विप्लव समूहका नेता अदालत परिसरबाट पुनः पक्राउ

२०७६ कार्तिक १ शुक्रबार ०७:१७:००
नयाँ पत्रिका

विप्लव समूहको म्याग्दी इन्जार्च कमानसिंह नकाल क्षत्री विकिरण र सेक्रेटरी बाबुलाल शाक्यलाई जिल्ला अदालत बाग्लुङले रिहा गर्न आदेश दिए पनि पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले उनीहरूलाई अदालत परिसरबाटै बिहीबार पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध अर्को जिल्लामा पनि मुद्दा परेकाले पक्राउ गरेको प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले बताए । तर, कुन जिल्लामा उनीहरूविरुद्ध मुद्दा परेको भने प्रहरीले खुलाएन ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा थुनामा रहेका क्षत्री र शाक्यलाई जनही १० हजार धरौटीमा तारेखमा छाड्न अदालतले आदेश दिएको स्रेस्तेदार भेषराज पौडेलले बताए । अदालतले आगामी १७ कात्तिकलाई तारेख तोकेको छ ।

क्षत्री र शाक्यलाई गत ७ साउनमा पक्राउ गरी म्याग्दी प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत म्याग्दीले दुवैजनालाई जनही ३५ हजार धरौटी लिएर तारेखमा छाड्न दिएको आदेशविरुद्ध उच्च अदालत पोखरा, बाग्लुङ इजलासले धरौटीसमेत नलिई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । 

म्याग्दीमा थुनामा रहेका वेला बाग्लुङ प्रहरीले झिकाएर राज्यविरुद्ध कसुर गरेको आरोपमा मुद्दा चलाएको थियो । थुनछेक बहसपछि अदालतले तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश विपरीत पक्राउ पुर्जीविनै उनीहरूलाई पुनः पक्राउ गरेको परिवारजनको भनाइ छ । धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्नसमेत नदिई उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भने उनीहरूलाई सम्बन्धित जिल्लामा बुझाइदिने जनाएको छ ।