
अर्थमन्त्री रामेश्वर खनालले जेन-जी प्रदर्शनका क्रममा निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षतिका सम्बन्धमा उद्योगी व्यवसायीसँग छलफल गरेका छन्।
मन्त्रालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एन्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसियसन, चौधरी तथा भाटभटेनी ग्रुपका प्रतिनिधिलगायतको सहभागिता थियो।
छलफलमा उद्योगी व्यवसायीले अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै उद्योग व्यवसायको सुरक्षा, उद्योग व्यवसाय प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि विश्वस्त तुल्याउन आग्रह गरेका मन्त्रालयले जनाएको छ।
प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिहरूको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बिमा रकम यथाशीघ्र भुक्तानी हुने व्यवस्थालगायतमा सरकारले यथाशीघ्र निर्णय गर्नुपर्ने माग राखेका थिए। साथै, निजी क्षेत्रलाई सरकार, राजनीतिक दल, पत्रकार, नागरिक समाजसमेतले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने उनीहरूको चासो थियो।
सो क्रममा अर्थमन्त्री खनालले आजै उद्योग व्यवसायमा भएको क्षतिको अवलोकन गरेको जानकारी दिँदै निजी क्षेत्रका समस्याहरूसँग परिचित रहेको बताएका थिए। सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि कोष खडा गर्ने निर्णय भैसकेको जानकारी दिए। उद्योग व्यवसायीको समस्या सरकारको पनि समस्या भएकाले यस समस्याबाट बाहिर निस्किन इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान ल्याइने उनले आश्वासन दिए।
कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको अर्थमन्त्रीको भनाइ थियो। अबका दिनमा सरकारको मुहार सार्वजनिक सेवा प्रदान गर्ने विन्दुहरूबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन उनले जानकारी दिए।
अन्तर्क्रियामा अर्थसचिव घनश्याम उपाध्यायले दसैँको दिनबाहेक अन्य सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा भन्सार खुला रहने जानकारी दिँदै पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी गराएका थिए।