फाइल फाेटाे
२०७६ असार १६ सोमबार १२:३८:००
नयाँ पत्रिका

आकाशमा उड्ने विमानले एयरपोर्ट ओगटने काममात्र गरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट 

प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले ३७ अर्व घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारले विश्वास गर्न नसक्ने बताए । 

निगमको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने स्पष्ट पारे ।

‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु प¥यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न  बाध्य हुनेछ,’ उनले प्रश्न गरे, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान निगमले किन चलाउन सक्दैन ?’

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि निगमले गन्तव्य खोज्न नसकेकोमा आपत्ति जनाए । सरकारले साथ दिए पनि निगमले विमान संचालन गर्न नसकेकोमा उनले आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै विमानहरुलाई चुस्त राख्न सचेत गराए । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । 

प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने स्पष्ट पारे ।