गाउँ जोगाउन तटबन्ध 

२०७६ असार १६ सोमबार १०:४८:००

०४० सालमा जमिन भासिएपछि अछामको मुलीका तीन सय परिवार बसाइ सरेर तराई झरे । त्यो वेला अरू पाँच सय परिवार गाउँ जोगाउन विकल्पको खोजीमा लागे । 
यहाँका बासिन्दाले तटबन्ध निर्माणका लागि मन्त्री, नेता, सांसद र सरकारी निकायमा धाउँदाधाउँदै ३४ वर्ष बित्यो । तर, उनीहरूको अनुनय कसैले सुनेनन् । त्यपछि सिम्लेटोल, जैसीगाउँ, काँडागाउँ, टाकावाडा र बुढागडाका दुई हजारभन्दा बढी स्थानीयले कमलबजार नगरपालिकामा पुगेर योजना माग गरे । 


नगरसभाले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गतको १९ लाख ४६ हजार एक सय र दुई लाख पाँच हजार पाँच सय ७१ रुपैयाँ बराबरको श्रमदान गर्नुपर्ने सर्त राख्यो । स्थानीयले सो सर्त स्वीकारे । योजना पास भएपछि अहिले मुलीका स्थानीयहरू तटबन्ध निर्माण गरेर गाउँ जोगाउन सफल भएका छन् । ‘जमिन भासिएर गाउँ पुरिने डरै डरमा हाम्रो आधा जिन्दगी सकियो,’ कमलबजार–१ मुलीकी ४६ वर्षीया सरू विष्टले भनिन्, ‘बर्खामा धेरै रात सुत्न पाइएन । गाउँ भासिएर मरिने होकि भन्ने डर लाग्थ्यो ।’ 

तटबन्ध निर्माणपछि भने जमिन, खोला र गाउँ सबैतिर फाइदा पुगेको उनले बताइन् । घट्टे खोलाले धार परिवर्तन गरेर गाउँतिरको भाग बगाउन थालेपछि लामो समयदेखि त्रासमा रहेका पाँच सय परिवार तटबन्ध निर्माण भएपछि ढुक्क छन् । अहिले उनीहरू तटबन्ध गरेको स्थानमा वृक्षरोपणको तयारीमा छन् । ‘तटबन्ध निर्माणपछि ढुक्कसँग बस्न सकिएको छ,’ बुढागडा चाहाखाल वायु इन्जिनियरिङ उपभोक्ता समितिका सचिव मीनबहादुर बटालाले भने, ‘अब वृक्षरोपण गरेर पहिरो रोक्ने योजना छ । त्यो काम पनि यहीँ वर्षभित्र सक्छौँ ।’ 

ठूलो दुर्घटना रोक्न तटबन्ध
प्राविधिक अध्ययनले पाखो जमिन, बस्ती र खेतबारी सबै जोखिममा परेको देखाएपछि तत्काल ठूलो घटना हुन नदिन पहिलो चरणमा तटबन्ध निर्माण गरिएको जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक कामना झाले बताइन् । ‘यो बस्ती निकै ठूलो जोखिममा थियो,’ उनले भनिन्, ‘तटबन्ध निर्माणपछि अहिले जोखिम  टरेको छ । अब यतिले मात्रै पुग्दैन । यहाँ वृक्षरोपणलगायत बस्ती जोगाउन गरिने अन्य क्रियाकलापमा पनि सरकारले सहयोग गर्नुपर्छ ।’ 

घट्टेखोला र चाहाखालको मध्यभागमा तटबन्ध निर्माण गरिएपछि त्योभन्दा माथि रहेका ६ टोलका पाँचसय परिवार त्रासबाट मुक्त भएको उनले बताइन् । उनका अनुसार तटबन्धलाई गुणस्तरीय र भरपर्दो बनाउन सय जना दक्ष कामदारलाई खटाइएको थियो । उनीहरूसँगै अन्य दुई हजार स्थानीयले तटबन्ध निर्माणमा श्रमदान गरेका थिए । योसँगै कमलबजार नगरपालिकाको वडा नम्बर ३ बयला, वडा नम्बर ७ सेरा र वडा नम्बर ८ ढाकुमा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गरिएको छ । यसले भिरालो जमिनमा रहेका बस्तीहरू सुरक्षित बन्दै गएको कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले बताए । 

‘तटबन्ध निर्माणपछि सबै बस्ती सुरक्षित बनेका छन्,’ उनले भने, ‘अब हामी योजनाबद्ध रूपमा वृक्षरोपण पनि गर्दै छौँ । त्यसले जमिन झन् बलियो हुनेछ ।’ जोखिममा रहेका अन्य ठाउँमा पनि तटबन्ध निर्माणका लागि पहल भइरहेको उनले बताए ।‘केही ठाउँका लागि बजेट व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘त्यसमा डिएफआइडी र युएनडिपीले पनि सहयोग गरेका छन् । अरू निकायमा पनि पहल भइरहेको छ ।’