मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ असोज ४ शनिबार १४:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संकटमा मधेशका मुख्यमन्त्री सिंह

राजीनामा नदिएपछि आफ्नै पार्टीले सोध्यो स्पष्टीकरण, पद छाड्न अन्य दलहरूको सुझाव

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार १४:o२:oo

राजीनामा नदिने अडानमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्नै पार्टी जनमतले स्पष्टीकरण सोधेको छ ।

उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र पठाएर मुख्यमन्त्री सिंहलाई राजीनामा नदिनुको कारण तीन दिनभित्र पेश गर्न भनेका हुन् । ‘तपाईंलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्नु हुन अनुरोध छ ’, अनुशासन समितिको पत्रमाउल्लेख छ ।’

मधेश प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मुख्यमन्त्री र मन्त्रीहरुलाई बोलाइएको पत्र प्रदेश प्रमुख कार्यालय र प्रदेश सभामा सचिवालयमा दर्ता गराइए पनि राजिनामा नदिएको पत्रमा उल्लेख छ । ‘तपाई स्वय्मले सामाजिक सञ्जालमार्फत राजिनामा दिएकामा समेत अवहेलना गर्दै तपाईले मुख्यमन्त्री पदबाट राजीनामा किन नदिएको’ भन्दै स्पष्टीकरण सोधिएको छ ।

अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हितविपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पु¥याएको हुँदा स्पष्टीकरण सोधेको अनुशासन समितिले जनाएको छ ।
जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले पार्टीको निर्देशन विपरित मुख्यमन्त्री सिंह पदबाट राजिनामा नदिएको भन्दै कारवाहीका लागि पार्टीलाई सिफारिस गरेका थिए ।  यस विषयमा बुझ्न खोज्दा मुख्यमन्त्री सिंहले फोन उठाएनन् ।

मुख्यमन्त्री राजीनामाको विषयमा के भन्छन् अन्य दलका साँसदहरु ?

मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टीका संसदीय दलका नेता  सरोजकुमार यादवले पार्टी नै फिर्ता बोलाएकाले मुख्यमन्त्री सिंहले राजिनामा दिनुपर्ने बताए । ‘मुख्यमन्त्रीज्यु स्वय्मल समाजिक सञ्जालमार्फत पहिला राजिनामाको घोषणा गर्नुभएको हो । त्यसपछि दिएको छैन भन्नुभयो । पार्टीले पनिउहाँलाई फिर्ता बोलाएको निर्णय गरिसकेले राजीनामा दिन अनुरोध गर्छु । किनभने बहुदलीय व्यवस्था व्यक्ति महत्वपुर्ण हुदैन । पार्टी महत्व राख्छ,’ उनले भने ।

सत्तारुढल एमाले प्रमुख सचेतक हरिनारायण महतोले पनि मुख्यमन्त्री सिंहलाई राजिनामा दिन सुझाएका छन् । ‘मुख्यमन्त्री सिंहले राजिनामा दिएको दुनियालाई खबर छ । उहाँको पार्टीले पनि फिर्ता बोलाएको निर्णय गरेको अवस्थामा उहाँले नैतिक हिसाबले पनि राजिनामा दिनुपर्ने हो,’ उनले भने ।

माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले पनि नैतिकताको आधारमा मुख्यमन्त्री सिंहलाई राजिनामा दिनुपर्ने बताए । ‘अहिले राजनीतिक दलमा नैतिकताको खडेर परेर नै जेन–जीको आन्दोलन भएको हो । अहिले मुलुकमा राजनीतिक दल सुध्रिनुपर्छ भन्ने बहस भइरहेको बेला मुख्यमन्त्री सिंहले पद लोभमा लाग्नु उपयुक्त देखिएन,’  उनले भने । 

किन राजिनमा दिन चाहदैनन् मुख्यमन्त्री सिंह ?
मुख्यमन्त्री सतिसकुमार सिंहले जेनजी आन्दोलनताका २४ भदौमा राजीनामाको घोषणा गरेका थिए । तर, पछि आन्दोलन मत्थर भएपछि उनले राजीनामा फिर्ता लिएका थिए । 

मुख्यमन्त्री सिंहको एक निकट एक सांसदले भने,‘ संघीयता र प्रदेश खारेजको विषय उठिरहेको वेला मुख्यमन्त्रीले अहिले राजिनामा दिनु उचित हुदैन । उहाँलाई थाहा छ, विश्वासको मत पाए पनि ठिकै हुन्छ नपाए पनि केहि हुदैन । तर एउटा प्रक्रियाअनुसार नयाँ सरकार गठन हुन्छ । तर अहिलेको अन्यौलको अवस्थामा राजिनामा दिएपछि प्रतिगामीशक्तिको चलखेल हुन्छ कीभने डरले उहाँ राजिनामा दिन चाहिराख्नु भएको छैन ।’ उनका अनुसार मुख्यमन्त्री सिंहलाई एमाले, कांग्रेस र लोसपाका केहि साँसदले विश्वासको मत लिन सहयोग गर्ने आश्वासन दिएका छन् । त्यस कारण पनि उनी राजिनामा नदिने अडानमा छन् ।
 

जनमतका ६ नेताले छाडे पार्टी  

जनमतका ६ जना नेताहरूले पार्टी छाडेका छन् । । अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख समेत रहेका उनका दाई जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन बुधवार अल्टिमेटम दिएका थिए । तर, पार्टी नेतृत्वले वास्ता नगरेपछि वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् । 

भदौ २३ र २४ मा भएको जेनजीको आन्दोलनपछि राजनीतिक दलका नेतृत्व हस्तान्तरणको विषयमा बहस सुरु भएपछि उनीहरुले आफ्ना पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका थिए ।

मधेश प्रदेश सभामा सुचारु गर्न दलको माग

प्रमुख प्रतिपक्षी दल जसपा नेपालसहितका दलले मधेस प्रदेश सभा सञ्चालनका लागि प्रदेश सभामुख रामचन्द्र मण्डललाई आग्रह गरेका छन् ।

२४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त अवस्थामा रहेको प्रदेश सभाको निरीक्षण पश्चात उनीहरुले सभा सुचारु गर्न सभामुखसँग आग्रह गरेका हुन् । क्षतिग्रस्त अवस्थामा रहेको प्रदेश सभामा अहिले सरसफाई र मर्मत सम्भारको काम भइरहेको छ । 

प्रदेश सभामुख मण्डलका अनुसार प्रदेशसभामा आगजनी र तोडफोडबाट करिब ३० देखि ४० करोडको क्षती भएको छ ।
जसपा नेपालका संसद दलका नेता सरोजकुमार यादवले जेन–जीले प्रदेशसभा आगजनी नगरेको दाबी गर्दै संघीयता विरोधीतत्त्वले मुलुकभर विध्वंस मचाएकाले र त्यसको जवाफ दिन वर्तमान अवस्थामामै  सभा सञ्चालन हुनुपर्ने बताए । मधेस प्रदेश संघीयताको जननी रहेको र संकटको बेला प्रदेशसभा अवरुद्ध हुँदा राम्रो सन्देश नजाने उनको भनाइ छ ।
एमाले प्रमुख सचेतक हरिनारायण महतोले प्रदेश सभाको बैठक चाँडै नै राख्न सभामुखसँग आग्रह गरे । माओवादी सांसद युवराज भट्टराईले पनि प्रदेश सभा सञ्चालन हुनुपर्ने माग गरे  सभामुख मण्डलले अन्य दलहरूसँग सल्लाह गरेर चाँडै नै प्रदेश सभाको बैठक बोलाउने बताए ।