
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन–जीको प्रदर्शनका क्रममा २३ र २४ भदौ भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त पोखराका सरकारी कार्यालयहरूको निरीक्षण गरेका छन्।
मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेश सभा, मुख्यमन्त्रीनिवास, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलगायतको मंगलबार स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले तोडफोड र आगजनीका कारण प्रदेशमा धेरै क्षति पुगेको बताए । उनले ती संरचनाको पुनर्निर्माणमा जुट्न सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न अपिल गरेका छन् ।
प्रदेशमातहतका भौतिक संरचना पुनर्निर्माणको विषयमा संघ सरकारले लिने नीति र प्रदेशलाई दिने बजेटअनुसार थप योजना बनाएर सरकार अघि बढ्ने उनको भनाइ छ ।
तोडफोड र आगजनीका कारण धेरै कार्यालयले तत्काल सेवा दिन नसक्ने अवस्थामा रहे पनि नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै सक्दो छिटो काम सुरु गर्न र सहज सेवा प्रदान गर्न थालिसकेको उनले बताए।
जेन–जीका युवाहरूले अघि सारेका जायज मुद्दा र माग पूरा गर्न सबै तहका सरकार गम्भीर हुनु आवश्यक रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले आन्दोलन भड्काएर ध्वंस गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने जोड दिए।