मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ कार्तिक २९ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ कार्तिक २९ शनिबार १o:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुनको भाउले अझै उचाइ लिने अन्तर्राष्ट्रिय विश्लेषण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ कार्तिक २९ शनिबार १o:५८:oo
  • जब मुद्राले मूल्य गुमाउन थाल्छ, त्यतिवेला सुनलाई मुद्रास्फीतिको जोखिमबाट बचाउन सबैभन्दा राम्रो सम्पत्ति मानिन्छ

सुनको भाउले अझै उचाइ लिने अन्तर्राष्ट्रिय सचारमाध्यमले जनाएका छन् । विश्वव्यापी आर्थिक अनिश्चितता र विश्वका शक्तिशाली केन्द्रीय बैंकहरूले निरन्तर ब्याजदर कटौती गरिरहेका कारण सुनप्रति लगानीकर्ताको आकर्षण थप बढ्ने भएकाले मूल्य आकासिने विश्लेषण गरिएको हो ।

टाइम्स अफ इन्डियाले सुनको मूल्य अझै बढ्ने भविष्यवाणी गर्दै भनेको छ, ‘सुनको मूल्य फेरि बढ्दै छ । यसका पछाडि अमेरिकी फेडेरर रिजर्भ बैंकको ब्याजदर कटौतीको अपेक्षा र चीनको सुन कारोबार प्रमुख कारण हो ।’ विश्वव्यापी आर्थिक र भूराजनीतिक अनिश्चितता बढ्दै गएकाले लगानीकर्ता सुरक्षित क्षेत्रको खोजीमा रहेका छन् । सुनलाई संसारकै सबैभन्दा सुरक्षित लगानीको क्षेत्र मानिन्छ । त्यसैले ठुला लगानीकर्ता अहिले पनि सुनमा लगानी बढाइरहेका कारण मूल्य आकासिने क्रमले निरन्तरता पाइरहेको हो ।

अमेरिकी केन्द्रीय बैंकसहित अन्य देशले ब्याजदर कटौतीको नीति लिँदासमेत बैंकमा निक्षेप राख्दा फाइदा नहुने स्थिति छ । त्यसैले लगानीकर्ताले निक्षेप झिकेर सुनमा लगानी बढाइरहेका छन् । जसकारण सुनमा आधारित एक्सचेन्ज टेडेड फन्ड (इटिएफ)मार्फत सुनको मूल्य उच्च बनाइराखिएको छ । खासगरी लगानीकर्ता सेयर र ऋणपत्रजस्ता अनिश्चितताको क्षेत्रबाट बच्न पनि सुनमा लगानी गरिरहेका छन् । विश्वव्यापी रूपमा बढ्दै गइरहेको मूल्यवृद्धिले मुद्राको क्रयशक्ति घटाइरहेको छ । त्यसैले पनि सुनप्रतिको लगानी घट्न सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरर रिजर्भ बैंकको स्वतन्त्रतामा हस्तक्षेप गरेर ब्याजदर कम गर्न बारम्बार दबाब दिइरहेका छन् । डलर सस्तो बनाउने र अमेरिकी निर्यातलाई पनि सस्तो बनाएर विश्व बजारमा थप पकड कायम गर्ने उनको नीति अहिलेसम्म जारी छ । यो नीतिमा फेरबदल नआएसम्म सुनको भाउ क्रमिक रूपमा उकालो लागिरहने विश्लेषण गरिएको छ ।

अमेरिकाबाहिर बेलायतको पाउन्ड र जापानी येनमा समेत गिरावट आएको छ र यसले आर्थिक अस्थिरतालाई मद्दत मिलेको छ । जब मुद्राले मूल्य गुमाउन थाल्छ, त्यतिवेला सुनलाई मुद्रास्फीतिको जोखिमबाट बचाउन सबैभन्दा राम्रो सम्पत्ति मानिन्छ । किनभने, मुद्राको तुलनामा सुनको आपूर्ति सीमित परिमाणमा मात्रै हुने गर्छ । जसकारण सुनको मूल्यमा ह्वात्तै कमी आउने वा बढी हुने प्रवृत्ति कहिल्यै देखापरेको छैन ।