वडाध्यक्षकै नेतृत्वमा चिकित्सकमाथि आक्रमण

डडेल्धुरा अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

२०७६ असार २७ शुक्रबार १०:५६:००
करण ताम्राकार डडेल्धुरा

डडेल्धुरा अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि पुनः आक्रमण भएपछि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन् । पछिल्लोपटक अमरगढी नगरपालिका ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोलीले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि अस्पतालमा कार्यरत सुरक्षाको माग गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीवन खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाइएको छ । यसअघि उपचारको क्रममा ३१ जेठमा सुत्केरी भएको १४ दिनपछि अमरगढी, ६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । सो घटनापछि ठप्प भएको अस्पतालको सेवा १२ असारमा नागरिक समाज डडेल्धुराले सर्वपक्षी बैठक गरी  चिकित्सकमाथि अभद्र व्यवहार नहुने सहमति गरेपछि चिकित्सकहरू काममा फर्किएका थिए ।  पुनः बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शवको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिए । खड्काले पोस्टमार्टम नगरी शव लगेको अस्पतालले जनाएको छ । 

वडाअध्यक्षसहितको टोलीले आक्रमण गरेपछि चिकित्सकहरूले सेवा ठप्प पारेका हुन् । चिकित्सकले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म असुरक्षाका कारण नियमित सेवामा फर्कने वातावरण नभएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन् । उनीहरूले बिहीबारबाट  आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणा गरेका छन् ।
प्रहरीले बुधबार बिहान साढे ११ बजे अमरगढी नगरपालिका ११ सल्लाघारीका मृतक भेटिएका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु‍-याएको थियो ।

चिकित्सकहरूले ११ बजेर ३५ मिनेट जाँदा शवको पोस्टमार्टम सुरु गरेका थिए । वडाअध्यक्ष खड्काको नेतृत्वमा आएको भिडले पोस्टमार्टम गरिरहेका डाक्टरलाई तथानाम गाली बेइज्जती गर्दै हातपात र ढुंगा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा. जीवन खरेलद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आक्रमण हुँदा डा. दिनेश उपाध्यायको घुँडामा चोट लागेर घाइते भएका छन् । आक्रमण गर्नेलाई कारबाही नहुन्जेल नियमित काममा नर्फकिने डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा. जितेन्द्र कँडेलले बताए । ‘पटक–पटक चिकित्सकमाथि आक्रमण भइरहेको छ । राज्यले सुरक्षाको ग्यारेन्टी नगरेसम्म नियमित सेवामा फर्किँदैनौँ,’ कँडेलले भने । नेपाल चिकित्सक संघले घटनाप्रति खेद व्यक्त गर्दै विरोध जनाएको छ ।