Skip This
इथियोपियाको नयाँ मेगा बाँधले ‘हर्न अफ अफ्रिका’मा तनाव
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नोस्मोट गबाडामोसी
Invalid date format ११:o८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इथियोपियाको नयाँ मेगा बाँधले ‘हर्न अफ अफ्रिका’मा तनाव

Read Time : > 3 मिनेट
नोस्मोट गबाडामोसी
नयाँ पत्रिका
Invalid date format ११:o८:oo
  • नयाँ बाँध सञ्चालन भएसँगै नाइल नदीको पानीमाथि अदिस अबाबाको नियन्त्रण कायम भएको छ । तल्लो भेगका देश आफ्नो पानी आपूर्तिमा खतरा भएको भन्दै रुष्ट बनेका छन् ।

इथियोपियाले गत मंगलबार अफ्रिकाको सबैभन्दा ठुलो जलविद्युत् बाँध सुचारु गर्‍यो । योसँगै नाइल नदीमाथि इजिप्टको एकल नियन्त्रण समाप्त भएको छ । १४ वर्ष लगाएर निर्माण भएको यो पाँच अर्ब डलरको विवादास्पपद ‘ग्रान्ड इथियोपियन रेनसाँ ड्याम (जिइआरडी)ले काम सुरु गरेसँगै इथियोपियाको विद्युत् उत्पादन क्षमता दोब्बर भएको छ । यसले करिब ६ करोड इथियोपियालीको बिजुली पहुँच बढाउने लक्ष्य राखेको छ ।

यस जलविद्युत् परियोजनाको कुल क्षमता पाँच हजार १५० मेगावाट हो । इथियोपियाले यसबाट उत्पादित सस्तो बिजुली छिमेकी केन्या, तान्जानिया र जिबुतीलाई समेत बेच्ने योजना बनाएको छ । त्यसमार्फत इथियोपियाली सरकारले चालू आर्थिक वर्षमै ४२.७ करोड अमेरिकी डलर राजस्व आर्जन गर्ने लक्ष्य राखेको छ । बाँधको उद्घाटन समारोहमा केन्याली राष्ट्रपति विलियम रुटो आफैँ उपस्थित पनि थिए ।

तर, सबैजना यस गर्डप्रति खुसी भने छैनन् । पानी आपूर्ति पूर्णत: नाइल नदीमा निर्भर इजिप्ट पनि रुष्ट छ । नदीको लगभग ८० प्रतिशत पानी इथियोपियाबाट बाहिरिन्छ । इजिप्ट गर्डले यसको पानी सुरक्षालाई खतरामा पारेको बताउँछ । कायरोले पहिले इथियोपियाको निर्माण रोक्न सैन्य हस्तक्षेपको विचार प्रस्तुत गरेको थियो । ९ सेप्टेम्बरमा नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई एक पत्र लेख्दै इजिप्टले ‘आफ्ना जनताको अस्तित्व बचाउन’ कारबाहीमा उत्रिने चेतावनी दिएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले लेखेको पत्रमा ‘कायरोले नाइल नदीमा आफ्नो हितलाई आँखा चिम्लनेछ भन्ने भ्रम कसैले नराखे हुन्छ’ भनिएको छ । 

इजिप्टले लामो समयदेखि बेलायत र आंशिक रूपमा ब्रिटिस उपनिवेश रहेको इजिप्टबिच सन् १९२९ मा भएको सन्धिअन्तर्गत नाइल नदीको अधिकांश पानी नियन्त्रण गर्दै आएको छ । त्यस सन्धिले नाइल नदीको जुनसुकै भागमा हुने पूर्वाधार निर्माणमाथि इजिप्टले भिटो प्रयोग गर्न सक्ने अधिकार दिएको छ । यो अधिकार इजिप्टको सीमाबाहिरका परियोजनाका हकमा समेत लागू हुनेछ । सुडानले पछि सन् १९५९ मा इजिप्टसँग सम्झौतामा हस्ताक्षर गर्दै नाइल नदीको जल प्रवाहमा इजिप्टको हिस्सा ५७ प्रतिशतबाट बढाएर लगभग ६६ प्रतिशत पुर्‍याउन सहमति जनायो । 

तर, रुवान्डा, तान्जानिया, युगान्डा र इथियोपियालगायत नाइलका माथिल्लो भेगका देशलाई नदीको पानीमा शून्य हिस्सा दिइएको थियो । आफूहरूलाई नसोधी औपनिवेशिक युगमा भएका सम्झौताले आफूहरूलाई बाँध्न नसक्ने ती देशको तर्क छ । सन् २०२४ सम्ममा यीमध्ये पाँच देशले नयाँ सन्धिमा हस्ताक्षर गरे । तर, इजिप्ट र सुडानले सो सन्धि नमान्ने घोषणा गरेका छन् । गर्ड सुचारु भएसँगै इथियोपियाले अब नाइल नदीमाथि नियन्त्रण कायम रखेको छ । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले गर्डलाई राष्ट्रिय गौरवको मुद्दाको रूपमा प्रस्तुत गर्दै ‘यस परियोजनाले इथियोपियाको भूराजनीतिक महत्वहीनता अन्त्य गरेको’ बताए ।

‘इथियोपियालाई आफ्नो भूमिमा बाँध बनाउन कसैले रोक्न हुँदैन । र, इजिप्टले यसमा डरधम्की दिने काम गर्नुहुँदैन भन्ने विचार व्यापक रूपमा इथियोपियालीले स्वीकार गरेका छन्,’ इन्टरनेसनल क्राइसिस ग्रुपका हर्न अफ अफ्रिका परियोजनाका उपनिर्देशक म्याग्नस टेलरले रोयटर्सलाई भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले गर्डको निर्माण रोक्न दबाब दिएको थियो । दबाबका लागि अमेरिकाले इथियोपियालाई दिँदै आएको आर्थिक सहायता नै घटाएको थियो । अमेरिकाको एक प्रमुख सहयोगी राष्ट्र इजिप्ट अमेरिकी विदेशी सहायता र सैन्य सहायताको सबैभन्दा ठुलो प्राप्तकर्तामध्ये एक हो । तर, अमेरिकाले वित्तीय सहयोग रोके पनि इथियोपियाले बाँध निर्माणका लागि आवश्यक लगानी उठाउन देशवासी र विदेशमा रहेका इथियोपियाली डायस्पोरामाझ आह्वान गर्‍यो । धेरै इथियोपियालीले सरकारले बिक्रीमा राखेको लोकप्रिय बन्ड खरिद गरे । 

पछिल्लो समय जुलाई महिनामा ट्रम्पले फेरि यस विवाद समाधानका लागि आफ्नो सरकारले इजिप्ट र इथियोपियाबिच ‘छलफल गरिरहेको’ बताए । जुन महिनामा गएर ट्रम्पले बाँधमाथि बाइडेन सरकारले ‘मूर्खतापूर्ण’ लगानी गरेको आरोप लगाए । लगत्तै ट्रम्पको दाबीलाई अदिस अबाबाले खण्डन गर्‍यो । ‘आठ वर्षअघि इथियोपिया र इजिप्टबिच मध्यस्थता गर्ने आफ्नो प्रयास पालना नगरेकोमा ट्रम्पले इथियोपियाविरुद्ध रिस मात्र पोखेका हुन्,’ गर्ड सम्बन्धमा भएको वार्तामा इथियोपियाको प्रतिनिधित्व गरेका वार्ताकार फेकहमेद नेगासले भने ।

२१औँ शताब्दीको सुरुवातदेखि इथियोपियाले चीनबाट आर्थिक सहयोग बढाएको छ । बेइजिङले बाँधसँग जोडिएका केही पूर्वाधार, जस्तै– पावर लाइनमा लगानी गरेको थियो । यसमा चीनको निर्यात–आयात बैंकले ऋण प्रदान गरेको थियो । इथियोपियाली बाँधले पानी सुरक्षामाथि असर गर्ने इजिप्टको चिन्ता अतिरञ्जित भएको बताउँछन् । बाँधलाई लिएर कायरोको आक्रोश खासमा उसको भूराजनीतिक महत्वाकांक्षाबाट प्रेरित भएको इथियोपियाली ठान्छन् । तर, इजिप्टले भने गर्डमा पानी भर्ने प्रक्रियाले सुडानलाई अहिले नै पानीको अभाव गराएको तर्क गरिरहेको छ । बाँधसँग जोडिएको विवादले हर्न अफ अफ्रिकाभरि तनाव बढाउने सम्भावना छ । सन् २०२४ मा इथियोपियाले लालसागरको बन्दरगाहमा पहुँचका लागि सोमालियाबाट अलग्गिएको क्षेत्र सोमालिल्यान्डसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो । त्यस सम्झौताले सोमालियालाई इरिट्रिया र इजिप्टसँग मिलेर इथियोपियाविरुद्ध प्रतिरोधी गठबन्धन बनाउन प्रेरित गर्‍यो । 

सोमालियाले टर्कीको मध्यस्थतामा भएको अर्को सम्झौतामा इथियोपियासँग शान्ति सम्झौता गरेको छ । तर, इथियोपिया र यसका छिमेकीबिच शत्रुता पूरै अन्त्य भएको छैन । भर्खरै अरब लिगले इजिप्ट र सुडानको पानी अधिकारको पक्षमा उभिँदै एक विज्ञप्ति जारी गरेको थियो । वक्तव्यविरुद्ध सोमालियाका लागि इथियोपियाका राजदूत सुलेमान डेडेफोले तीव्र असन्तुष्टि व्यक्त गरे । ‘इजिप्टको पक्ष लिएर इथियोपियालाई धम्क्याउन र इथियोपियालाई आफ्नै स्रोत उपभोग गर्न इजिप्टको अनुमति माग्न निर्देशन दिन ‘अरब लिग’सँग कुन कानुनी वा नैतिक आधार छ ?’ डेडेफाले समाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन् ।

फरेन पोलिसीबाट

गबाडामोसी मल्टिमिडिया पत्रिकार हुन् ।