मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format १९:oo:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

खरानी मात्र बाँकी छ सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय पनि आन्दोलनकारीको निशानामा पर्‍यो। मुख्यमन्त्री कार्यालय जलेर खण्डहर बनेको छ। आगजनीबाट कार्यालयको पहिलो र दोस्रो तला लगभग खरानी बनेको छ। तेस्रो तलामा पनि क्षति पुगेको छ।

पहिलो तलामा रहेको मुख्यमन्त्री कमलबहादुर शाहको कार्यकक्ष पूर्ण रूपमा ध्वस्त बनेको छ। कार्यकक्षको कुनै अवशेष देखिँदैन। सोही तलामा रहेका स्वकीय सचिवालयका कर्मचारीका कार्यकक्ष पनि पूर्ण रूपमा खरानी बनेका छन्। कर्मचारीका कार्यकक्ष र बैठक कक्षसहित भुइँ तलामा पनि आगजनीबाट केही बाँकी छैन।

सबै जलेर नष्ट भएकाले कहाँबाट के सुरु गर्ने भन्नेमै कर्मचारी अन्योलमा छन्। ‘केही पनि बाँकी रहेन। सबै जलेर नष्ट भयो। सेवा सुरु गर्ने भन्ने छ, तर कहाँबाट के सुरुवात गर्ने भन्ने अन्योलमा छौँ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता उपसचिव नवराज ओझाले भने, ‘पहिलो र दोस्रो तला त पूरै खरानी बनेको छ। तेस्रो तलामा पनि ठुलो क्षति भएको छ, त्यहाँ तोडफोड पनि गरिएको छ।’

कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफा, दराजलगायत सबै सामान तथा महत्वपूर्ण कागजपत्र सबै नष्ट भएका उनले बताए। भुइँमा बिच्छ्याइएका टायलसमेत टुक्राटुक्रा भएका छन्। धुवाँको मुस्लोले भवनको धेरैजसो भाग कालो भएको छ। ‘आगोले भवनमा पनि क्षति पुगेको छ। हिजोसम्म भवन निकै तातो थियो,’ ओझाले भने, ‘भित्र बस्न मिल्ने नमिल्ने प्राविधिकले भन्लान्।’

मुख्यमन्त्री कार्यालय परिसरमा राखिएका मुख्यमन्त्री, मन्त्रीहरु र सचिवले चढ्ने ११ वटा गाडी पनि जलेर नष्ट भएका छन्। मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार आन्दोलन चर्किएपछि सुरक्षित होलान् भनेर ती गाडीहरु मुख्यमन्त्री कार्यालय पछाडि र सँगै जोडिएको भवनमुनि राखिएको थियो।

मुख्यमन्त्री कार्यालयसँगै जोडिएको नवनिर्मित अर्को भवन र आवासमा पनि आगजनी गरिएको छ। उपसचिव ओझाले तेस्रो तलामा रहेका केही कागजातबाहेक सबै सामान र कागजात जलेर नष्ट भएका बताए। प्रदेशका अन्य मन्त्रालयहरूमा पनि आन्दोलनकारीले आगजनी गरे पनि सबैभन्दा बढी क्षति मुख्यमन्त्री कार्यालयमा भएको छ। आगजनीपछि मुख्यमन्त्री र मन्त्रीहरू मन्त्रालय नआएका कर्मचारीले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलालीमा सरकारी कार्यालय, प्रहरी बिट, पार्टी कार्यालय र निजी घरसहित १३७ वटा भवनमा आगजनी भएको थियो। त्यस्तै, ११४ वटा चारपांग्रेसहित ६७८ वटा सवारीसाधनमा आगजनी गरिएको छ।