Skip This
Skip This

असुरक्षा भएपछि रातारात भागे गाउँपालिकाका प्राविधिक

२०७६ असार २७ शुक्रबार १५:४८:००

जिल्लाको नरहरिनाथ गाउँपालिकाका इन्जिनियर महेश धिताल र सव–ओभरसियर सतल बटाला सुरक्षा नभएको भन्दै बिहीबार राति भागेका छन् । गाउँपालिकामा  नियम विपरीत प्राविधिक रिर्पोट बनाउन दवाव दिएपछि असुरक्षा हुने भन्दै उनीहरु सदरमुकामस्थित जिल्ला प्रशासन पुगेका हुन् । 

असुरक्षित भएकाले राति नै सदरमुकाम पुगे पनि उनीहरुलाई गाउँपालिकाका अध्यक्ष फर्किन भनेका थिए । तर, सुरक्षा हुन अवस्था नभएपछि प्रमुख जिल्ला अधिकारीलाई खबर गरी सदरमुकाम पुगेको उनीहरुले जानकारी दिए ।

काम पूरा नभए पनि सम्पन्न भएको बनाउन दवाव दिएपछि सुरक्षाका लागि गाउँपालिकाका अध्यक्षलाई जानकारी दिएको इन्जिनियर धितालले बताए । ‘हामीले नियम विपरीत बढी ‘स्टमेट’ कसरी बनाउने ?,’ उनले भने, ‘बढी ‘स्टमेट’ बनाउँदा कसरी विकास होला भन्दा दवाव आयो । असुरक्षित हुने  भएकाले राति नै भागेका हौँ ।’

गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले इन्जिनियरहरु सदरमुकाम गए पनि ‘स्टमेट’ बनाएर काममा फर्कन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘उहाँहरु प्राविधिक स्टमेट बनाएर राति भाग्नु भएछ । त्यसैले प्रहरीलाई खबर गरी फर्कन भनेको हुँ ।’

‘समस्या बुझ्दै छु’

जिल्ला प्रमुख अधिकारी चन्द्रबहादुर कार्कीले गाउँपालिकाका प्राविधिक सुरक्षा माग्दै सदरमुकाम आएकाले के भएको बुझ्ने काम भएको जानकारी दिए । उनले भने, ‘उनीहरुको समस्या के हो म बुझ्दै छु, सुरक्षाका लागि अहिले यतै छन् ।’
 

सम्बन्धित समाचार