खोजिएको थियो, गीत गाएर आमूल परिवर्तन । भएन । मागिएको थियो राष्ट्रिय झन्डामा विवेकप्रेरित र संयमित क्रान्ति । राष्ट्रिय झन्डा त भयो, तर दोहोरियो उही बंगलादेश ।
सिंगो देशले अनुभूत गरिसकेको थियो, नेतातन्त्र केवल कमजोर छैन, पूरै कुहिसकेको छ । यति कुहिसकेको कि त्यसको बदनाम मरणको अन्तिम पृष्ठ मात्र लेखिन बाँकी थियो । अपराधीहरूले त्यो पनि केटाकेटीका रगतले लेखेर गए । विशेष गरी ओली र देउवाले आफ्नो भूमिका पूर्ण क्रूरता र अपराधका साथ पूरा गरे । तर, विद्रोहले ? यति ठुलो विष्फोटले पनि प्रश्न बाँकी नै राख्यो ।
फिलिपिन्समा २१ वर्षदेखि तानाशाही शासन चलाइरहेका फर्डिनान्ड मार्कोसविरुद्ध सन् १९८६ मा भएको पिपुल पावर रिभोलुसन चार दिनमा सफल भएको थियो र मार्कोस परिवारलाई अमेरिकी सैनिकले भगाएर हवाईको होनोलुलु पुर्याएका थिए । २४ भदौअघिसम्मको संसारकै राजनीतिक इतिहासमा त्यो सबैभन्दा कम समयमा सफल भएको विद्रोह मानिन्थ्यो । नेपालको जेन–जी विद्रोहले त्यो विश्व कीर्तिमान भत्कायो । दुईतिहाइको नशाले चुर केपी ओली र शेरबहादुर देउवाले युवाहरूले माइतीघर टेकेको २७ घन्टामै घुँडा टेके । एउटालाई सैनिक हेलिकोप्टरले भगायो, अर्का भिडबाट झन्डै मारिएनन् । जनताले एक दिन रमाइलो मान्यो, तर त्यो बलिदान, आक्रोश र क्षतिको परिणाम कति सन्तोषजनक भयो ?
यो पूरै प्रकरणका दृश्यमा जेन–जी भए पनि पटकथा त्यसले लेखेको होइन । पटकथा त नेतातन्त्र आफैँले लेखेको हो । प्रश्न यत्ति हो, दम्भ, कुशासन र भ्रष्टाचारको अत्यासलाग्दो अपराध–कथा यति ठूलो भौतिक र मानवीय क्षतिपछि पनि किन आंशिक घाइते मात्र भयो, मरेन ?
प्रधानमन्त्रीबाट राजीनामा गराएर निवासबाटै हेलिकोप्टरमा भगाएको जेन–जी विद्रोहलाई ब्यारेकबाट निस्केर ओलीले जम्माजम्मी ‘हा–हु’ भनेर होच्याउन किन सकेका छन् भने राज्य अझै उनीसँगै छ । सिंहदरबारमा जम्मा सातवटा कोठा फेरिएका हुन्, अरू जम्मै कोठामा अझै पनि ओली र देउवाहरू नै छन् । राज्यका सम्पूर्ण धमनीमा अहिले पनि त्यही विष बगिरहेको छ, जसका सर्जक ओलीहरू हुन् ।
कोही कुटिएको हेरेर, कोही लुटिएको हेरेर, कसैका घर जलेका हेरेर, शासकहरू भागेको हेरेर आउने ‘आनन्द’ ७० जनाभन्दा बढी नौजवानको बलिदानका अगाडि केवल परपीडक आनन्द हो । सिंहदरबारलाई बदल्नुपर्ने थियो, बदलिएन बरु जल्यो । बदल्नुपर्ने प्रशासन थियो, प्रशासनिक भवन खरानी भए । विद्रोह र अराजकताका सीमा मेटिए ।
अहिलेसम्म नसोधिएका र सोध्नुपर्ने धेरै प्रश्न छन् । बालेनले किन सुरुमै संसद् विघटनलाई सर्त बनाए ? लाखौँको जुलुसले घेरेर त्यही संसद्लाई परिवर्तनको निर्णय गर्न बाध्य बनाउने लोकतान्त्रिक विकल्प छाडेर बालेनले किन ‘प्रधानसेनापतिकहाँ जाऊ’ भने ? अरू वेला फोहोरको बिल पठाउने चलन थियो महानगरको । भदौ २४ गतेको फोहोरको बिल कति हो ? कसको हो ? र, कसलाई पठाउने हो ?
संसारका हरेक विद्रोह अन्तिममा सम्झौताकै मेचमा पुग्छन् । रस्साकस्सी हुन्छ, लेनदेन हुन्छ । विद्रोहको शक्तिले मात्रै विद्रोहको औचित्य पुष्टि गर्दैन, औचित्य त परिणामबाट पुष्टि हुनुपर्छ । अब यो स्वीकार गर्नुको कुनै विकल्प छैन, गलत नेतृत्व र गलत रणनीतिका कारण संसारमै कीर्तिमान कायम गरेको यति ठुलो जेन–जी विद्रोह जम्माजम्मी मध्यावधिको अत्यन्त सानो उपलब्धिमा टुंगियो ।

जेन–जीलाई के लाग्छ, ओलीहरूको निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिएर मालिकहरूको चिहान खन्न तयार हुन्छ ? जेन–जीलाई के लाग्छ, ओलीहरूको अख्तियार रातारात पवित्र भएर आफ्नै मालिकहरूको छानबिन गर्न तयार हुन्छ ? जेन–जीलाई के लाग्छ, ओलीहरूको धितोपत्र बोर्ड अब सुध्रिन्छ र नयाँ स्टक एक्सचेन्जको आपराधिक खेलबाट पछाडि फर्कन्छ ? जेन–जीलाई के लाग्छ, ओलीहरूको अदालत हिजो पार्टी कार्यालयहरूमा खाएका शपथ बिर्सेर अब न्याय र विवेकतिर फर्कन्छ ? जेन–जीलाई के लाग्छ, ओलीहरूको कर्मचारीतन्त्र अलिकति पनि सुध्रिन्छ र परिवर्तनलाई आत्मसात् गर्छ ? जेन–जीले फेरेको जलेको सिंहदरबारमा जम्मा सातवटा कोठा हो । त्यो बढीमा ११ पुग्ला, १२ पुग्दैन । अरू सबै कोठामा अहिले पनि ओलीहरूकै आत्मा छ । त्यसैले त उनी अझै पनि जनतालाई धम्क्याइरहेका छन् ।
बंगलादेशमा शेख हसिना वाजेद देश छाडेर भागेको महिनौँपछि पनि उनका छोरा सजीव वाजेद भारतीय टेलिभिजनहरूमा अन्तर्वार्ता दिँदै हिँड्थे— उनकी आमा नै बंगलादेशकी आधिकारिक प्रधानमन्त्री हुन् किनकि उनले राजीनामा दिएकै छैनन् । उनले अभैm यो स्वीकार गर्न सकेका थिएनन् कि क्रान्तिको वेदीमा राजीनामा इतिहास आफैँले लेख्छ र खोस्छ, कसैले दिनुपर्दैन । राजीनामा दिनु दुई दिनअघिसम्म ‘जेन–जी भनेको के ठगी खाने भाँडो हो ?’ भनेर होच्याइरहेका ओली दबाबमै सही, आफैँले सहमति दिएको अन्तरिम सरकारलाई ब्यारेकबाट निस्केको दुई दिनपछि ‘हा हु’ सरकार भन्दै छन् । हरेक प्रतिक्रान्तिले मौका पाएसम्म शिर उठाउँछ, ओली अपवाद होइनन् । तर, यति छिट्टै शिर उठाउन केले शक्ति दियो त ओलीलाई ? अहिलेकै राज्यसत्ताले ।
जेन–जी विद्रोहले नेपाली समाजको पेसेवर क्षेत्रको पनि धेरै पोल खोलेको छ । यसले देखायो खासमा राजनीति मात्र होइन, देश नै कुहिसकेको रहेछ । जम्मा ११ जना निर्विवाद र प्रतिष्ठावान् पात्र जुटाउन नसकेर अन्तरिम सरकार अझै पूरा भएको छैन । ‘यसले विश्वविद्यालय सानदार चलाएको थियो, यसलाई शिक्षामन्त्री बनाऊँ’ भन्ने एउटै उपकुलपति रहेनछ । ‘यो राम्रो गभर्नर थियो, राम्रो अर्थमन्त्री बन्न सक्छ’ भन्ने एउटै गभर्नर रहेनछ । ‘यसले पर्यटन बोर्ड वा नेपाल एयरलाइन्स वा पोखरा एयरपोर्ट राम्ररी चलाएको थियो, पर्यटनमन्त्री बनाऊँ’ भन्ने एउटै व्यवस्थापक समाजले देखेको रहेनछ । यो देशभक्त उद्योगी हो, जसरी पनि उद्योगमन्त्री बनाउनुपर्छ भन्ने एउटै उद्योगी रहेनछ । त्यस्ता चिकित्सक, त्यस्ता प्रशासक, त्यस्ता कानुनविद्, त्यस्ता विकासविद्, त्यस्ता प्रोफेसर हामीसँग रहेनछन् । नेतातन्त्रले समाजका हरेक अंगको आत्मा र प्रतिष्ठा मारिसकेको रहेछ । त्यसले केवल दलाल जन्माएको रहेछ ।
प्रहरीकै कुरा गरौँ । एउटा इन्स्पेक्टरलाई डिएसपी हुँदासम्म यिनीहरूले प्रहरी रहन दिँदैनथे । अपराधी समातेर डिएसपी भइँदैनथ्यो, नेता समात्नुपथ्र्यो । नेता समाउन पहिला नेविसंघ, अखिल, सालो, भेना, स्वकीयसचिव, जेठान, काका समाउन खोज्दाखोज्दै एउटा प्रहरी मरिसक्थ्यो, बिचौलिया मात्र बाँकी रहन्थ्यो । यो केवल प्रहरीको रोग थिएन । राम्रो पढाएर हेडमास्टर भइन्नथ्यो, नेता फकाएर मात्र भइन्थ्यो । निजामतीदेखि शिक्षा सेवासम्म यही विष थियो । त्यसैले यत्रा विश्वविद्यालयका यति लामो समयका कुनै उपकुलपतिलाई कसैले सम्भावित शिक्षामन्त्री मानेन । जेन–जीलाई सोधैँ– के अब फरक हुनेछ ? कसरी फरक हुनेछ ?
बिदाकै दिन देउवादम्पतीले ओछ्यानमै पाएको रातो पासपोर्टले सिंहदरबार जलेको मात्रै हो, फेरिएको होइन भन्छ । अहिलेको सिंहदरबार स्थायी सरकार होइन, स्थायी भ्रष्टाचार हो, स्थायी प्रशासन होइन, स्थायी कुशासन हो । जेन–जीले सिंहदरबार घेरेर पियनदेखि मुख्यसचिवसम्मको राजीनामा र पुनर्नियुक्ति माग्न सक्थे । विद्रोहसँग त्यो शक्ति पनि थियो । त्यो मौका चुक्यो । अब तिनै बासी र भ्रष्ट हातले लेख्ने तिनै जुठा टिप्पणीमा केवल फरक मन्त्रीका हस्ताक्षरले बदलिन्छ देश ?
अन्तरिम सरकार आज लगभग प्रश्नभन्दा माथि छ । तर, केही दिनमै यो सुविधा सकिनेछ । जनताले सोध्नेछ, आन्दोलन तपाईंहरूले गरेको त होइन, युवाहरूको रगतको मूल्य के पाइयो मन्त्रीज्यू ? अनि नयाँ सरकारले भन्नैपर्छ, दलाई लामाले शुभकामना किन दिए ? हामी न खालिस्तानका शुभकामना पचाउन सक्छौँ, न निर्वासित तिब्बती सरकारका । अरू त केही हासिल भएन, विद्रोहको एउटै चिनो यही सरकार छ । समाजलाई अगाडि लैजाने सबै शक्तिसँग सहकार्य गर्न चाहेन भने अन्ततः ओलीहरूले चाहेको षड्यन्त्रको सिद्धान्त स्थापित हुनेछ र यो सरकारका सदस्यहरू भूराजनीतिक खेलका प्यादा मात्र मानिनेछन् ।
खासमा जेन–जी विद्रोह आवेगमा सफल र विवेकमा कमजोर भयो । त्यसैले त्यो धक्काको दूरगामी प्रभाव परेन । मिडिया नै हेरौँ, जलेको सिंहदरबारभन्दा युलेन्स स्कुलका लागि धेरै माफी मागिरहेको छ । सडकमा केटाकेटीका रगतका टाटा सुकिसकेका छैनन्, बौद्धिकहरू केवल षड्यन्त्रका पटकथा रचिरहेका छन् । अरू त अरू, यो विध्वंशका मुख्य खलनायक केपी ओली नै सिंगो देश जलाएर नपुगेर थप देशभक्ति सिकाइरहेका छन् । वास्तविकता के हो भने यो देश एकपटक पूरै तदर्थ नभई बदलिन्न । पूरै कर्मचारीको छटनी नगरी कसले सुधार्न सक्छ नेपाल एयरलाइन्स ? पूरै देश नेपाल एयरलाइन्स भइसकेको छ । श्रेस्तेदारदेखि प्रधानन्यायाधीशसम्म, पियनदेखि उपकुलपतिसम्म हरेक क्षेत्रका हरेक पदको पुनर्नियुक्तिविना देश बदलिन्न । हामीले तत्कालका लागि त्यो मौका गुमायौँ ।
रह्यो, ओलीहरू सुध्रने कल्पना । त्यो छाडौँ । देश जवाफदेहिता र पारदर्शिताको यति धेरै भोको थियो, तर यिनीहरू अन्तिमसम्म पनि खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराउँदै थिए । मन्त्रीको गाडीबाट झन्डै किचिएकी अबोध बालिका यिनीहरूलाई विधान सम्मेलन बिथोल्ने षड्यन्त्रकारी लाग्थिन् । विवेक र करुणा दुवै गुमाएका, तर उन्माद र अहंकारमा डुबेका नरपशु भइसकेका थिए यिनीहरू । २४ गतेपछिका केही दिन यिनले भोगेको त्रासलाई खुच्चिङ भन्न त सकिएला, तर क्रान्तिले खुच्चिङ होइन, परिणाम हेर्नुपर्छ ।
१७ असार २०८१ को ‘ऐतिहासिक’ सातबुँदे सहमतिअनुसार केपी ओलीले शेरबहादुर देउवालाई आगामी असारको ३१ गते प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने थियो । तर, उदार ओलीले एक साताअघि नै छाड्छु भनेका थिए । दयालु महासचिव शंकर पोखरेल थप तीन दिनअगाडि पनि हुन सक्छ भनिरहेका थिए । विधान अधिवेशनमा विद्यालाई रोकेर चक्रवर्ति भएका ओली र त्यही शैलीमा कार्यकाल थप्ने तयारीमा रहेका देउवा इतिहास उनीहरूविना लेखिँदैन भन्नेमा ढुक्क थिए । खासमा यो पनि उनीहरूकै दम्भ, कुशासन, भ्रष्टाचार, पक्षपात र अपराधको कालो इतिहास हो ।
आक्रोशको एउटा आँधी आयो र त्यसले राजनीतिमा थोरै सपारेर र पूर्वाधारमा धेरै बिगारेर गयो । हामीले विद्रोहको जति ठुलो शक्ति देख्यौँ, त्यति ठुलो उपलब्धि देखेनौँ । न भित्र–बाहिरका खेल सकिए, न जनताको आक्रोशको खिल निस्कियो, न देशले समाधान पायो । क्रमशः कायमै रह्यो ।