कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका युवा फेरि आन्दोलित

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण
  • भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये डेढ महिनाभित्रै साढे चार हजार युवाको म्याद सकिने भएपछि रोस्टरमा पर्ने सबैको कोरियामा रोजगारी ग्यारेन्टी हुनुपर्ने माग, धर्ना थालेका युवासँग आज वार्ता

भाषा परीक्षा उत्तीर्ण गरेको दुईवर्षे म्याद सकिन लाग्दासमेत कोरियाको रोजगारी अनिश्चित भएपछि युवाहरू फेरि आन्दोलित भएका छन् । यही जनवरीमा आठ सय ५३ र फेब्रुअरीमा थप तीन हजार सात सय ९६ युवाको भाषा परीक्षाको म्याद सकिन लागेको छ । भाषा परीक्षा उत्तीर्ण भएका सबै युवाहरू कोरिया जान पाउनुपर्ने माग राखेर मंगलबार दिउँसो उनीहरूले इपिएस शाखा, ग्वार्कोमा धर्ना दिएका हुन् । 

एकपटक भाषा परीक्षा उत्तीर्ण भएपछि दुई वर्षका लागि मान्य हुने व्यवस्था छ । तर, करिब दुई वर्षदेखि कोरियाको रोजगारीमा जाने दिन कुरे पनि पालो नआएपछि बाध्य भएर आन्दोलन थालिएको भाषा परीक्षा उत्तीर्ण गरेका युवा प्रबल खनालले जानकारी दिए । ‘भाषा परीक्षा पास गरेका सबैले रोजगारीका लागि कोरिया जान पाउनुपर्छ भन्ने माग राखेर फेरि धर्ना दिन थालेका छौँ,’ उनले भने, ‘बुधबार सरकारी टोलीसँग वार्ता गर्ने तय भएको छ । वार्ताबाट समस्या समाधान हुने अपेक्षा छ ।’ 

भाषा परीक्षा उत्तीर्ण गरेका युवाको तर्फबाट मुख्य गरी दुईवटा माग पेस भएका छन् । खनालका अनुसार पानीजहाजमा काम गर्नका लागि भाषा परीक्षा उत्तीर्ण गरे पनि म्याद सकिन लागेका तीन हजार एक सय ५० युवाको भाषा परीक्षाको म्याद दुई वर्ष थप गर्नुपर्ने माग छ । त्यस्तै, एकपटक कोरिया गएर पुन: जान लागेका युवाहरूको फाइल तुरुन्त कोरियास्थित रोजगारदाता कम्पनीलाई फरवार्ड गरी प्रक्रिया अघि बढाउनुपर्ने माग राखिएको खनालले बताए ।

पछिल्लो समय भने भाषा परीक्षा उत्तीर्ण गरेर रोेस्टरमा रहेका युवाहरूले पालो पाउनै मुस्किल बन्दै गएको छ । नेपालस्थित इपिएस शाखाका निर्देशक टीकाराम ढकालले रोजगारीका लागि कोरिया जानुपर्ने युवाको मागलाई सरकारका तर्फबाट सहजीकरण भइरहेको बताए । उनले आन्दोलन र धर्नाजस्ता कार्यक्रमको सट्टा वार्ताबाट समस्या हल गर्न पनि आग्रह गरेका छन् ।

‘युवा साथीहरूसँग वार्ता गर्दै छौँ । सोही वार्ताबाट समस्या समाधानको पहल हुनेछ,’ उनले भने । शाखाले एक विज्ञप्ति निकालेर युवाको माग सम्बोधनका लागि समिति बनाइएको र समितिले चाँडै प्रतिवेदन दिन लागेको उल्लेख गरेको छ । त्यस्तै, नेपाली प्रतिनिधिमण्डल सम्मिलित एक टोली कोरिया नै पुगेर आवश्यक सहजीकरण हुन लागेको पनि शाखाले जनाएको छ ।

आठ हजार नौ सय युवाको म्याद सकिँदै
जिटुजी प्रक्रियाबाट जाने भएकाले कोरियाको रोजगारी तुलनात्मक रूपमा सुरक्षित र आकर्षक छ । त्यसैले युवाहरूले कोरिया भाषा सिक्ने र परीक्षा उत्तीर्ण गरेर रोजगारीको सपना देख्ने गरेका छन् । तर, भाषा परीक्षा दिएर पनि समय घर्किन लागेका युवाको संख्या आठ हजार नौ सय दुई रहेको छ । यसमध्ये डेढ महिनाभित्र चार हजार ६ सय ४९ युवाको भाषा परीक्षाको समय सकिँदै छ । ‘दुई वर्षदेखि कुर्दासमेत रोजगारीका लागि कोरिया जान नपाउनु अन्याय हो । त्यसैले कूटनीतिक पहलमार्फत रोस्टरमा रहेका सबैलाई कोरिया जान पाउने वातावरण बनाउनुपर्छ भनेका छौँ,’ इपिएसपीडित प्रबल खनालले भने ।

सुझावित समाचार