मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१७:oo
Read Time : < 1 मिनेट
समाचार

अन्तरिम सरकारसँग सहकार्य गर्न इच्छुक छौँ : अमेरिकन चेम्बर अफ कमर्स नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१७:oo

अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल)ले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै एमच्याम नेपालले नेपालको लोकतान्त्रिक र आर्थिक यात्राको यस महत्त्वपूर्ण चरणमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक स्थिरतासँगै दिगो आर्थिक वृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी स्थिरता, समावेशी वृद्धि र साझा समृद्धि प्रवर्द्धनका लागि अन्तरिम सरकारसँग नजिकको सहकार्य गर्न इच्छुक छौँ।’

हालैको घटनामा ज्यान गुमाएका ५१ जनाप्रति गहिरो समवेदना प्रकट गर्दै संगठनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। ‘शान्त र स्थिर नेपाल आर्थिक विकास र सबैको साझा प्रगतिका लागि आधारशिला हो,’ विज्ञप्तिमा उल्लेख छ।

एमच्याम नेपालले अमेरिकी व्यावसायिक समुदाय नेपालमा दिगो आर्थिक प्रगति र नेपाली जनताको हितका लागि प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। साथै, संस्थाले अन्तरिम सरकारसँग मिलेर आर्थिक संरचना सबल बनाउन आवश्यक सुधारका कदमलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कानुन र व्यवस्था पुनर्स्थापना, सम्पत्तिको थप क्षति रोकथाम र स्थायित्वका लागि सामूहिक कदम आवश्यक छ। पारदर्शी र जवाफदेही संस्था निर्माण तथा सुशासन सुनिश्चित गर्नु सार्वजनिक विश्वास जगाउन र दीर्घकालीन लगानी आकर्षित गर्न अत्यन्त जरुरी छ।’

एमच्याम नेपालले नेपालको दीर्घकालीन स्थिरता, सुधार कार्यक्रम र समृद्धिको यात्रामा निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।