निगमले तुम्लिङटारबाट नियमित उडान भर्ने 

२०७६ श्रावण २१ मंगलबार ०९:०४:००

खाँदबारी–९ मा रहेको तुम्लिङटार विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको छ । ०६८ सालपछि नियमित उडान रोकेको निगमले पुनः नियमित उडानका लागि परीक्षण उडान गरेको हो । वायुसेवा निगमले जहाज उडानका लागि कुनै समस्या नदेखिएकाले अब नियमित रूपमा उडान गर्न सकिने जनाएको छ ।

०६८ सालदेखि निगमले तुम्लिङटार विमानस्थल कालोपत्रे नभएको र जहाज अभावका कारण देखाउँदै आप्mनो उडान रोकेको थियो । यसअघि नै सीता र गोमा एयरलाइन्सले पनि आफ्नो सेवा रोकेका छन् । उडान नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । निगमले यात्रुहरूको समस्यालाई ध्यानमा राखी चाँडै नियमित उडान थाल्ने तुम्लिङटार विमानस्थल कार्यालयले जनाएको छ । 

पछिल्लो समय तुम्लिङटार विमानस्थलमा यति र बुद्ध एयरले दैनिक काठमाडाैं-तुम्लिङटार सेवा दिइरहेका छन् भने सातामा दुईपटक बुद्ध एयरले विराटनगर-तुम्लिङटार उडान गर्ने गरेको छ । निजी एयरलाइन्समा महँगो भाडा तिरेर आवातजावात गरिरहेको समयमा वायुसेवा निगमको परीक्षण उडानपछि स्थानीय खुसी भएका छन् । तुम्लिङटार विमानस्थल संखुवासभाको एक मात्र विमानस्थल हो । निगमले नियमित उडान थालेमा संखुवासभा साथै छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचार