२०७६ भदौ २९ आइतबार १०:४३:००
जनार्दन बराल काठमाडाैं

प्रदेशको बजेट आधा मात्रै खर्च

जनार्दन बराल काठमाडाैं
२०७६ भदौ २९ आइतबार १०:४३:००

०७५/७६ मा कर्णाली र प्रदेश ३ ले विकास बजेटको ५०% पनि खर्च गर्न सकेनन्, सबैभन्दा बढी खर्च गर्ने प्रदेश ५ को पनि ६६.८९% मात्रै

प्रदेश १
बजेट : ३५ अर्ब ९३ करोड ६० लाख
खर्च : २१ अर्ब २४ करोड ११ लाख
चालू खर्च
बजेट : १७ अर्ब ५ करोड ८५ लाख
खर्च : ९ अर्ब ७९ करोड ७३ लाख

पुँजीगत खर्च
बजेट : १८ अर्ब ८७ करोड ७४ लाख
खर्च : ११ अर्ब ४४ करोड ३७ लाख

अन्य प्रदेशभन्दा हामी अगाडि नै छौँ : इन्द्रबहादुर आङ्बो, आर्थिक 
मामिला तथा योजनामन्त्री, प्रदेश १

खर्च गर्ने संरचना र कर्मचारी अभावमा पहिलो वर्षमा ६० प्रतिशत बजेट खर्च हुनु नराम्रो प्रगति होइन । संघ र अन्य प्रदेशभन्दा हामी अगाडि नै रह्यौँ । यद्यपि, गत वर्ष हतारमा पनि बजेट खर्च गर्नुपर्ने अवस्था थियो । तर, चालू वर्षमा परिणाममुखी उपलब्धि हासिल हुने गरी बजेट खर्चको क्यालेन्डर बनाएका छौँ, शतप्रतिशत खर्च गर्नेछौँ ।

प्रदेश २
बजेट : २९ अर्ब ७८ करोड ६९ लाख
खर्च : १५ अर्ब १५ करोड ५७ लाख

चालू खर्च
बजेट : १४ अर्ब ८२ करोड ५६ लाख
खर्च : ६ अर्ब ६९ करोड ३ लाख

पुँजीगत खर्च
बजेट : १४ अर्ब ९६ करोड १३ लाख
खर्च : ८ अर्ब ४६ करोड ५४ लाख

कर्मचारी र कानुनको अभावले खर्च कम भयो : विजय यादव, आर्थिक 
मामिला तथा योजनामन्त्री, प्रदेश २

बजेट खर्च गर्ने वेलामा कर्मचारीको अभाव भयो । बजेट कार्यान्वयन कर्मचारीमा निर्भर हुन्छ, कर्मचारी नै नभएपछि बजेट कसरी कार्यान्वयन हुन्छ ? कानुनको अभावमा पनि खर्च भएन । प्रदेश सरकार आफैँ पनि नयाँ ऐन–कानुन बनाउने काममा व्यस्त हुनुपर्‍यो । त्यसले पनि समस्या भयो । 

प्रदेश ३
बजेट : ३४ अर्ब २ करोड ६४ लाख
खर्च : २० अर्ब ६५ करोड ७२ लाख

चालू खर्च
बजेट : १३ अर्ब ७५ करोड ४१ लाख
खर्च : ११ अर्ब १० करोड

पुँजीगत खर्च
बजेट : २० अर्ब २७ करोड २२ लाख
खर्च : ९ अर्ब ५५ करोड ७१ लाख

चालू वर्षमा ९० प्रतिशत बजेट खर्च गर्छौँ : कैलाशप्रसाद ढुंगेल, आर्थिक 
मामिला तथा योजनामन्त्री, प्रदेश ३

सरकार गठनको एक वर्ष हामी व्यवस्थापनमै जुट्यौँ । हामीसँग टेबुल कुर्सी केही थिएन, कर्मचारी पनि थिएनन् । यस्तो अवस्थामा पनि ६० प्रतिशत बजेट खर्च हुनु राम्रो हो । तर, चालू आर्थिक वर्षदेखि भने यो स्थिति रहँदैन । विनियोजित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च गर्छौँ । पुँजीगत खर्च पनि अपेक्षाभन्दा राम्रो गर्नेछौँ । 

गण्डकी
बजेट : २४ अर्ब २ करोड ३३ लाख
खर्च : १३ अर्ब ९५ करोड ७४ लाख

चालू खर्च
बजेट : ८ अर्ब ११ करोड ५५ लाख
खर्च : ५ अर्ब २३ करोड ५० लाख

पुँजीगत खर्च
बजेट : १५ अर्ब ९० करोड ७८ लाख
खर्च : ८ अर्ब ७२ करोड २३ लाख

चालू आर्थिक वर्षमा शतप्रतिशत नतिजा निकाल्ने हो  : पृथ्वी सुब्बा गुरुङ 
मुख्यमन्त्री, गण्डकी प्रदेश

लामो समयसम्म कर्मचारीको व्यवस्थापन नहुनु, केन्द्र र स्थानीय सरकारसँग कतिपय विषयमा समन्वय हुन नसक्नुलगायत कारण बजेट सोचेजस्तो खर्च हुन सकेन । कर्मचारी अभाव थियो । संरचना थिएनन् । चालू आर्थिक वर्षमा शतप्रतिशत नतिजा निकाल्ने गरी काम गर्ने हो । परिणाम ल्याउने हो । विगतमा पछुतो मान्ने होइन ।

प्रदेश ५
बजेट : ३० अर्ब ७४ करोड २२ लाख
खर्च : १९ अर्ब ५० करोड ८५ लाख

चालू खर्च
बजेट : ११ अर्ब ८५ करोड ८४ लाख
खर्च : ६ अर्ब ८७ करोड ७१ लाख

पुँजीगत खर्च
बजेट : १८ अर्ब ८८ करोड ३८ लाख
खर्च : १२ अर्ब ६३ करोड १४ लाख

गत वर्ष नराम्रो भएको छैन, चालू वर्षमा झन् राम्रो गर्छौँ : बैजनाथ चौधरी, सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री
सुरुको चार महिना प्रभावकारी रूपमा विकासका काम हुन सकेनन्, तर त्यसपछिका दिनमा कामले धेरै गति लियो । गत वर्ष पनि नराम्रो काम भएन, चालू वर्ष झन् राम्रो गर्छौँ । हामीले जेठ मसान्तलाई बजेट कार्यान्वयनको सीमा तोकेका छौँ । यस वर्ष हामीले असारे विकास हटाउने गरी कार्ययोजना बनाएर अगाडि बढेका छौँ ।

कर्णाली
बजेट : २८ अर्ब २८ करोड २८ लाख
खर्च : ९ अर्ब ९५ करोड ३३ लाख

चालू खर्च
बजेट : ६ अर्ब ३७ करोड एक लाख
खर्च : ४ अर्ब ५३ करोड ८१ लाख

पुँजीगत खर्च
बजेट : २१ अर्ब ९१ करोड २६ लाख
खर्च : ५ अर्ब ४१ करोड ५२ लाख

अब खर्च कम हुने समस्या आउँदैन : प्रकाश ज्वाला, आर्थिक मामिला तथा योजनामन्त्री, कर्णाली प्रदेश

गत वर्ष कर्मचारीको अभाव भयो । त्यस्तै, काम गर्दा टेन्डरमार्फत गर्ने कि उपभोक्ता समितिमार्फत भन्ने बहसमै पनि समय गयो । संरचना पनि बनेनन् । त्यसैले बजेट खर्च गर्न समस्या भयो । चालू आवमा हामीले चार मन्त्रालयको ओएनएम सर्भे गरिसकेका छौँ । त्यसो हुँदा संरचना र कर्मचारी अभाव हुँदैन । अब खर्चको समस्या हुँदैन । 

सुदूरपश्चिम
बजेट : २५ अर्ब ६ करोड ५६ लाख
खर्च : १४ अर्ब १६ करोड ७६ लाख

चालू खर्च
बजेट : १३ अर्ब ३५ करोड ८ लाख
खर्च : ६ अर्ब ९३ करोड २९ लाख

पुँजीगत खर्च
बजेट : ११ अर्ब ७१ करोड ४८ लाख
खर्च : ७ अर्ब २३ करोड ४७ लाख

कर्मचारी अभावमा पनि राम्रो नतिजा निकाल्यौँ  : झपट बोहरा, आर्थिक मामिला तथा योजनामन्त्री, सुदूरपश्चिम प्रदेश
हामीले ९ अर्ब ६० करोड चालू खर्च र ८ अर्ब ६७ करोड पुँजीगत खर्च हुने संशोधित बजेट अनुमान गरेका थियौँ । आर्थिक वर्षको अन्त्यमा चालू बजेटको ७२ प्रतिशत र पुँजीगत बजेटको ८३ प्रतिशत खर्च गर्न सफल भयौँ । कानुन थिएन, संरचना बनिसकेका थिएनन् । ४० प्रतिशत मात्र कर्मचारी रहेको अवस्थामा यो राम्रो नतिजा हो ।


कर्णाली  प्रदेशले विनियोजित  बजेटको एक तिहाइ मात्रै खर्च गर्नसक्यो, एउटा प्रदेशले पनि दुई तिहाइ बजेट खर्च  गर्न सकेन

गत आर्थिक वर्ष २०७५/७६ मा सात वटै प्रदेश सरकारको बजेट खर्च न्यून देखिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्रालयबाट नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार प्रदेशहरुले गत आर्थिक वर्षमा जम्मा ५५ प्रतिशत मात्रै बजेट खर्च गरेको देखिन्छ । सो आर्थिक वर्षमा सातवटै प्रदेशले कुल दुई खर्ब सात अर्ब ८६ करोडको बजेट ल्याएकोमा एक खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ मात्रै खर्च गरेका छन् । सबै प्रदेशमा गरेर ९३ अर्ब २२ करोड रुपैयाँ बजेट खर्च हुन सकेको छैन ।

कर्णाली प्रदेश सबैभन्दा कमजोर, विकास खर्च एक चौथाइ मात्र
बजेट खर्चमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । कर्णालीले कुल विनियोजित बजेटको ३५ प्रतिशत मात्रै खर्च गरेको छ । कर्णालीले २८ अर्ब २८ करोड २८ लाख २८  हजारको बजेट ल्याएको थियो । त्यसको एक तिहाइ अर्थात् नौ अर्ब ९५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । त्यसबाहेकका बाँकी प्रदेशले भने बजेट  खर्च ५० प्रतिशत कटाएका छन् । प्रदेश २ ले ५० प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा बढी खर्च गर्ने ६३ दशमलव ५  प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

विकास बजेट ५२ प्रतिशत खर्च 
प्रदेशहरुले कुल विकास बजेटमध्ये जम्मा ५१ दशमलव ८ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । प्रदेशहरुले कुल बजेटमध्ये १ खर्ब २२ अर्ब ५३ करोड अर्थात् ५९ प्रतिशत रकम विकास शीर्षकमा विनियोजन गरेका थिए । तर, त्यसरी विनियोजन गरेको रकममध्ये जम्मा ६३ अर्ब ४७  करोड मात्रै खर्च गर्न सकेका छन् । 

विकास बजेट  खर्च गर्ने सन्दर्भमा पनि कर्णाली प्रदेशको काम लज्जास्पद देखिएको छ । उसले विनियोजन गरेको मध्ये एक चौथाइ पनि खर्च पुर्‍याउन सकेन । उसले जम्मा २४ दशमलव ७१ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । त्यस्तै, प्रदेश नं ३ ले आधाभन्दा कम अर्थात् ४७ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको छ । विकास बजेट खर्च गर्ने सन्दर्भमा पनि प्रदेश नं ५ उत्कृष्ट देखिएको  छ । उसले करीब ६७  प्रतिशत विकास खर्च गरेको छ । 

चालू खर्चमा प्रदेश ३ को छलाङ
विकासमा योगदान नगर्ने चालू खर्चमा भने प्रदेश नं ३ ले छलाङ मारेको छ । प्रदेश ३ ले ८० प्रतिशत चालू खर्च गरेको छ । प्रदेश ३ ले १३ अर्ब ७५ करोड रुपैयाँ चालू बजेट विनियोजन गरेकोमा ११ अर्ब १० करोड खर्च गरेको छ । दोस्रो बढी चालू खर्च गर्नेमा कर्णाली प्रदेश गरेको छ, जसले ७१ प्रतिशतभन्दा बढी चालू खर्च गरेको छ । चालू बजेटमा कर्मचारीको तलब, गाडीलगायत सामान खरीदजस्ता विषयमा हुने खर्च पर्छन् । 

तर, प्रदेशहरुको औसत चालू खर्च पनि त्यति उत्साहजनक छैन । सात प्रदेशको औसत चालू खर्च करीब ६० प्रतिशत छ । सबैभन्दा कम चालू खर्च गर्ने प्रदेश २ ले ४५ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।