मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १० बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ १० बुधबार १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार

भारत, चीन र विश्व बैंकले सरकारलाई सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ १० बुधबार १७:o३:oo

बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आएलगत्तै बुधबार बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए।  

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौं ल्याइने तयारी भइरहेको बताएका छन्।

यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङमाओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. वाग्लेले अन्तर–सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरेका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरूलाई ‘विपत् संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।