मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज १ बुधबार ०७:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

सेनाले बढायो शान्ति सैनिकको भत्ता : कुन पदका सैनिकलाई मासिक कति भत्ता ?

Read Time : > 2 मिनेट
२०७६ असोज १ बुधबार ०७:३७:००

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने सैनिकको भत्तादर बढाउने निर्णय गरेको छ । सेनाको तल्लो तहदेखि प्रमुख सेनानीसम्मको भत्ता १४ असोज (अक्टोबर १) देखि बढ्ने गरी सोमबार निर्णय गरेको हो ।  तल्लो तहका सैनिकको मासिक भत्तामा ८५ अमेरिकी डलर बढाएर अब १११४ अमेरिकी डलर पु-याएको छ । गण कमान्ड गर्ने प्रमुख सेनानीको भने २१ डलर बढाएर १३९९ डलर पु-याएको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकालाई बताए । यसअघि तल्लो तहको भत्ता मासिक १०२९ डलर थियो भने प्रमुख सेनानीको १३७८ डलर थियो ।

भत्ता पुनरावलोकनपछि हवल्दारभन्दामुनिका सबै सैनिकले १११४, हवल्दारभन्दामाथिका स्टाफले ११२१, जमदारले ११२९, सुवेदारले ११४२, लेफ्टिनेन्टले १२००, क्याप्टेनले १२५९, मेजरले १३२८ र लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)ले १३९९ अमेरिकी डलर पाउनेछन् । उनीहरूलाई पानी भत्ताका रूपमा दैनिक १ डलर २८ सेन्ट तथा ३० दिन बिदा भत्ताबापत थप ३ सय डलर प्राप्त हुनेछ । शान्ति सैनिकको समयावधि १ वर्षको हुनेछ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले अध्यक्षता गरेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले भत्तादर पुनरावलोकन गरेको हो । सेनाका सदस्यहरूको सुझाबका आधारमा सैनिक कल्याणकारी कोष नियमावली २०६५का आधारमा भत्तादर पुनरावलोकन भएको र तल्लो तहको गुनासो  नरहने गरी भत्ता बढाइएको पाण्डेले बताए । भत्ता बढाउँदा सेनाको कल्याणकारी कोषबाट वार्षिक ४६ करोड ३० लाख रुपैयाँ व्ययभार थपिएको सेनाको भनाइ छ । हाल विश्वका १२ शान्ति स्थापक मिसनमा ५ हजार ९४ नेपाली सैनिक कार्यरत छन् । 

संयुक्त राष्ट्रसंघले प्रतिव्यक्ति आधारभूत भत्ता १४२८ अमेरिकी डलर दिँदै आए पनि सैनिकले २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कटाएर बाँकी प्राप्त गर्दै आएका छन् । ‘१४२८ अमेरिकी डलरबाट २२ प्रतिशत कटाए पनि दर्जाअनुसारको रकम थपेर माथिल्लो पदका भत्ता निर्धारण गरिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने । राष्ट्रसंघले फौजको व्यक्तिगत भत्ताका लागि १२९७, लत्ताकपडाका लागि करिब ८५.८३, हतियारका लागि ६.३१ तथा विशेषज्ञता भत्ताबापत ३८.२५ डलर गरी जम्मा गरी १४२८ पु-याएको छ ।  

अब हवल्दारभन्दामुनिका सबै सैनिकले १११४, हवल्दारभन्दामाथिका स्टाफले ११२१, जमदारले ११२९, सुवेदारले ११४२, लेफ्टिनेन्टले १२००, क्याप्टेनले १२५९, मेजरले १३२८ र लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)ले १३९९ अमेरिकी डलर पाउनेछन् ।

थप १३ सय सैनिक तयार, युएन टोली आउँदै
नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १० हजार सेना पठाउने प्रतिबद्धता जनाएको छ । हाल पाँच हजार ९४ जना कार्यरत रहेकामा सेनाले थप १३ सय जनशक्ति तयारी अवस्थामा राखेको छ । विशेष फोर्सबाहेक ८५० जना रहेको एउटा मेकानाइज्ड बटालियन, १३२ जना रहेको सैनिक प्रहरी कम्पनी तथा फोर्स प्रोटेक्सन कम्पनीलाई पाँचखालस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय तालिम केन्द्रमा तालिम गराएको छ ।

उनीहरूको तालिम अवलोकनका लागि ६ असोजमा राष्ट्रसंघीय शान्ति सेना हेर्ने अधिकारीहरू न्युयोर्कबाट आउन लागेका छन् । उनीहरूले सुरुको अवलोकन र पूर्वपरिचालन तालिमका आधारमा सेनालाई लिने/नलिने सिफारिस गर्छन् । सिफारिसका आधारमा राष्ट्रसंघले निर्णय लिने गरेको छ ।  

तयारी अवस्थामा विशेष फोर्स कम्पनी
डेढ सय सैनिक रहेको विशेष फोर्स कम्पनी राष्ट्रसंघीय परीक्षणमा पास भएर पाँचखालमा तैनाथीको अवस्थामा छ ।  संयुक्त राष्ट्रसंघीय आह्वान आएलगत्तै शान्ति मिसनमा खटिन उनीहरू तयार छन् । आवश्यक परेका वेला परिचालित गर्ने गरी राष्ट्रसंघसँग लिखित सम्झौता नै भइसकेको छ ।

राष्ट्रसंघले बोलाएको ६० दिनभित्र टोली तैनाथ हुने अवस्थामा रहेको प्रवक्ता पाण्डेले बताए । विशेष फोर्सले हातहतियार, बन्दोबस्तीका सामान, गाडी, रासन, लत्ताकपडाको प्रबन्ध गरिसकेको छ । राष्ट्रसंघले स्वीकृति दिइसकेपछि बाहिर परिचालित नभए पनि राष्ट्रसंघले २५ प्रतिशत भुक्तानी दिने गरेको छ । परिचालित भएपछि उनीहरूले शतप्रतिशत भत्ता पाउने पाण्डेले बताए । 

५१ वर्षमा सवा लाख सैनिक
नेपाल राष्टसंघमा सन् १९५५मा सदस्य भएको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्टसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो । त्यसयता हालसम्म एक लाख २६ हजार पाँच सय ४ सैनिक ४३ वटा शान्ति मिसनमा खटिएका छन् । मिसनका क्रममा ६५ सैनिकले ज्यान गुमाएका छन् भने ६६ जना अपांगता अवस्थामा छन् । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । पहिलोपटक युएन मिसनमा सेनाको पुरानो गोरख गण गएको थियो ।