मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २७ सोमबार ०६:५८:००
Read Time : > 1 मिनेट
समाचार

आइएमई नेपाल लिटरेचर फेस्टिभल पोखरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २७ सोमबार ०६:५८:००

आइएमई नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करण आगामी २७ देखि ३० मंसिरसम्म पोखरामा हुने भएको छ । अघिल्ला संस्करणमा झैँ यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ । 

साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवं साहित्यकार डा. शशी थरुर, भारतीय गीतकार एवं कवि जाभेद अख्तर, भारतीय अभिनेत्री साभना आज्मीलगायत देश विदेशका एक सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक हजारौँ साहित्यानुरागीहरूको जमघट हुने फाउन्डेसनले बताएको छ ।

महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो । 

आइएमई नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बराल भन्छन्, ‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रूपमा उभ्याउन मद्दत पु-याउनेछ ।’ नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।  हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दै छौँ ।

पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ ।’ फेस्टिभलले नेपाल भ्रमण वर्षलाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन् । फेस्टिभलले नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउन टेवा पु-याउने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।

 जनकपुरमा कात्तिकमा साहित्य महोत्सव
नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै प्रदेश सरकार र सरोकारवालाहरूको पहलमा जनकपुरमा पनि आगामी १७ र १८ कात्तिकमा साहित्य महोत्सव हुने घोषणा गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ का संयोजक एवं फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झा भन्छन्, ‘पाँच सय वर्ष पुरानो धार्मिक र सांस्कृतिक सहर जनकपुरले मैथिली साहित्यलाई प्रतिनिधित्व गर्छ । जहाँ धर्म र संस्कृति हुन्छ, त्यहाँ संवेदना प्रचुर हुन्छ, साथै साहित्य पनि त्यहीँ मौलाउँछ । त्यसैले, जनकपुरमा हुने महोत्सवले सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनस्र्थापना गर्न टेवा पु-याउँछ ।’