बर्दियामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मुक्त कमैया परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बसोबास गर्ने श्रमिक तथा मुक्त कमैया परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
आर्थिक रुपले विपन्न श्रमिक तथा मुक्त कमैया परिवारका २७ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको कमैया महिला जागरण समाज नेपालले जनाएको छ । शैक्षिक सामाग्रीले बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास जागरण समाज नेपालले लिएको छ ।
कमैया महिला जागरण समाज नेपालकी सामाजिक परिचालक सरस्वती चौधरीले श्रमिक तथा मुक्त कमैयाका परिवारका बालबालिकालाई झोला, ज्यामिती बकस, सर्टपाइन्ट , जुत्ता मोजा कापी कमल दिइएको जानकारी दिइन् ।
उनले भनिन् , " आर्थिक रूपमा कमजोर रहेका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र मुक्त कमैया परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन र अध्ययनलाई निरन्तरता दिन शैक्षिक सामग्री दिइएको छ । शैक्षिक सामाग्री वितरण गर्न एक्सनएड नेपाल र कमैया महिला जागरण समाज नेपालको साझेदारी तथा मुक्त कमैया समाजको सहकार्यमा सञ्चालित परिश्रम परियोजनाले सहयोग गरेको हो ।"