मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
कार्यभार सम्हालेपछि सचिवसहितका कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:३३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कार्यभार सम्हाल्दै प्रधानमन्त्री कार्कीको घोषणा : सत्ता र पदको रसास्वादन गर्न आएकी होइन, ६ महिनाभन्दा बढी बस्दिनँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३३:oo
  •  आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा र परिवारलाई जनही १० लाख दिइने मृतकका परिवार काठमाडौं बस्दाको खर्च व्यहोर्ने, सम्बन्धित ठेगानामा शव पुर्‍याउन व्यवस्था मिलाउने
  •  आन्दोलनमा योजनाबद्ध रूपमै षड्यन्त्र भएको भन्दै अनुसन्धान र कारबाही गर्ने प्रतिबद्धता

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको दुई दिनपछि आइतबार पदभार ग्रहण गरेकी सुशीला कार्कीले आफू सत्ता र पदको रसास्वादन गर्न नआएको बताएकी छिन् । आन्दोलनको आवश्यकताले प्रधानमन्त्री बनाएको भन्दै उनले प्राप्त जिम्मेवारी तोकिएको समयमै पूरा गर्ने र ६ महिनाभन्दा बढी पदमा नबस्ने घोषणासमेत गरेकी छिन् । 

‘जुन परिस्थितिमा म आएँ, कुनै रहरले आएकी होइन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो,’ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यभार सम्हाल्दै उनले भनिन्, ‘हामी सत्ताको, पदको रसास्वादन गर्न आएको होइन । त्यो मेरो उमेर पनि होइन । ६ महिनाभन्दा बढी अवधि कुनै पनि हालतमा बस्दैनौँ । आफ्नो काम गरेर नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ ।

यसमा यहाँहरूको साथ आवश्यक छ ।’ जेन–जीले गरेजस्तो आन्दोलन संसारमा अन्त कतै नदेखिएको भन्दै कार्कीले आफूलाई पनि अचम्म लागेको बताइन् । ‘२७ घन्टाको आन्दोलनले कायापलट गरेको मलाई थाहा छैन,’ उनले भनिन्, ‘आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानताको माग गरेको र युवाको सोचबमोजिम नै काम गर्नुपर्ने चुनौती छ ।’

प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन् । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय पनि गरेकी छिन् । आन्दोलनमा घाइतेलाई उपचार र राहत दिनेबारे पनि उनले निर्णय गरेकी छिन् । मृतकका परिवारको काठमाडौंमा बस्दाको खर्च व्यहोर्ने र शवलाई सम्बन्धित ठेगानामा पु¥याउन व्यवस्था मिलाउने घोषणा पनि प्रधानमन्त्रीले गरेकी छिन् । आन्दोलनबाट घाइते भएर कोही अपांगताको परिभाषामा पर्न आए उनीहरूलाई उपचारको व्यवस्था घोषणा गर्ने निर्णयसमेत भएको छ ।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा योजनाबद्ध रूपमै षड्यन्त्र भएकाले अनुसन्धान र कारबाही गर्ने बताइन् । राज्यका महŒवपूर्ण निकायहरूमा छानीछानी प्रहार भएको उनको भनाइ छ । ‘सुरक्षा निकाय, प्रहरी बिट, सर्वोच्च अदालत, सिंहदरबारसमेत आगोमा बीभत्स तरिकाले जलेर गयो ।

भौतिक भवनको क्षतिले त केही हुँदो रहेनछ । तर, यहाँ रेकर्ड, प्रमाण, फाइल, विवरणहरू सबै नष्ट भएको छ । हामी शून्यमा पुगेका छौँ । यसले ठुलो समस्या निम्त्याएको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’ उनले भनिन्, ‘यो त योजनाबद्ध तरिकाले षड्यन्त्रै भएको हो कि भन्ने मलाई लाग्छ । अनुसन्धान गर्न त बाँकी छ । अनुसन्धान गरेर यसरी प्रहार गर्ने, नोक्सान गर्नेहरूलाई छोड्नुपर्ने अवस्था छैन । यो कारबाही हुनुपर्ने अवस्था छ । खोजबिन तलास हुनुपर्ने अवस्था छ ।’ 

सुरक्षाकर्मीहरूको देहावसान भएको, सम्पूर्ण प्रहरी कार्यालय र सवारीसाधनमा क्षति पुगेकामा पनि प्रधानमन्त्रीले चिन्ता जनाइन् । मुलुकविरुद्ध आइपरेको यो चुनौतीलाई सबैले मिलेर एकताको भावनाले सामना गर्नुपर्ने उनको भनाइ छ । आन्दोलनबाट निजी क्षेत्र, उद्यम र व्यवसायले समेत क्षति व्यहोरेको भन्दै त्यसलाई उकास्न प्रयास गर्ने आश्वासन दिएकी छिन् । व्यक्तिगत क्षति पुगेकालाई पनि राज्यले विचार गर्ने उनको भनाइ छ । क्षतिको मूल्यांकन गरेर आगामी कार्ययोजना बनाउने प्रधानमन्त्रीको भनाइ छ ।