
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियन ‘ए’ लिगको टोली वेलिङ्टन फोनिक्स फुटबल क्लबबाट प्रशिक्षण सुरु गरेकी छिन् । गत ३ सेप्टेम्बरमा न्युजिल्यान्डको बेलिङटन पुगेकी सावित्राले क्लबसँग दुई वर्षको सम्झौता गरेकी छिन् । नेपाली फुटबल इतिहासमा अस्ट्रेलियन लिग खेल्ने सावित्रा पहिलो नेपाली खेलाडी हुन् । यसअघिको दुई सिजन सावित्राले फ्रान्सको महिला लिग खेलेकी थिइन् । वेलिङ्टन न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रेलियाको शीर्ष डिभिजन क्लब खेल्ने गर्छ । अस्ट्रेलियन ‘ए’ डिभिजन लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्ने वेलिङटन एक मात्र न्युजिल्यान्डको क्लब हो ।
फ्रेन्च क्लबबाट खेलिरहँदा उनलाई फोनिक्सबाट प्रस्ताव आएको थियो । उनले सहजै स्वीकार गरिन् । फोनिक्ससँग आबद्ध हुँदा उनले त्यहाँ धेरै गोल गर्ने योजना रहेको बताएकी थिइन् । ‘फोनिक्समा आबद्ध हुन पाउँदा धेरै खुसी छु । त्यहाँ धेरैभन्दा धेरै गोल गर्नेछु र समर्थकलाई खुसी बनाउनेछु,’ न्युजिल्यान्ड जानुअघि उनले भनेकी थिइन् । अस्ट्रेलियन क्लबहरूको बाहुल्य रहेको लिगमा फोनिक्स एक मात्र विदेशी क्लब हो । लिगको नयाँ सिजन ३१ अक्टोबरदेखि सुरु हुँदै छ । लिगमा प्रतिस्पर्धा गर्ने १२ मध्ये ११ टोली अस्ट्रेलियाका हुन् । गत सिजनमा वेलिङटन नवौँ स्थानमा रह्यो । उसले २३ खेलमा सात खेल मात्र जितेको थियो ।
सावित्रा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी १३औँ कप्तान हुन् । डेढ महिनाअघि उज्वेकिस्तानको तासकन्दमा भएको एएफसी महिला एसियन कप छनोटमा उनले टोलीको कप्तानी गरेकी थिइन् । छनोटअन्तर्गत तीन खेलमा उनले नौ गोल गरेकी थिइन् । सन् २०१४ मा उनले नेपाली महिला राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा डेब्युसँगै पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरिन् । अहिले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ ।
एसियादेखि युरोपसम्मको अनुभव
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रासँग एसियादेखि युरोपसम्म प्रतिस्पर्धा गरेको अनुभव छ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी विभिन्न विदेशी क्लबमा आबद्ध छन् । यसमध्ये सावित्रा अगाडि छिन् । न्युजिल्यान्डको क्लबसँग आबद्ध हुनुअघि सावित्राले दुई वर्ष युरोपमै बिताइन् । फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गुइनगाम्पाबाट उनले दुई वर्ष प्रतिस्पर्धा गरिन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबल पनि उनी नै हुन् । फ्रान्समा उनको पहिलो सिजन राम्रो भयो । तर, दोस्रो सिजन भने त्यति उत्कृष्ट बनाउन सकिनन् । उनी आबद्ध गुइनगाम्पा यस वर्ष रेलिगेसनमा परेको थियो ।
सावित्रा गुइनगाम्पामा आबद्ध भएको पहिलो सिजनमा क्लब दसौँ स्थानमा रहेको थियो । त्यसवेला क्लब बल्लतल्ल रेलिगेसन क्षेत्रबाट माथि उठेको थियो । गत दोस्रो सिजनमा यो क्लब दोस्रो डिभिजनमा झर्यो । यद्यपि, उनले क्लबबाट उनले ६ गोल गरिन् । यी ६ मध्ये दुई गोल उनले युरोपकै बलियो र खर्चिलो क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध रह्यो । फ्रेन्च क्लबमा आबद्ध उनले इजरायलकोे शीर्ष डिभिजन क्लब हापोइलबाट प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनले इजरायलमा लिगको साइकल पूरा गर्न सकिनन् ।