
दैनिक सयौँ सेवाग्राहीको भिड हुने मालपोत कार्यालय धनगढी अहिले सुनसान छ । आजगनीले खण्डहर बनेको कार्यालयमा कर्मचारीहरू सरसफाइ गर्दै छन् । कागजपत्र, कम्प्युटर, टेबलकुर्सीलगायत सबैजसो सामान जलेर नष्ट भएकाले कार्यालयले सेवा दिन सकेको छैन ।
‘लिखत, श्रेस्ता, मिसिल, कम्प्युटरहरू सबै जलेका छन् । १५ भन्दा बढी कम्प्युटर छैनन्, केही जलाइएका छन्, केही लगिएका छन्,’ कार्यालय प्रमुख प्रेमबहादुर दौल्यालले भने, ‘तत्काल सेवा सुरु गर्न सक्ने अवस्थै छैन ।’ उनले कम्तीमा दसैँअघि सेवा नियमित गर्न सकिने अवस्था नरहेको बताए । मालपोतका दुई पुराना र एक नयाँ गाडी पनि जलाइएका छन् ।
सेवाग्राहीको चाप रहने जिल्ला प्रशासन कार्यालय पनि आगलागीले ध्वस्त बनेको छ । कर्मचारीहरू जलेका सामान बाहिर फालेर कार्यालय सरसफाइ गर्दै छन् । प्रशासनका सूचना अधिकारी शिवराज जोशीले कर्मचारीको ल्यापटप र विद्यालयले सहयोगस्वरूप दिएको कम्प्युटरबाट आइतबार एकजनालाई नागरिकता वितरण गरिएको बताए ।
राहदानी, राष्ट्रिय परिचयपत्र वितरणलगायत सेवा भने अहिले नै सुरु गर्न सक्ने अवस्था नरहेको उनले बताए । आगजनीबाट प्रशासनमा ठुलो संख्यामा राहदानी र राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन् । सेवाग्राहीको निकै भिडभाड हुने यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यालय सम्बन्धित सबै कागजात, कम्प्युटर, टेबलकुर्सी जलेर नष्ट भएका छन् । सवारीसाधनसम्बन्धी धेरैजसो फाइलहरू पनि जलेका कार्यालयले जनाएको छ । कार्यालयका अधिकृत चक्रप्रसाद उपाध्यायले कर संकलन सेवा मात्र सुरु गर्न कम्तीमा चार–पाँच दिन लाग्ने बताए ।
‘सवारीसाधनका ढड्डाहरू जलेका छन् । टेबलकुर्सी, कम्प्युटर, कागजपत्र केही पनि बाँकी छैनन्,’ उनले भने, ‘कार्यालय व्यवस्थापन गर्नै समय लाग्छ ।’ केही दिनपछि कर संकलन भए पनि सुरु गर्ने कि भनेर छलफल भएको उनले बताए । उपाध्यायले ढड्डाहरू जलेकाले सवारीसाधनको नामसारी, सरुवा सहमति दिन समस्या हुने बताए । कार्यालयका सामान र कागजपत्र जलेकाले नापी कार्यालयले पनि सेवा सुरु गर्न सकेको छैन ।
आन्तरिक राजस्व कार्यालय धनगढीले अर्को सातादेखि सेवा सुरु गर्ने गरी तयारी थालेको छ । कम्प्युटर, प्रिन्टर, टेबलकुर्सीलगायत सबैजसो सामान जलेर नष्ट भएका सूचना अधिकारी छत्रबहादुर माझीले बताए । ‘आज कार्यालय सरसफाइ गरेका छौँ, इन्टरनेट, विद्युत् छैन, सबैजसो सामान नष्ट भएका छन्,’ उनले भने, ‘शून्यबाट तयारी गर्नुपर्नेछ । सकेसम्म अर्को आइतबारबाट सेवा दिने तयारी व्यवस्थापन गर्दै छौँ ।’
त्रिनगर भन्सार कार्यालयले भने आयात सहज बनाउन ग्यारेजमा केही कम्प्युटर राखेर आइतबार सेवा सुरु गरेको छ । भन्सार कार्यालयसहित लिलामीमा राखिएका दुई सयवटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरिदिएका छन् । जिल्लाभरि सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोडबाट भएको क्षतिको आकलन हुन सकेको छैन ।
जेन–जीको आन्दोलनका क्रममा कैलालीमा दर्जनौँ सरकारी कार्यालय निशाना बनाइएका थिए । धनगढीमा रहेका सबैजसो सरकारी कार्यालयमा आगजनी गरिएको छ । यहाँ रहेका प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालयसहित सबैजसो मन्त्रालयहरू पनि आगजनी गरिएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सकेसम्म छिटो सेवा सुरु गर्न कार्यालयहरूलाई भनिएको बताए। ‘कतिपय कार्यालयहरू जलेर पुूरै नष्ट भएका छन्, शून्यबाट काम सुरु गर्नुपर्ने अवस्थाले समय लाग्ने देखिन्छ,’ उनले भने ।