नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनविरुद्ध महोत्तरी–२ का निरंजनकुमार दासले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तोकिएको शैक्षिक योग्यता र विवरण खुलाएर फर्म भरे पनि आयोगले अस्वीकार गरेका कारण उत्प्रेषणको आदेश माग गर्दै दासले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। सो रिटविरुद्धको सुनुवाइ गर्न सर्वोच्चले बिहीबारका लागि पेसी तोकेको छ।
सर्वोच्चमा दायर रिटमा गत वर्ष सोही पदमा आवेदन दिएर परिक्षामा समेत सामेल भएको, तर यो बर्ष आवेदन नै लिन अस्वीकार गरेको रिटमा उल्लेख छ। राष्ट्र बैंकको सहायक निर्देशक पदको विज्ञापन नम्बर १५–०८२ मा आवेन दिन अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशाशन बिषयमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने मापदण्ड छ । दासले पोखरा विश्वविद्यालयबाट व्यवस्थापन संकायअन्तर्गत ‘कम्प्युटर इन्फरमेसन सिस्टम’मा स्नातकोत्तर उत्तीर्ण गरेको कागजात निवेदनसाथ पेस गरेको बताए।
‘मैले व्यवस्थापन संकायमा रहेर मास्टर्स गरेको छु र सोही योग्यताका आधारमा गत बर्ष परिक्षामा सामेल पनि भएको छु,’ उनले भने, ‘यो बर्ष सोही पदमा खुलाएको विज्ञापनमा गत बर्षकै जस्तो शैक्षिक योग्यता तोकिएको छ। तर पनि मेरो आवेदन अस्वीकार भएकाले न्यायका लागि अदालत पुगेको हुँ।’ राष्ट्र बैंकका अधिकारीहरुले व्यवस्थापन नभई आइटीतर्फको शेक्षिक योग्यता रहेकाले यसपटकको आवेदन अस्वीकार गरेको मौखिक जानकारी दिएको दासले बताए। तर, तीन बर्षअघि आइटीतर्फको सहायक निर्देशक पदमा आवेदन दिँदा पनि राष्ट्र बैंकले फर्म अस्वीकार गरेको उनले जानकारी दिए।
‘मैले तीन बर्षअघि आइटीतर्फको सहायक निर्देशक पदमा आवेदन दिएको थिएँ। त्यतिबेला व्यवस्थापनतर्फको शैक्षिक योग्यता रहेछ भनेर मेरो आवेदन अस्वीकार भयो र गत बर्ष व्यवस्थापनतर्फ आवेदन दिएर स्वीकार भएपछि परिक्षामा सामेल भएँ’ उनले भने, ‘तर, यो बर्ष फेरी व्यवस्थापनतर्फ आवेदन दिँदा राष्ट्र बैंकका अधिकारीहरुले आइटीतर्फको योग्यता रहेछ भनेर मेरो आवेदन अस्वीकार गरेका छन्।’
उनले ४ माघमा राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागमा यस बिषयमा निवेदनसमेत दिएका थिए। सोही दिन दर्ता भएको उजुरीउपर राष्ट्र बैंकले सुनुवाई नगरेपछि अदालतमा रिट दायर गरेको दासले बताए। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागको निर्देशकसमेत रहेका प्रवक्ता गुरुप्रसाद पौडेलले विज्ञसम्मिलित कार्यदलको सुझावका आधारमा खुल्ला प्रतिस्पर्धाबाट प्राप्त आवेदनहरु छनौट वा अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
‘विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापनको आवेदन छनौट गर्ने वा अस्वीकार गर्ने विषयमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अर्थशास्त्र, कानुन, चार्टड एकाउन्टेन्सलगायत क्षेत्रका विज्ञ राखेर छलफल गरेका थियौं,’ उनले भने, ‘त्यसक्रममा जुन बिषयमा स्नतकोत्तर गरेको हो, त्यसमा कम्तीमा ७० प्रतिशत क्रेडिट आवर पुगेको आवेदनलाई मात्र मान्यता दिने सुझाव आयो र सोहीअनुसार निर्णय भएको छ।’ व्यवस्थापन संकाय लिएर आइटी पढेको, तर व्यवस्थापन विषयमा ७० प्रतिशत क्रेडिट आवर नपुगेको भए आवेदन अस्वीकार गर्ने प्रणाली राष्ट्र बैंकले विकास गरेको उनले जानकारी दिए।
प्रवक्ता पौडेलले यो वर्षदेखि मात्रै ७० प्रतिशत क्रेडिट आवरको व्यवस्था लागू गरिएको पनि बताए। ‘गत बर्ष आवेदकले दिएको बिबरणअनुसार फर्म स्वीकृत भएको थियो, तर यसपटकदेखि भने सम्बन्धित बिषयमा ७० प्रतिशत क्रेडिट आवर पुगे/नपुगेको परीक्षण गरेर मात्र आवेदन स्वीकार गर्ने निर्णय भएकाले केही फर्महरू रिजेक्ट भएको हुनसक्छ,’ उनले भने।
आयोगले राष्ट्र बैंककाे सहायक निर्देशक पदका लागि २८ माघमा लिखित परिक्षाको मिति तोकेको छ। तर, रिटको टुंगाे नलाग्दासम्म परीक्षालगायतका कार्यक्रम स्थगित गर्न माग गरिएको छ।