मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format १o:o२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जेन–जी आन्दोलनका घाइतेको सन्देश- नेपाल हाँसेको हेर्न चाहन्छौँ

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

शुक्रबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको जनरल वार्डमा सुतिरहेका राजेश पोटेलको मोबाइलमा गीत बज्दै थियो, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु...!’ उक्त गीतमा कसैले बनाएको टिकटक भिडियोमा उनी एकोहोरिरहेका थिए । टिकटकमा उनीसँगै आन्दोलनमा उत्रिएर ज्यान गुमाएका अन्य साथीहरूलाई देखाइरहेका थिए । भिडियो हेरेर उनका आँखा रसाएका थिए । ‘हामी कोही मर्छौं वा मार्छाैं भनेर आन्दोलनमा पुगेका थिएनौँ, पुराना नेतालाई अब राजनीतिबाट बिदा गर्नुपर्छ, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भनेर आन्दोलनमा गएका थियौँ, तर साथीहरूलाई प्रहरीले गोली हानेर सिध्याइदियो, मेरो कुहिनोमा गोली लाग्यो,’ उनले सुनाए, ‘अहिले अस्पतालमै भएपछि बाहिर के–के भइरहेको छ भनेर मोबाइलमा हेरिरहेको छु, हाम्रो आन्दोलनमाथि कसैले राजनीति गरेको देख्दा दु:ख लागिरहेको छ, कृपया जेन जी आन्दोलनको उद्देश्य कसैले नढलाउनुहोला ।’

राजेशको नजिकै अर्को बेडमा सुतिरहेका थिए, बाजुराका सन्तोष रावल । उनी पनि मोबाइल हेरेर बाहिरको गतिविधि नियालिरहेका थिए । तर, बाहिरी माहोल र अवस्था सुन्दा उनी खिन्न थिए । आन्दोलनको वेला जेन जीहरूको बिचमा कुनै समूहले अराजकता मच्चाएको उनको बुझाइ छ । निजामती अस्पतालमा उपचाररत रहेका उनलाई प्रदर्शनको पहिलो दिन प्रहरीले चलाएको गोली लागेको थियो । ‘हामीले जे उद्देश्य बोकेर आन्दोलनमा लाग्यौँ, त्यो उद्देश्यभन्दा पनि बढी तडकभडक भयो, तर सिंहदरबार र अन्य सार्वजनिक सम्पत्ति सिध्याउने भनेर हामी कसैले पनि सोचेका थिएनौँ । २४ गतेको घटनामा अन्य समूहले त्यस्तो विध्वंस मच्यायो,’ उनी भन्छन्, ‘तर त्यति ठुलो आन्दोलनपछि पनि जेन जीले उठाएमा विषयमा चलखेल सुरु भइसकेको छ । हामीले पुराना राजनीतिक दलको विरोध गरेका हौँ, व्यवस्था र संविधानको होइन ।’

सिभिल अस्पतालमै उपचाररत सावन राईले जेन जी आन्दोलन परिवर्तनका लागि भएको र यसलाई कसैले पनि राजनीतीकरण गर्न नहुने बताउँछन् । ‘हामीले जेका निम्ति आन्दोलन गरेका हौँ, आन्दोलनमा थुप्रैले ज्यान गुमाउनुभयो । कम्तीमा उहाँहरूको आत्माले शान्ति पाउनेगरी सरकार बनोस्,’ उनी भन्छन्, ‘देशमा भ्रष्टाचार रोकियो, सुशासन आओस्, युवाहरू काम खोज्दै विदेश जान नपरोस् ।’

सिभिल अस्पतालमै उपचार गराइरहेका उत्तम चालिसे २४ गतेको प्रदर्शनमा घाइते भए । अन्य साथीसँगै प्रदर्शनमा पुगेका उनलाई पनि जेन जी आन्दोलनपछिको हालसम्मको परिस्थिति थाहा छ । जेन जी आन्दोलनको मूल मर्म गिजोल्ने प्रयास भइरहेको उनी बताउँछन् । ‘हामी परिवर्तनका लागि आन्दोलनमा पुगेका हौँ, तर अहिले कुनै नाजायज समूहले फाइदा लिन थालेको छ, यो देख्दा निकै नरमाइलो लाग्छ, ‘उनले सुनाए, ‘जेन जी आन्दोलनको उद्देश्य नेतृत्वमा युवा पुगून्, भ्रष्टाचार नहोस्, सुशासन कायम होस् भन्ने थियो । तर, अहिले यसलाई सबैले आफूअनुकूल व्याख्या गर्न थालेका छन्, कृपया जेनजी आन्दोलनमा बलिदान दिएकालाई न्याय मिल्ने गरी नयाँ सरकार बनोस् ।’

गोली लागेर घाइते भएका निशेष महत पनि आफूहरूको आन्दोलनको उद्देश्यमा कसैले राजनीतिक नगरोस् भन्ने चाहन्छन् । ‘हामीले जे माग गरेर आन्दोलन गरेका हौँ, त्यो पूरा होस्, प्रहरीले गोली चलाएर धेरैको हत्या गरेको छ, कृपया यो आन्दोलनलाई आफ्नो स्वार्थको लागि कसैले प्रयोग नगरोस्,’ उनी भन्छन् । 

गौरव जैसवाल पनि निजामती अस्पतालमै उपचाररत छन् । उनी पनि जेन जी आन्दोलनबाट हालसम्म के उपलब्ध भयो भन्नेबारे थाहा पाउन मोबाइल हेर्छन् । ‘हामीले जे चाहेर प्रदर्शन गरेको हो । तर, नसोचेको क्षति भयो, आन्दोलनपछिको उपलब्धि अझै देखिएको छैन,’ उनी भन्छन्, ‘जेन जीले उठाएका मागअनुसार नै अब सरकार बन्नुपर्छ ।’ 

आन्दोलनमा घाइते भएका शिवम करुणले पनि जेन जी आन्दोलनको मूल उद्देश्यलाई कसैले बिथोल्न नहुने बताउँछन् । ‘हामी परिवर्तनका लागि सडकमा आएका थियौँ । तर, कसैले यसैमा टेकेर फाइदा लिँदै छ भन्ने सुनिएको छ, यस्तो भयौँ भने हामी फेरि जाग्नेछौँ,’ उनी सुनाउँछन् । 

देशको राजनीतिक व्यवस्था सपार्न २३ र २४ भदौमा प्रदर्शनमा होमिँदा प्रहरीले चलाएको गोली लागेर घाइते भएका कैयौँ युवा हाल अस्पतालको शड्ढयामा उपचार गरिरहेका छन् । आफैँ घाइते भएका र कैयौँ सहकर्मी गुमाएको आन्दोलनको मूल मर्म मार्न नहुनेमा उनीहरू चिन्तित छन् । आन्दोलनको पहिलो दिन गोली लागेर अस्पतालमा उपचाररत घाइतेहरूले दोस्रो दिन भएको विध्वंसक घट्ना थाहा पाएपछि चकित बनेका छन् । आफूहरूको आन्दोलनको उद्देश्य के थियो र के भयो भन्नेबारे उनीहरू अचम्मित भएका हुन् । राजनीतिको पुरानो पुस्ता हटाउने मुख्य उद्देश्य राखेर गरिएको प्रदर्शनमा सार्वजनिक सम्पत्ति ध्वस्त पारिएकोप्रति उनीहरू खुसी छैनन् । जेन जीबाहेकको कुनै आपराधिक समूहले यस्तो विध्वंस मच्चाएको उनीहरू बताउँछन् । सिभिल अस्पतालमै उपचार गरिरहेका संघर्ष भुसाल जेन जीको आन्दोलनबाट निस्किएको परिणाम र तोडफोडका घटनाले चिन्तित छन् । एउटा उद्देश्य राखेर गरेको प्रदर्शनको परिणाम अर्कै भएको उनी बताउँछन् । ‘हामी त खासमा अहिलेको नेतृत्व फाल्नुपर्छ र युवालाई नेतृत्वमा ल्याउनुपर्छ भनेर पो आन्दोलनमा गएका हौँ । तर, सिंहदरबार र अदालत फोड्न निस्किएका थिएनौँ,’ उनी भन्छन्, ‘जेन जीको आन्दोलनमा कोही स्वार्थी समूह आएर तोडफोड गर्‍यो, किनभने हाम्रो समूहले हामीलाई महŒवपूर्ण संरचनामा क्षति नपार्नु भनेर गाइड गर्नुभएको थियो । जेन जीभन्दा बाहिरी समूहले देशका अमूल्य सम्पत्ति नै सिध्यायो, एउटा उद्देश्य राखेर गरिएको प्रदर्शनमा देशलाई नै घाटा हुने अवस्था आयो, यो निकै दु:खद हो । 

अर्का घाइते निशेष महत आफ्नो उमेर समूहले गरेको प्रदर्शनपछि अनेकौँ व्यक्ति र समूहले फाइदा लिन खोजेको बताउँछन् । ‘सबै मिलेर आन्दोलनमा आएका हौँ, सबैको हित हुने गरी अबको सरकार बन्नुपर्छ,’ उनी भन्छन्, ‘तर हामी जे–जे माग राखेर आन्दोलनमा लाग्यौँ, ती मागलाई बिस्तारै कमजोर बनाइँदै छ, जेन जीबारे सबैले आफूखुसी व्याख्या गर्नु नाजायज हो ।’ 

ट्रमा सेन्टरमा उपचार गराइरहेका समीर आचार्य पनि के माग राखेर आन्दोलन गरिएको थियो, के भयो भन्नेबारे पछुतो मानिरहेका छन् । उनी जेन जीहरूले राखेको मागलाई र आन्दोलनको बलिदानलाई कमजोर बनाउने चलखेल भएको बताउँछन् । ‘म त कलेजबाट फर्किँदै थिएँ, तर मलाई गोली लाग्यो । जेन जीले गरेको आन्दोलनमा यति धेरै क्षति भयो भनेर सुन्दा अचम्म लाग्छ,’ उनी भन्छन्, ‘त्यति धेरै साथीहरूको मृत्यु भएको छ, तर माग पूरा गर्नुको साटो यसलाई झन्–झन् कमजोर पारिँदै छ ।’ ट्रमामै उपचाररत दानिस आलमले जेन जी आन्दोलनको अर्थ र उद्देश्य पूरा हुनुपर्ने बताए । ‘जेन जी आन्दोलन कसैलाई फाइदा र कसैलाई बेफाइदाभन्दा पनि देशको हितको लागि गरिएको थियो, भ्रष्टाचार रोक्न गरिएको थियो, तर यसलाई केटाकेटीको आन्दोलन भन्ने गरिएको छ, यो राम्रो होइन,’ उनी भन्छन्, ‘हामी भ्रष्टाचार अन्त्य, सुशासन र देशको हितका लागि प्रदर्शनमा पुगेका थियौँ । तर, २४ गतेको प्रदर्शनमा अर्कै अराजक समूहले तोडफोड गर्‍यो, जेसुकै भए पनि अब जेन जी आन्दोलनको उद्देश्यले न्याय पाओस् ।’