
सिराहाको लहान नगरपालिका- २३, गाढा गाउँमा धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ।
सार्वजनिक बिदाको दिन भएकाले शनिबार बिहान करिब साढे ११ बजेतिर घरनजिकैको खेतमा रोपिएको धानमा पानी पटाउन विद्युतीय मोटर चलाउन पुगेका करिब ३८ वर्षीय बिजेन्द्रकुमार सहनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल ल्याएका थिए।
अस्पतालमा ल्याएलगत्तै इसिजी जाँच गर्ने क्रममा करिब १२ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहीका अनुसार उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
लहान नगरपालिका- १९, सोनमती गाढास्थित जनता मा.वि.मा कार्यरत शिक्षक सहनी उत्कृष्ट शिक्षक रहेको गाउँलेहरु बताउँछन्। शिक्षक, विद्यार्थी, स्थानीय अभिभावकको मन जितेका समाजप्रति समर्पित शिक्षकको निधनले विद्यालय परिवारसँगै सिंगो गाउँ शोकमा डुबेको पत्रकारसमेत रहेका स्थानीय वीरेन्द्रप्रसाद नेपालले बताए।
कर्मठ, पेशाप्रति प्रतिबद्ध र इमान्दार शिक्षक गुमाउनुपर्दा विद्यालय र समाजका लागि अपूरणीय क्षति भएकोमा स्थानीय स्तब्ध भएको उनले बताए ।