दिने ठाउँमा पुगेँ, मागेको सम्झन्छु

२०७६ श्रावण १८ शनिबार ०९:३२:००

कुनै दिन वसन्ती डंगोल तामाङ ‘माग्दै’ हिँड्थिन् । महिला दिदी बहिनीका लागि अधिकार माग्थिन् । योजना माग्थिन् । सीप र स्वरोजगारको अवसर माग्थिन् । यसका लागि उनी विभिन्न निकायमा पुग्थिन् । गाविस धाउँथिन् । जिविस जान्थिन् । स्थानीय संघसंस्थादेखि मन्त्रालयसम्म पुग्थिन् । 

वसन्ती डंगोल तामाङ
उपमेयर, दक्षिणकाली नगरपालिका

आज उनी ‘दिने’ ठाउँमा छिन् । उनलाई लाग्छ हिजो इमानदार मनले आफूभन्दा समाजका लागि मागेकैले यो ठाउँमा पुगेकी हुँ । कुनै दिदीबहिनी होस् वा दाजुभाइ या त आमाबुबा उमेरकै सेवाग्राही, जो कोही नगरपालिकाको सेवाबारे बुझ्न वा माग्न आयो भने उनी आफ्नो अतीतमा फर्किन्छिन् । पुराना दिन सम्झिन्छिन् । र, उनी भ्याएसम्म सेवाग्राहीको आँगनमै पुगेर सेवा गर्छिन् । 

हाल दक्षिणकाली नगरपालिकाको उपमेयरको जिम्मेवारीमा पुगेकी वसन्तीको ‘ब्याक स्टोरी’ निकै संघर्षशील छ । उनले सबैभन्दा पहिला आफैंसँग संघर्ष गरिन् । त्यसपछि परिवारभित्र अनि समाजसँग ।

साविक चाल्नाखेल ७ फर्पिङमा जन्मिएकी नेवारकी छोरी, पढ्दा पढ्दै प्रेम तामाङसँग प्रेम बस्यो । आज पनि जातीय स्वभावमा चल्न खोज्ने समाज दुई दशकभन्दा अघि झन् कति जटिल थियो होला ? त्यही जटिलताले गर्दा उनले प्रेममा पनि निकै दोमन भोगिन् । 

१५ वर्षकै उमेरमा विवाह गरेर तामाङ परिवारकी बुहारी बनेपछि उनले निकै सकस भोग्नुपर्‍यो । ‘समाजले नै जातपातको कुरा गर्थ्यो,’ अहिलेकी उपमेयर वसन्तीले बुहारी बनेर घर आउँदाको दिन सम्झिइन्, ‘मेरो सासूससुराले स्वागत गर्ने कुरै भएन । उहाँहरूलाई पनि स्वीकार्न मुस्किल भयो ।’

परिवार र समाजको इच्छाविपरीत जानेले वर्तमान समयमा त निकै बाधा व्यहोर्नुपर्छ । दुई दशकअघि वसन्तीले झन् कति अड्चन पार गर्नुपर्‍यो होला । रोजेको मान्छेलाई जीवनसाथी बनाए पनि परिवार र समाजको मन जित्न उनले सकसको डुंगा निकै खियाउनुपर्‍यो । शालीन, भद्र र हँसिलो स्वभावकी वसन्तीले कहिल्यै दुःखको रेखा वा आरिसको राप आफ्नो अनुहारमा पर्न निइनन् । सहँदै गइन्, सकारात्मक पाइला चाल्दै गइन्  । 

परिवारले सुरुका दिनमा वसन्तीलाई ‘कुल कोठा’मा जान दिएन । भान्सामा छिर्न दिएन । विवाह गरेको दुई दशकपछि भने सिंगो नगरपालिकाले उनलाई उपमेयरका रूपमा स्विकारेको छ । उनी आज जनप्रतिनिधिका रूपमा नगरको अभिभावकत्व निभाइरहेकी छिन् ।  

उनी सम्झिन्छिन्, ‘म नेवारकी छोरी । मैले रोजेको श्रीमान् तामाङ । मन परेको मान्छेसँग सम्बन्ध त बनाएँ तर परिवारमा घुलमिल हुन, परिवारका लागि स्वीकार्य हुन निकै संघर्ष गर्नुपर्‍यो । तमाम अस्वीकार सहनुपर्‍यो ।’ 

परिवारले सुरुका दिनमा वसन्तीलाई ‘कुल कोठा’मा जान दिइएन । भान्सा छिर्न दिइएन । विवाह गरेको दुई दशकपछि भने सिंगो नगरपालिकाले उनलाई उपमेयरका रूपमा स्वीकारेको छ । उनी आज जनप्रतिनिधिका रूपमा नगरको अभिभावकत्व निभाइरहेकी छिन् । 

विवाह गरेको चार वर्ष पुग्दा नपुग्दै ०५९ सालमा गाउँमा सेयर एन्ड केयर नामक संस्थाले चाल्नाखेलमा महिला समूह गठन गर्‍यो । उनी त्यसमा आबद्ध भइन् । गाउँमा पढेलेखेका बुहारीहरू थिएनन् । ‘समूहले जीवन उपयोगी शिक्षा कक्षा’ सञ्चालन गर्ने भयो । स्वयंसेवकका रूपमा पढेलेखेको सहजकर्ता चाहियो । ‘म अन्तरजातीय विवाह गरेर आएकी नारी भएकाले घरपरिवार र समाजमा घुलमिल हुन सकेकी थिएन्,’ उनले सम्झिइन्, ‘छोरीभन्दा पाएसम्म एसएलसी पढेकी बुहारीलाई प्राथमिकता दिइयो । छोरी विवाह गरेर अर्को गाउँमा जान्छन् भनेर पनि त्यसो गरिएको थियो ।’ उनी गाउँका बुहारीहरूमा एसएलसी पास गरेकी एक्ली थिइन्, उनी छनोट भइन् ।

निरक्षरहरूलई समेटेर उनले समूह बनाइन् । गाउँकै समस्यालाई पाठ बनाएर सकारात्मक सन्देश दिने गरी पढाउन सुरु गरिन् । ‘पढाउने क्रममा म गाउँका दिदीबहिनीसँग घुलमिल हुन थालेँ । कक्षामा दिदीबहिनीसँगै काकी सासूदेखि नन्द, आमाजु पर्नेहरू पनि थिए,’ उनले सम्झिइन्, ‘सबैसँग बोलचाल हुन थाल्यो । एकअर्काको बानीबेहोरा बुझ्न पायौँ । अनि त भान्सामा पस्न नदिने सासूहरू पनि मैले पकाएको खान थाल्नुभयो ।’

उनले त्यतिवेलै जाँड, रक्सी, जुवा, तासलाई विषय बनाएर त्यसको हानि, बेफाइदाबारे भन्दै अक्षर चिनाइन् । नजानिँदो गरी सचेतना फैलाइन् । उनले जाँड, रक्सी गलत हो भनेर विरोध गर्न सिकाइन्, चेनता फैलाइन् । 

संस्थाकै सहयोगमा बिस्तारै तत्कालीन समयमा गाविसस्तरीय महिला सञ्जाल बनाउन सक्रिय भइन् । सञ्जाल साविकका ६ वटा गाविसमा विस्तार भयो । ‘०६३ मा महिला दिदीबहिनीमा सीप आदानप्रदानका लागि विकासका लागि सशक्त महिला समाज बनायौँ,’ उनले सम्झिन्, ‘उपाध्यक्षका रूपमा मैले सशक्तीकरण, अधिकारका लागि पैरवी, निर्णयमा महिलाको पहुँचका लागि विभिन्न निकायमा पहल गरेँ ।’ 

आज उपमेयरको कुर्सीमा बसिरहँदा कोही दिदीबहिनी आएमा हिजोको जस्तो अवस्था नहोस् भन्नेमा वसन्ती सचेत छिन् । तर, दिन मन लागेका सबै अधिकार र विकास निर्माण उनले मात्रै चाहेर दिन सकिँदैन । त्यतिवेला उनी खिन्नता महसुस गर्छिन् । 

घरघरमै परिचयपत्र
‘म दिनभरि गरेको कामले राति ऐठन नहोस् भन्ने कुरामा जहिले सचेत छु,’ उनले भनिन्, ‘सकेसम्म सेवाग्राहीलाई सहज, सुलभ होस् भन्ने कुरामा चनाखो हुन्छु ।’ यसका लागि उनले नगरपालिकाभित्र रहेका अपांगता भएका व्यक्तिको घरघरमै पुगेर अपांगता परिचयपत्र बाँडिन् । ‘त्यसले भौतिक रूपमा उहाँहरूलाई कार्यालयसम्म पुग्ने कष्ट भएन,’ उनले भनिन्, ‘त्यसभन्दा ठूलो कुरा उहाँहरू उपमेयर हाम्रो घरमै आएर परिचयपत्र दिनुभयो भनेर खुसी हुनुभयो । त्यो पनि मनोवैज्ञानिक रूपमा राम्रो कुरा हो जस्तो लाग्यो ।’

महिला समूह, आफूहरूले गाउँगाउँमा स्थापना गरेका महिला सहकारीमा बसेर उनले गाउँका दिदीबहिनीलाई तत्कालीन अवस्थामा गाविस, जिविस, मन्त्रालय र संघसंस्थाबाट आउने बजेटबारे जानकारी लिने, अधिकार माग्ने कुरा सिक्ने÷सिकाउने काम गरिन् । आज त्यही विद्या प्रयोग गरेर सेवाग्राही आउँदा उनलाई खुसी लाग्छ । 

आफैँ रोलमोडल
विवाह गरेर आएपछि उनलाई पारिवारिक सम्बन्ध सुधार्न आर्जनका लागि छापाखानामा ब्यान्डिङको जागिर पनि गरिन् । विभिन्न सीपमूलक तालिम सिकेर प्रशिक्षण दिइन् । महिला मिलेर बनाएको चाल्नाखेल महिला सहकारीमा स्टाफका रूपमा पनि काम गरिन् । यो सब गर्दा पनि उनलाई शिक्षा नै केही हो भन्ने लाग्यो । त्यसपछि उनले स्थानीय समाजसेवी शशी शर्मा अर्याल, सेयर एन्ड केयर संस्था, गाविसलगायतसँग मिलेर शिखरपुरा सामुदायिक अध्ययन केन्द्र स्थापनाको अगुवाइ गरिन् । अध्ययन केन्द्रको उद्देश्य बीचैमा पढाइ छोडेका, पढ्दापढ्दै अर्को गाउँबाट बुहारी भएर आएका दिदीबहिनीलाई पढाउनेमा लक्षित थियो । 

वसन्ती पढाइ छोडेको १२ वर्षपछि छोरी ११ वर्षकी हुँदा ११ कक्षामा भर्ना भइन् । १२ पास गरिन् । उनले शिखरापुर क्याम्पसबाट समाजशास्त्रमा स्नातक गरिन् । गाउँका लागि उनी पढाइमा पनि रोलमोडल बनिन् ।

वसन्तीलाई लाग्यो यसको सुरुवात आफैँबाट गर्नुपर्छ । उनले पढाइ छोडेको १२ वर्ष भएको थियो । छोरी ११ वर्षकी थिइन् । ११ कक्षामा भर्ना भइन् । १२ पास गरिन् । पछि उनले शिखरापुर क्याम्पसबाट समाजशास्त्रमा स्नातक पास गरिन् । गाउँका लागि उनी पढाइमा पनि रोलमोडल बनिन् । ‘विवाह गरेको करिब १५ वर्षपछि ०६९ मा उनले स्नातक पास गरेँ,’ उनले पढाइको उमेर हुँदैन भन्ने आसयमा भनिन् । पढाइ छोडेका २८ जना दिदीबहिनीले उनीसँगै एसएलसी पास गरे । 

अनायासै राजनीतिमा
उनको सक्रियता, सकारात्मक र सहयोगी भावनाको कदर गाउँमा मात्रै भएन । गाउँमा भिजेको, रिझिएको ‘फेस भ्यालु’ भएको मान्छे राजनीतिक दलहरूले पनि खोजे । वसन्ती डंगोल तामाङलाई तत्कालीन एमाले, माओवादी र कांग्रेसले चुनाव लड्न प्रस्ताव गरे । ‘मैले राजनीतिको ‘र’ पनि बुझेकी थिइनँ, मन पनि पर्दैन थियो,’ उनले राजनीतिमा आउनुको कथा सुनाइन्, ‘गाउँमा सबैले केही गर्ने मान्छे तिमी नै हौ, चुनवा लड्दा हुन्छ भनेपछि मैले चुनाव लडेँ ।’ 

उनले कांग्रेसको उम्मेदवारका रूपमा उपमेयरमा उम्मेदवारी दिनुको कथा सुनाइन्, ‘मैले बिपीलाई पढेकी थिएँ, उहाँको सिद्धान्त, आदर्श, समाजवाद मन पथ्र्यो, कार्यक्रम प्रस्तोताका रूपमा विभिन्न ठाउँमा जाँदा पनि अन्य पार्टीका भन्दा कांग्रेसका केही मान्छे बढी चिनेकी थिएँ, अनि कांग्रेस भएरै लडेँ ।’ 

दुधेबालक छोडेर चुनाव प्रचार
स्थानीय निर्वाचन लडिरहँदा वसन्ती डंगोल तामाङ १७ वर्षपछि आमा बनेकी थिइन् । छोरी जन्मिएको १७ औँ वर्षमा उनले छोरा पाएकी थिइन् । ‘घरमा ८ महिनाको छोरो छोडेर म चुनावमा खटिएँ,’ उनले सम्झिइन्, ‘घरमा जेठानी, आमा, दाइ, भाउजूले छोराको पिर गर्ने वातावरण नै बनाउनुभएन, छोरा पनि निकै ज्ञानी भइदियो ।’

यसरी लडेको चुनावको परिणमले उनलाई उममेयरको जिम्मेवारीमा पुर्‍यायो । हिजो आफू ‘माग्न जाने’ गरेको ठाउँमा आज उनी ‘दिने’ व्यक्ति भएर बसेकी छिन् । ‘गर्व त लाग्छ तर कतिपय सेवाग्राही मेरो क्षेत्राधिकारभन्दा बाहिरको अपेक्षा लिएर आउनुहुन्छ,’ उनले भनिन्, ‘पूरा गर्न नसक्दा भने मन खिन्न हुन्छ ।’ उनको नेतृत्वामा अहिले न्याय समिति, राजस्व परामर्श समिति, बजेट सीमा निर्धारण समिति, अनुगमन समिति र अपांगता परिचयपत्र वितरण समिति छन् । ‘मेरो नेतृत्वमा जे काम हुन्छ म राति घरमा आएर उकुसमुकुस हुने काम गर्दिनँ,’ भनिन् । उनले अपांगता भएका व्यक्तिको घरमै गएर परिचयपत्र वितरण गर्ने मात्र होइन, उनीहरूका लागि विभिन्न संस्थासँग समन्वय गरेर १४ जनालाई ह्विल चेयर उपलब्ध गराएकी छिन् । अझै गराउने अभियानमा छिन् । 

सन्देशमूलक अभियान
आफूलाई नगरले नयाँ गाडी किन्न गत वर्ष छुट्याएको पैसा उनले विद्यालय र एम्बुलेन्सका लागि उपलब्ध गराइन् । गाडी किन्न छुट्याइएको पैसा कामधेनु प्राविधिक विद्यालयलाई २५ लाख र एम्बुलेन्सका लागि पाँच खाल दिइन् । 

परिवार र समाजको इच्छाविपरीत जानेले वर्तमान समयमा त निकै बाधा व्यहोर्नुपर्छ । दुई दशकअघि वसन्तीले झन् कति अड्चन पार गर्नुपर्‍यो होला ! परिवार र समाजको मन जित्न उनले सकसको डुंगा निकै खियाउनुपर्‍यो । वसन्तीले कहिल्यै दुःखको रेखा वा आरिसको राप आफ्नो अनुहारमा पर्न दिइनन् । 

ज्येष्ठ नागरिक ‘बोल्ने देउता’का रूपमा सम्मान गर्न उनको नगरले हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र खोल्ने योजना अघि सारेको छ । ‘ज्येष्ठ नागरिक भनेको इतिहास हो, उहाँहरूका अनुभव युवाले सुन्ने हो भने पनि समाज अगाडि बढ्छ,’ उनले भनिन्, ‘त्यसैले हरेक वडामा यो अभियान ल्याइएको हो ।’ हाल दक्षिणकाली नगरपालिकाको ३ र ६ नम्बर वडामा यस्तो केन्द्र स्थापना भइसकेको र अन्य वडामा हुने क्रममा रहेको उनले सुनाइन् । 

महिला दिदीबहिनीले सिकेको सीप उपयोगी होस् भनेर नगरपालिकाले त्रिभुवन आदर्श माविमा मिनी गार्मेन्ट स्थापना गरेको छ । ‘त्यहाँ अहिले कपडाका झोला र ज्याकेट बन्छन्,’ उनले भनिन्, ‘कपडाका झोला उत्पादनले अबका केही समयमै नगरलाई प्लास्टिकरहित बनाउने योजना छ । सामाजिक काम गर्दा सिकाएको सीप उपयोग गर्न यो अभियान ल्याइएको हो ।’  दुई वर्षभित्र स्वच्छ, सफा, हराभरा दक्षिणकाली नगरपालिका निर्माण लागि शुक्रबारे अभियानको ११औँ सप्ताह मनाएको उनले बताइन् । 

पर्यटनका लागि होमस्टे
नगरको समृद्धिका लागि वडा नम्बर १ को चाल्नाखेलका पाँचवटा घरमा होमस्टे सञ्चालनमा ल्याएको बताइन् । जहाँ नेवार, तामाङ, क्षेत्री, मगरजस्ता विभिन्न जातिका संस्कृति झल्कने गरी निर्माण गरिएको छ । उनको पहलमा पर्यटन विकासका लागि बोसन महोत्सव मात्रै गरिएन । चम्पादेवीको पाउ निर्माण र होमस्टेका लागि १५ लाख उपलब्ध गराइन् । अहिले प्रदेश सरकारले ५० लाख बजेट उपलब्ध गराएको छ । 

राजनीतिक रूपमा समाजको नेतृत्व गरिरहँदा उनको अनुभव छ, समाजमा आवश्यकता र अपेक्षा धेरै हुँदा रहेछन् । त्यसलाई पूरा गर्न सिंगो समाज सकारात्मक बाटोमा हिँड्न जरुरी छ । ‘त्यो बाटो हिँड्न मलाई मेरा ‘ब्याक स्टोरी’ले जहिले पनि ऊर्जा दिइरहन्छन् ।