मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ असोज ४ शनिबार २o:३२:oo
Read Time : > 1 मिनेट
फिचर

भीमदत्त नगरका मेयर बोगटी : प्रजातन्त्रका लागि लडे, प्रजातन्त्रकालमै घर बन्यो खरानी 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार २o:३२:oo

कांग्रेस नेता पदम बोगटीले पञ्चायतविरुद्धमा घरभित्रैबाट विद्रोह गरेका थिए । ०२० तिर तत्कालीन महेन्द्रनगर आदर्श गाउँ पञ्चायतको नेतृत्वमा आफ्नै बुबा स्व. भवानसिंह बोगटी भए पनि पञ्चायतको विरोध र प्रजातन्त्र पुनर्स्थापनाका लागि समाजको नेतृत्व गरेका थिए। त्यही विद्रोही आवाजबाट उनी राजनीतिमा स्थापित भएका थिए। 

राजनीतिमा लागेर उनले नामबाहेक केही कमाएका थिएनन्। पुर्खाले आर्जेको सम्पत्ति बेच्दै राजनीति गर्दै आएका सादगी नेता रूपमा उनी राजनीतिक वृत्तमा चिनिन्छन् । यो नाम जिल्लाभित्र मात्रै होइन, देशभर स्थापित छ । कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीतिमा होमिएका बोगटीले सम्पत्ति जोड्नेतर्फ कहिल्यै लोभ देखाएनन्, बरु राजनीतिमा लागेर पुर्खाले जोगाएका सम्पत्ति घटाए। 

बोगटी अहिले भीमदत्त नगरका मेयर तथा कांग्रेस कञ्चनपुरको सभापतिको जिम्मेवारीमा छन्। भ्रष्टाचारविरुद्ध गत २३ भदौमा जेन–जीले गरेको आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि दोस्रो दिन कञ्चनपुरमा पनि आन्दोलन चर्कियो। २४ भदौमा चर्किएको आन्दोलनमा सहभागीले तत्कालीन गृहमन्त्री रमेश लेखकको कन्चनपुरमा रहेको घर जलाए। यसपछि आन्दोलनकारीको निसानामा तत्कालीन सत्ताधारी कांग्रेस, एमालेका नेताका निजी एवं व्यवसायीक घर परे। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका तत्कालीन गृहमन्त्री लेखकको घर जलाएपछि एक हुल भीमदत्त नगरका मेयर पदम बोगटीको बजार र गाउँको घरतिर हुइँकियो। 

कांग्रेस १४औँ महाधिवेशनमा पार्टी जिल्ला सभापति लेखक क्याम्पबाट बोगटी उठेकोदेखि सत्ताधारी दलका नेता, मेयर भएकै कारण भीनपा–२, उल्टाखाम (महुलिया)स्थित बोगटीको घरमा आगो झोसिदिए। बजारकोे व्यावसायिक घरमा ढुंगा, मुढा, लाठी प्रहारबाट सिसा तोडफोड गरिदिए। 

नातिनातिनासहित घरपरिवारका सदस्यहरू बस्ने गाउँको घरमा आन्दोलनकारीले आगजनी, तोडफोड, लुटपाट गरेर स्व. बाबु भवान सिंहले बनाएको घर खरानीमा परिणत गरिदिए । घरमा रहेका लत्ताकपडासमेत बाँकी नराखेर आन्दोलनकारीले बोेगटीकोे घर ध्वस्त पारिदिएपछि सिंगो परिवार अहिले विस्थापित भएको छ।

मेयरका छोरा आशिष बोगटीले बाबुले राजनीति गरेर ०७९ सालमा मेयर बन्नुबाहेक केही नपाएको बताए । ‘हाल बस्दै आएको घर जमिन बुबाले कमाएको होइन, पुर्खाको सम्पत्ति हो, राजनीतिमा लागेर बाबुले उल्टै घर परिवारलाई समय पनि दिनुभएको छैन, जहिल्यै देश जनताका लागि खटिएका हुन्थे,’ उनले भने, ‘बुबाले कमाइभन्दा भएको सम्पत्ति गुमाएका मात्र छन्, बस्दै आएको घर पनि बुबाले बनाउनुभएको होइन, हजुरबाबुले नै हो, आन्दोलनकारीले बुबाको बारेमा जानीजानी आगो झोसिदिए।’

बोगटी तिनै नेता हुन्, अहिलेका जेन–जी पुस्ताले उठान गरेका माग चार दशकदेखि उठाउँदै आएका थिए । उनी जनताको अधिकार स्थापित गराउन तत्कालीन पञ्चायती व्यवस्था कालदेखि हालसम्मै संघर्ष गर्दै आएका थिए । पञ्चायती व्यवस्थाविरुद्ध लड्न उनले आफ्नै बाबु पूर्वप्रधानपञ्च भवानसिंह बोगटीविरुद्ध घरबाटै विद्रोह गरेका थिए। नेता बोगटीलाई पञ्चायतले समेत यस्तो अन्याय नगरेको तर जेन–जीका नाममा अमानवीय काम गरेको स्थानीयवासी बताउँछन्। 

बुबा भवानसिंहले नेतृत्व गरेको तत्कालिन महेन्द्रनगर आदर्श गाउँपञ्चायतबाट महेन्द्रनगर हुँदै पछिल्लो भीमदत्त नामाकरण गरिएको नगरपालिकाको नेतृत्व अहिले उनै भवानसिंहका छोरा पदम बोगटीले गरिरहेका छन् । ०७४ मा मेयरमा पराजित बोगटी ०७९ मा निर्वाचित भएका थिए । बोगटीको निजी घर खरानीमा परिणत भए पनि उनी कांग्रेस कञ्चनपुरको जिल्ला सभापति भएकाले पार्टीका तर्फबाट जिल्लाभरी आन्दोलनबाट क्षतिग्रस्त र मेयर भएकाले भीमदत्त नगरपालिकाभरी स्थलगत अनुगमन गर्दै सान्त्वना र पूनर्निर्माणको अभियानमा जुटेका छन् । मेयर बोगटीले यो विषय परिस्थितिमा धैर्य भएर संविधानको रक्षा र शान्तिका लागि अपिल गरिहेका छन् ।