
सिरहा जिल्ला अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाईसहित चार सेवाहरु सञ्चालन गर्ने भएकाे छ । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि अदालत बन्द रहँदै आएको र भाेलि साेमबारदेखि सेवा सञ्चालनमा आउने भएको हो ।
जिल्ला अदालतको आइतबार बसेको पूर्ण बैठकले सोमबारदेखि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, अभियोग पत्रसहित उपस्थित हुन आएको प्रतिवादीको हकमा थुनछेक बहस, जरुरी पक्राउ पूर्जी जारी र समर्थन हुने तथा म्याद थप सम्बन्धी सेवा सुचारु गर्ने निर्णय भएको हो ।
अदालतका शाखा अधिकृत कन्चन यादवद्वारा आइतबार जारी गरिएको सेवा प्रवाहसम्बन्धी सूचनामा पछिल्लो विषम परिस्थितिमा आइपर्न सक्ने सुरक्षा चुनौती तथा अदालतमा २४ भदौमा आगजनी समेतलाई मध्यनजर गर्दै थप निर्णय नहुँदासम्म उल्लेखित सेवाहरू सुचारु गर्न लागिएको उल्लेख छ ।
प्रदर्शनकारीको समूहले अदालतको अभिलेख फाँट, तहशील शाखा, मुद्दा फाँटका केही मिसिलहरु, सर्भर, इजलाश च्याम्बर, दशीका सवारी साधनहरु, जिल्ला न्यायाधीशको सवारी साधनमा आगजनी गरेपछि बुधबारदेखि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाप्रवाहरु स्थगित गरिएको थियो ।
जेन–जी समूहको आन्दोलनको नाममा मंगलबार जिल्ला सदरमुकामस्थित शिक्षा विकास तथा समन्वय इकाइ, सरकारी वकिल कार्यालय, सिरहा नगर कार्यपालिकाको भवनमा आगजनी तथा नापी कार्यालयमा तोडफोड भएपछि बुधबार बिहानदेखि नै स्थानीय युवाहरु सरकारी संरचनाको थप क्षति हुन नदिन परिचालित भएका छन् ।
युवाहरूको समूह सकुशल रहेका सरकारी निकायको भौतिक संरचनामा थप तोडफोड, आगजनी हुन नदिन र त्रासरहित वातावरण बनाउन सुरक्षा निकायसँग समन्वयमा रहने गरी परिचालित भएको पत्रकार समेत रहेका स्थानीय बद्री नारायण यादवले बताए ।