मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २७ शनिबार
  • Saturday, 12 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o८३ भदौ २७ शनिबार २३:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पको टोकाइबाट घाइते संगीता बडूको अस्पतालमै मृत्यु

पीडित परिवारको आरोप– ‘चिकित्सकको लापरबाहीले ज्यान गयो, दोषीमाथि कारबाही होस्’

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ भदौ २७ शनिबार २३:३२:oo

सर्पको टोकाइबाट घाइते भएकी कञ्चनपुरको महेन्द्रनगरकी एक महिलाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१०, सुकासाल, महेन्द्रनगरकी ३३ वर्षीया संगीता बडूको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घरमै रहेका बेला सर्पले हातमा टोकेपछि परिवारले उनलाई उपचारका लागि शुक्रबार ५ भदौ २०८३ मा महाकाली प्रादेशिक अस्पताल पुर्‍याएका थिए। आकस्मिक कक्षबाट आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गरिएको २१ दिनपछि शुक्रबार राति करिब ८ः५५ बजे उनको मृत्यु भएको परिवारले जनाएको छ।

समयमै अस्पताल पुर्‍याइए पनि उपचारको सुरुवाती चरणदेखि नै लापरबाही भएको मृतकका परिवारले आरोप लगाएका छन्। परिवारका अनुसार आकस्मिक कक्षमा ड्युटीमा रहेका मेडिकल अधिकृत सन्तोषी चौधरीको टोलीले उपचारमा लापरबाही गरेको थियो।

संगीताको मृत्यु भएपछि पीडित पक्षले अस्पताल व्यवस्थापन समिति र प्रशासनसमक्ष उपचारमा ढिलाइ गरिएको, बिरामीको अवस्था गम्भीर भएपछि मात्रै आवश्यक उपचार थालिएको, आवश्यक सूचना तथा परामर्श नदिइएको र समयमै रेफर गर्नसमेत आनाकानी गरिएको गुनासो गरेका छन्।

मृतककी आमा मञ्जुदेवी बडूले चिकित्सकको लापरबाहीकै कारण कलिलै उमेरमा जेठी छोरी गुमाउनुपरेको आरोप लगाइन्। उनका अनुसार छोरीलाई उपचारका लागि समयमै आकस्मिक कक्षमा पुर्‍याए पनि सुरुदेखि नै लापरबाही भएको थियो।

‘छोरीलाई उपचारका लागि आकस्मिक कक्षमा ल्याएका थियौँ,’ उनले भनिन्, ‘सुरुदेखि नै लापरबाही गरियो। मेडिकल अधिकृत सन्तोष चौधरीले अनकलमा रहेका विशेषज्ञ चिकित्सकलाई समेत बोलाउनुभएन।’

चिकित्सकको लापरबाहीकै कारण छोरीको मृत्यु भएको दाबी गर्दै मञ्जुदेवीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्।

यता, महाकाली प्रादेशिक अस्पतालले भने संगीताको मृत्यु उपचारमा भएको लापरबाहीकै कारण भएको भन्ने विषयमा हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।

पीडित पक्षसँग भएको छलफलमा अस्पताल व्यवस्थापन समितिका सदस्य प्रशान्त भट्टले उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद घटना भएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

‘उपचारकै क्रममा बिरामीको ज्यान जानु आफैँमा दुःखद विषय हो,’ भट्टले भने, ‘घटनाको निष्पक्ष छानबिन हुन्छ। दोषी देखिए कारबाहीका लागि आवश्यक पहल गरिनेछ।’

मृतक पक्षले आरोप लगाएका मेडिकल अधिकृत सन्तोष चौधरीले भने आफूले आफ्नो कर्तव्य निर्वाह गरेको दाबी गरेका छन्। आकस्मिक कक्षमा आउने हरेक बिरामी तथा घाइतेको उपचार र रेफर प्रक्रिया तोकिएको विधिअनुसार हुने भन्दै उनले आफूले सोहीअनुसार काम गरेको बताए।

उनले आफूभन्दा सिनियर चिकित्सक टेकनारायण श्रेष्ठलाई समेत बिरामीको अवस्थाबारे पटक–पटक जानकारी गराएको दाबी गरे।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले पीडित पक्षबाट लिखित निवेदन आए घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न अस्पताल प्रशासनलाई अनुरोध गर्ने बताए।

‘घटनाको सत्यतथ्य छानबिन हुन्छ। यदि उपचारमा चिकित्सक वा स्वास्थ्यकर्मीबाट लापरबाही भएको पाइए उनीहरू कारबाहीको भागीदार हुन्छन्,’ पन्तले भने, ‘पीडितले न्याय पाउनुपर्छ। अस्पताल बिरामी निको पार्ने थलो हो। यहाँ बिरामीको स्वास्थ्यसँग खेलवाड गर्न कसैलाई छुट छैन।’

पीडित परिवारले मानवीय रूपमा हुने त्रुटिलाई स्वीकार गर्न सकिने भए पनि उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले गल्ती भएको भए त्यसलाई स्वीकार गरी जिम्मेवारी लिनुपर्ने बताएका छन्। घटनामा न्याय नपाए कानुनी उपचारका लागि सम्बन्धित निकाय र अदालतसम्म जाने उनीहरूले चेतावनी दिएका छन्।