचेल हिरो होइन क्यारेक्टर रोज्न थालेको छु ।’

समाजले मन नपराउने पात्रलाई उनी रुचाउँछन् । त्यस्ता भूमिकामा न्याय गर्न लागिपरेका छन् । समाजबाट तिरस्कार भएका पात्रमाथिको अभिनयमा डुब्नको मजा परम आनन्द ठान्छन् उनी । भन्छन्, ‘समाजबाट हेपिएको पात्रको भूमिका मलाई प्रिय लाग्छ । र, अहिले ती भूमिका बाँच्नका लागि गरिरहेको छु ।’

छुटेको हिरो 

आफूले सोचेअनुसारको कलाकार बन्न नपाएको झोँकमा उनले दुईपटक आत्महत्याको प्रयास गरे । नाडी काटे । विष सेवन गरे । त्यो अवस्थाबाट बचाएको जस उनी कुकुरलाई दिन्छन् । ३० वर्षमा कलाकार बन्ने सपना बोकेर काठमाडौं छिरेका चौरसिया एक्टर्स स्टुडियोमा पुगेपछि बाटो मोडिएको बताउँछन् । तीन/चार महिना एक्टर स्टुडियोमा अभिनय सिकेर खाली बसे । क्यान्टिनमा खाना पकाउनेदेखि सेल्सम्यानको काम गरे । फिल्ममा टुक्राटुक्री अभिनय गरेर उनको प्यास मेटिएको थिएन । अभिनयको भूतले उनलाई सताइरहेका वेला रेसम फिलिली आयो । रेसम फिलिलीले उनको बाटै मोडियो । जतिखेर स्क्रिनमा देखिँदैनथे, त्यसवेला उनलाई हिरो बन्ने आकांक्षा थियो  । जब स्क्रिनमा देखिन थाले त्यसपछि हिरो बन्ने चाहना मेटियो । भन्छन्, ‘अब मलाई फिल्मको हिरो होइन दर्शकको हिरो बन्नु छ ।’

चौरसिया ‘रेसम फिलिली’मा हरियाको भूमिकामार्फत चर्चामा आए । ‘पलाँस’, ‘अमेरिका ब्वाइज’, ‘साढे सात’, ‘राज्जारानी’, ‘गरुड पुराण’मा पनि अभिनय गरेका चौरसियाले द स्पोन्सरमा छोट्का माझी बनेर अभिनय गरेका छन् । 

हिरोगिरी उत्रिएपछि वास्तविक हिरो आफैँभित्र खोजे । ‘कर्म गर्ने पो हिरो’ भन्ने उनलाई लाग्यो । साथीभाइको प्रगति देखेर आफूभित्र हीनताबोध हुँदै थियो । ‘जीवन निर्वाह गर्न नसक्ने पनि कसरी हिरो हुन सक्छ,’ उनी भन्छन्, ‘घरपरिवारलाई आवश्यक पर्ने आर्थिक व्यवस्था पनि गर्न नसक्ने म केको हिरो ? मलाई हिरो होइन आममान्छे हुनु छ । अभिनयमा लागेर पारिवारिक खुसी दिन सकिनँ ।’ बोल्दा बोल्दै उनी भावुक भए । पछिल्लो समय उनी आफैँले भूमिका निभाएको छोट्का माझीले उनलाई प्रेरणा दियो । र, पनि उनी अभिनयभन्दा पर जान सक्दैनन् । भन्छन्, ‘मीठो खान नपाए पनि, राम्रो लगाउन नसके पनि अभिनय गर्न पाइरहूँ ।’

फरक भूमिका

हरेक फिल्ममा आफू हुन पाए हुन्थ्यो जस्तो लाग्छ, उनलाई । भगवानले एउटा मान्छे बनाएर पठाए पनि अर्को मान्छे भएर चिनिन पाउँदा उनी गर्व गर्छन् । दर्शकले उनको कमेडी पनि नरुचाएका होइनन् । तर, उनले आफ्नो भूमिकालाई एकरूपता दिन चाहेनन् । कामेश्वर कमेडीजस्ता लाग्छन् । तर, उनी मान्दैनन् । गम्भीर भूमिका निर्वाह गर्न पाए हुन्थ्यो भन्ने ठान्छन् । द स्पोन्सरको छोट्का माझी निकै सनकी छ । छोट्का माझी मदिराले मातेको वेला आफ्नै सानी भतिजी कुट्छ । आमासँग झगडा गर्छ । भन्छन्, ‘जब फिल्म हेरेँ । न कमर्सियलजस्तो लाग्यो, न आर्टजस्तो । जे–जस्तो लागे पनि फिल्म बुझ्ने दर्शकलाई यसले छुन्छ छुन्छ ।’

समाजको कथा भन्न डराइन्छ । फिल्म मेकरले कमर्सियल सफलता खोज्छ । कुनै फिल्म समाजका लागि बनेका हुन्छन् । हो, त्यस्तै फिल्म आफ्नो भागमा परेको बताउँछन् चौरसिया । भन्छन्, ‘मेरो क्यारेक्टर त्यतिखेर खुल्छ, जब मेरो भूमिका क्यामेरामा कैद हुन्छ ।’

अब्बल अभिनय

केही महिनादेखि उनी कामविहीन छन् । काम पाउन छोडेपछि उनले माछा तारेर बेच्ने काम गरिरहेका छन् । मिहिनेत र इमान्दारिताका साथ काम गर्न उनी लाज मान्दैनन् । भन्छन्, ‘समाजलाई न्याय हुने खालको मुख्य क्यारेक्टर खोज्दा कामविहीन भएको हुँ, काम नपाएको होइन ।’

आफूले खोजेको भूमिका नपाउँदा र खोजेको दाम नपाउँदा उनी फुर्सदिला भएका हुन् । उनलाई धेरैले घमण्डीको संज्ञा पनि दिए । ‘कि भूमिका राम्रो हुनुपर्‍यो, कि पैसा राम्रो पाउनुपर्‍यो, दुवै नपाउँदा पनि ठीक छ भन्ने,’ उनी थोरै जंगिए । 

फिल्मका लागि अफर नआउँदा दुःखी पनि हुन्छन् । काम गरेबापतको पैसा माग्दा काम नपाएको उनको गुनासो छ । काम गर्दा पनि झुक्नुपर्ने अवस्था देख्छन् फिल्म इडस्ट्रीमा । भन्छन्, ‘कलाकार राष्ट्रको गहना हो भन्छन्, त्यही कलाकार कहिलेसम्म झुक्ने ?’ सहायक भूमिकाका लागि अफर नआउने होइन । उनी नकारिदिन्छन् । उनको मान्यता छ, ‘कम पैसा होस्, कम्तीमा यादगार भूमिका होस् । जुन भूमिका निभाउँदा मजा आओस् । छोट्का माझीजस्तै ।’