मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १९:४१:oo
Read Time : > 1 मिनेट
समाचार

कैलालीमा १२० वटा सरकारी कार्यालयमा आगजनी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४१:oo

जेन–जीको आन्दोलनका क्रममा कैलालीमा १२० भन्दा बढी सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरकारी कार्यालय, स्थानीय तहका कार्यालय, वडा कार्यालय र प्रहरी बिटसमेत गरी करिब एक सय २० वटा सरकारी कार्यालयमा आगजनी भएको प्रारम्भिक विवरण आएको जानकारी दिएका छन् ।

त्यस्तै, १५ वटा पार्टी कार्यालय र निजी घरमा आगजनी भएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार जिल्लाभरि ५५० वटा सरकारी मोटरसाइकल र सय हाराहारीमा चार प्राङ्ग्रे सवारी साधनमा आगजनी तथा तोडफोड भएको छ । 

काठमाडौँ उपत्यकापछि सम्भवतः सबैभन्दा बढी कैलालीमा सरकारी निकायमा आगजनी भएको सुरक्षा अधिकारीहरुको आँकलन छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका लगभग सबैजसो सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालयसहित सातवटै मन्त्रालयमा पनि आगजनी गरिएको थियो ।

तालुकवाला निकायसँग समन्वय गरेर सकेसम्म चाँडो सेवा सुचारु गर्न कार्यालयहरुलाई भनिएको प्रशासन कार्यालयले जनाएको छ । ‘कतिपय कार्यालयहरु जलेर पुरै नष्ट भएका छन्, शून्यबाट काम सुरु गर्नुपर्ने अवस्थाले समय लाग्ने देखिन्छ’ लम्सालले भने । आगलागीबाट भएको क्षतिको आँकलन हुन सकेको छैन ।

लिलामीमा राखिएका २०० मोटरसाइकल जले
आन्दोलनकारीले कैलाली भन्सार कार्यालयमा लिलामीका लागि राखिएका दुई सयभन्दा बढी मोटरसाइल जलाइ दिएका छन् । भन्सार छलि, चोरी, मुद्दा मामिलालगायत विभिन्न ठाउँबाट बरामद ती मोटरसाइकल लिलामीको प्रकृया भन्सारले सुरु गरेको थियो ।

भन्सार अधिकृत एवम् सूचना अधिकारी खिमप्रसाद अर्यालले कार्यालयका आधा दर्जन गाडी र लिलामीका लागि राखिएका दुई सयभन्दा मोटरसाइकल पूर्णरुपमा खरानी बनेका बताए । त्यस्तै आगजनीबाट कार्यालय पुरै खण्डहर बनेको छ । मालवाहक सवारी साधनमा भने आगजनी नभएको कार्यालयले जनाएको छ । भन्सार कार्यालय र सवारी साधनमा भएको आगजनीबाट करोडौँ क्षति भएको अर्यालले बताए ।