नेप्से ओरालो लाग्ने क्रम जारी

२०७६ भदौ २५ बुधबार १०:५९:००

नेप्सेले ओरालो लाग्ने क्रमलाई मंगलबार पनि निरन्तरता दिएको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । बजार निरन्तर ओरालो लागेका कारण लगानीकर्ता निरुत्साहित भएका छन् । यस दिन बजारमा लगानीकर्ता खासै देखिएनन् ।

लाभांश घोषणा भइरहेको समयमा पनि बजारले सकारात्मक दिशा नलिएपछि लगानीकर्ता अहिले ‘पर्ख र हेर’को रणनीति अपनाएर बस्न बाध्य भएका छन् । बजारमा अहिले अल्पकालीन लगानीकर्ता घटेको एक ब्रोकरले बताए ।

केही दीर्घकालीन लगानीकर्ता कम्पनीको विश्लेषण गरी सस्तोमा सेयर खरिद गरिरहेका उनको भनाइ छ । बजार सुस्त हुँदा अल्पकालीन लगानीकर्ताले फाइदा दिन सक्दैनन् । तर, यो समय दीर्घकालीन लगानीकर्तालाई सस्तोमा सेयर खरिद गर्ने उपयुक्त अवसर भएको एक विश्लेषकले बताए । त्यसैले, कम्पनीहरूको विश्लेषण गरी सही कम्पनीहरूमा लगानी गर्न उनले सुझाब दिएका छन् । 

 बजार सारांश
मंगलबार नेप्से परिसूचक २ दशमलव २४ अंक घटेर १ हजार १ सय ६६ दशमलव ६७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २१ अंक बढेर २ सय ५५ दशमलव ५७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ६ अंक बढेको छ । यस दिन १ सय ७२ कम्पनीको ६ हजार ६ सय ३१ पटकको कारोबारमा २३ करोड ७९ लाख ५९ हजार ६ सय ५३ रुपैयाँबराबरको ९ लाख ९२ हजार १ सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन २८ दशमलव १५ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चाप बढी रहेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५७ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये यस दिन ५० कम्पनीको सेयरमूल्य बढेको छ भने ८७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

मंगलबार नेप्सेको पिभट बिन्दु १ हजार १ सय ६६ दशमलव ८७ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ६० दशमलव ८८ बिन्दुमा पहिलो टेवा पाउनेछ भने १ हजार १ सय ५५ दशमलव शून्य ९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ७२ दशमलव ६६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुलाई तोडेर उकालो लागे १ हजार १ सय ७८ दशमलव ६५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 कुमारीको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ६३ पटकको कारोबारमा १ करोड २५ लाख ९९ हजार रुपैयाँबराबरको ६२ हजार ५ सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ । एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम यस दिन १ करोड नाघेको छ ।

सेयर संख्याका आधारमा यस दिन पनि आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ७ सय ६२ पटक सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा दोस्रो स्थानमा रहेको रसुवागढी हाइड्रोपावरको यस दिन ७ सय ५ पटकको कारोबारमा ७४ लाख ४९ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।
 
 ४ समूहको परिसूचक बढ्यो, ८ को घट्यो
यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ८ समूहको घटेको छ । यस दिन होटेल समूहको परिसूचक सर्वाधिक १ दशमलव ५२ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ५१ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ५ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १३ प्रतिशत बढेको छ । 

जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ८२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ६७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५२ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव ५० प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव २८ प्रतिशत, अन्य समूहको शून्य दशमलव २७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव १६ प्रतिशत र व्यापार समूहको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ । 

सर्वाधिक कमाउने हिमालयन ऊर्जा
यस दिन कारोबारमा आएको हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य ६ दशमलव ७२ प्रतिशत बढेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ८ रुपैयाँ बढेर १ सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको हो । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयरमूल्य यस दिन ६ दशमलव शून्य २ प्रतिशत बढेर ८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नबिल इक्विटी फन्डको इकाइमूल्य यस दिन ५ दशमलव ९१ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य ४ दशमलव २९ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा न्यून रहेको छ । यस दिन सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । कञ्चन डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, नाडेप लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।