
महालक्ष्मी विकास बैंककाे पाेखरा शाखाबाहेक अन्य सम्पूर्ण शाखा पूर्ण रूपमा सञ्चालनमा आएका छन् । बैंकले लेकसाइड पोखरा शाखाबाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालयहरू पूर्ण रूपमा सेवा सञ्चालनमा आइसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रूपमा सञ्चालन भइरहेको जानकारी दिएकाे हाे ।
बैंकले लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ सेवाहरू नजिकको शाखा कार्यालयहरूमार्फत लिन सकिने जानकारी गराएकाे छ ।
‘यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरूमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ । साथै, उपचारार्थ रहेका सम्पूर्ण घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,’ बैंकले भनेको छ ।
उक्त घटनाहरूमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षतिप्रति बैंक गहिरो दुःख प्रकट गर्दछ । साथै, सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यावसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ।