आकाशबाट पनि कुरूप देखिन्छ काठमाडौं

२०७६ भदौ २३ सोमबार १०:५५:००

उद्धव घिमिरे पाइलट, नेपाल वायुसेवा निगम

आकाशबाट हेर्दा काठमाडौं गुजुमुज्ज घरहरूका कारण कुरूप देखिन्छ । पूर्वबाट भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्दा उपत्यका कमिलाको छरिएको बगालजस्तो लाग्छ । पोखरा पुग्दा भने काठमाडौं फर्किऊँ जस्तो लाग्दैन ।

फेवातालमा डुंगा चलाइरहेको, प्याराग्लाइडिङमा मानिसहरू उडिरहेको, स्वर्गकै टुक्रा हो जस्तो लाग्छ, आकाशबाट पोखरा । भैरहवा अलि फराकिलो र व्यवस्थित देखिन्छ । गर्मीयाममा जनकपुर पुग्दा भने यात्री ओराल्ने, एउटा इन्जिन चलाइराख्ने, यात्री चढाउने र उडिहाल्ने योजना बनाउँथ्यौँ । सबैभन्दा रमाइलो लाग्ने तुम्लिङटार हो । फराकिलो ठाउँ, डम्म बसेको फाँट । तल अरुण नदी बगिरहेको दृश्यले मन लोभ्याउँछ ।

०००
डाक्टर बन्ने धोको थियो, एमबिबिएसमा नाम ननिस्केपछि पाइलट पढ्न फिलिपिन्स उडेँ । स्वदेश फर्केर अग्नि एयरमा आबद्ध भएँ । संयोगवश मेरो पहिलो उडान काठमाडौं–लुक्लाको प-यो । डोर्नियरमा पहिलोपटक को–पाइलट भएर उड्दा मलाई खासै डर लागेन । किनभने, क्याप्टेन विनोद पुरीसँग उडिरहेको थिएँ । उहाँ नेपाली आकाशका लागि अनुभवी व्यक्तित्व हुनुहुन्छ ।

लुक्लाका डाँडाकाँडासँग मलाई डर लागेन, किनभने म त्यस्तै परिवेशमा हुर्केको हुँ । पहिलो दिन नै पाँचवटा उडान गरेँ, लुक्लामा । मौसम र अवस्थिति थाहा पाएपछि भने लुक्ला उड्न घरबाट झोला बोकेर निस्किँदा फर्केर आइन्छ कि आइँदैन जस्तो लाग्थ्यो । मैले तीन हजारपटक लुक्ला विमानस्थलमा अवतरण गरेँ । एयरबसमा गएपछि भने त्यहाँको आकाशलाई ‘मिस’ गरिरहेको छु ।

लुक्लाको धावनमार्ग छोटो र भिरालो छ । अनि केही सेकेन्डमै मौसम परिवर्तन भइदिन्छ । एकपटक जापानका पाइलट पनि मेरो उडानका यात्री रहेछन् । लुक्लामा अवतरणपछि उनले मलाई भेटे र भने, ‘लुक्लामा उडान गर्ने पाइलट तीन प्रकारका हुन्छन्– साहसी, मूर्ख र पागल ।’ विमानस्थलभन्दा तल दूधकोसी नदी छ, जहाँबाट उठेको बादलले क्षणभरमै धावनमार्ग ढाकिदिन्छ । काठमाडौंलगायत विमानस्थलमा अवतरणका क्रममा ‘ओभरसुट’ गर्न सकिन्छ, लुक्लामा सकिँदैन । माथिपट्टि अग्लो डाँडो छ, ‘ल्यान्डिङ गियर’ बिग्रियो भने पनि अवतरण गर्नुको विकल्प रहँदैन । सयदेखि ५० फिटको उचाइमा झरिसकेपछि ‘ओभरसुट’ गर्न सकिँदैन ।

०००
एकपटक जहाज लुक्लामा अवतरणको क्रममा थियो । एक्कासि बादलले धावनमार्ग ढाकिदियो, आकाशबाट केही देखिएन । हामी बादलभित्र छिरेर ओभरसुट ग¥यौँ । त्यतिवेला सकुशल घर फर्किने आशा मारेका थियौँ । ‘ककपिट’मा ‘टेरेन टेरेन’ भनेर कराइरहेको थियो । त्यो भनेको ‘नजिकै पहाड छ, सजग होऊ’ भन्ने चेतावनी हो । तर, घुमेर आएर सकुशल अवतरण गर्न सक्यौँ । त्यस्तो अवस्थामा डाँडामा ठोक्किने जोखिम त हुन्छ नै, अर्को जहाजसँग जुध्ने खतरा पनि उत्तिकै हुन्छ ।

मौसम र अवस्थिति थाहा पाएपछि लुक्ला उड्न घरबाट झोला बोकेर निस्किँदा फर्केर आइन्छ कि आइँदैन जस्तो लाग्थ्यो । तीन हजारपटक लुक्लामा अवतरण गरेँ । एयरबसमा गएपछि भने त्यहाँको आकाशलाई ‘मिस’ गरिरहेको छु ।

नेपाल वायु सेवा निगममा आएपछि ‘वाई–१२’ जहाजको परीक्षण उडान थियो, लुक्लामा । प्रशिक्षक पाइलट आङनुरी शेर्पा र मैले ककपिट कमान्ड गरिरहेका थियौँ । फाप्लुको डाँडो पार भएपछि हामीले आकाशबाटै धावनमार्ग देखिरहेका थियौँ । तर, लुक्लाको डाँडाको भित्तापट्टि बादल छ भनेर एयर ट्राफिक कन्ट्रोलरले धावनमार्ग बन्द गरिदिए । हामीले सोध्यौँ, ‘प्रयास गरेर हेरौँ ?’ एटिसीले जवाफ दिए, ‘तपाईंहरू फर्किनुस् ।’ त्यसपछि हामी रामेछाप फर्कियौँ । त्यसअघि जबर्जस्ती अवतरण गर्न खोज्दा गोमा एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
०००
१० महिनाअघि ‘वाई–१२’ जहाजमा भैरहवाबाट काठमाडौं आउँदै थिएँ । नारायणगढबाट २० नटिकल माइल यता आएपछि जहाज बादलभित्र थियो, पानी पनि परिरहेको थियो । यात्री भरिभराउ थिए । को–पाइलटले उडाइरहेकी थिइन् । त्रिशूलीका डाँडाकाँडाबीचमा जहाज उडिरहेको थियो । तर, म्याग्नेटिक कम्पास (हेडिङ)ले दुई सय २० डिग्री फरक देखाइदियो । जहाजको पोजिसन देखाउने जिपिएसले पनि गलत दिशा देखायो । थोरै हेलचेक्र्याइँ गरेको भए दक्षिणतिरको कुनै डाँडामा जहाज ठोक्किन्थ्यो ।

सात हजार पाँच सय फिटमा थियौँ, बादलमा नभएको भए त राजमार्ग पछ्याउँदै उड्न सकिन्थ्यो । काठमाडौं टावरले ‘जहाज होल्ड गर्नुस्’ भन्यो । मैले ‘होल्ड गर्न सक्दिनँ’ भनेँ । त्यसपछि टावरले ‘इमर्जेन्सी डिक्लियर गर्नोस्’ भन्यो । टावरसँग ‘राडार भेक्टर’ मागेँ, मेरो जहाजको हेडिङ बताइदिन भनेँ । टावरले ‘मनिटर’ गर्दै मलाई काठमाडौं भित्र्यायो । कोटेश्वरतिर ‘जिरो टु’बाट जहाज अवतरण गराउँदै गर्दा हेडिङ भने ‘टु टु जिरो’ अर्थात् दुई सय २० डिग्री नै फरक देखाइरहेको थियो ।

अर्कोपटक सिमराबाट काठमाडौं आउँदै गर्दा दक्षिणकालीनजिक ‘गुराँस’ कोडबाट चिनिने ठाउँमा आइपुगेपछि त्यसरी नै हेडिङ २० डिग्री फरक प-यो । त्यहाँ १० डिग्री मात्र फरक पर्दा नजिकका डाँडामा जहाज ठोक्किने जोखिम हुन्छ । टावरले मनिटर गर्दै काठमाडौं विमानस्थलमा अवतरण गरायो ।

०००
जोमसोम उड्दा भने विमानस्थलमा अवतरण गर्ने, स्याउ टिपेर खाने र काठमाडौं लिएर आउने, फापरको रोटी खान पाइने । एकपटक भारतीय पर्यटकलाई जोमसोम उतारेर फर्किने क्रममा जहाज खाली थियो । हावा तीव्र गतिमा चलिरहेको थियो । ‘टेक अफ’को क्रममा जहाज पूरै पिङ खेलेजस्तै भयो । हावाले जहाजलाई पहाडमा बजार्छ कि भन्ने डर भइरह्यो । तर, सकुशल जहाज लिएर आयौँ ।

आकाशबाट हेर्दा काठमाडौं गुजुमुज्ज घरहरूका कारण कुरूप देखिन्छ । पूर्वबाट भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्दा उपत्यका कमिलाको छरिएको बगालजस्तो लाग्छ । पोखरा पुग्दा भने काठमाडौं फर्किऊँ जस्तो लाग्दैन ।

जोमसोम जाँदा हिउँ पग्लेर हिमपहिरो झरिरहेको देखिन्छ । माछापुच्छ्रेको नजिकबाट उड्दै गर्दाको अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन । जंगली जनावरहरू दौडिरहेको देख्दा फुत्त हामफालेर उनीहरूसँगै दौडिऊँ जस्तो लाग्ने । घोडेपानीको आकाशमा जहाज चार–पाँच सय फिटको उचाइमा हुन्छ । जमिनमा मानिसका गतिविधि सहजै देखिन्छ ।

एकातिर नीलगिरि, अर्कातिर धौलागिरि, बीचमा कालीगण्डकीको बगाइ । चराहरू उडिरहेका र भरना झरिरहेका । भित्तातिर सयौँ भेँडाहरूको बथान दौडिरहेको देखिन्छ । घोडेपानी क्षेत्रमा सेतो र रातो गुराँसबाट ढकमक्क डाँडा देख्दा कसको पो मन नरमाउला र ! कुनै डाँडा राताम्य त कुनै सेताम्य । जहाजबाटै गुराँस टिपेर शिरमा सिउरिऊँ जस्तो लाग्ने ।

सम्बन्धित समाचार