मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
Invalid date format १९:१४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

झापामा आन्दोलनपछि व्यापार व्यवसाय ठप्प

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

जेन–जीको आन्दोलनपछि उत्पन्न परिस्थितिले झापाका ठुला सहरमा व्यापार व्यवसाय ठप्प भएको छ। आन्दोलनपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दा र असुरक्षा बढेपछि सहरका पसलका सटर लागेका छन्। झापाका ठुलो सहर बिर्तामोड, दमक, काँकडभिट्टालगायत क्षेत्रमा केही साना पसल खुले पनि ठुला व्यवसाय ठप्प बनेका हुन्।

सडकमा उत्रिएको नेपाली सेनाले समेत पसलहरू खोल्न र हिँडडुल गर्न नै रोक लगाएपछि व्यापार व्यवसाय बन्द भएका हुन्। झापाको दमकमा केही साना पसल मात्र खुला रहेको र ठुला पसलहरू बन्द नै रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं बताउँछन्। खासगरी सुरक्षा चुनौती बढेपछि पसल बन्द गरिएको उनले बताए। 

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आगजनी भएको थियो। दमकमा अहिले प्रहरी छैन। नेपाली सेना र सशस्त्र प्रहरी बलले राजमार्गमा मात्र कडाइ गर्दा व्यापार सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन्। कोरोना महामारीपछि भर्खर उठ्न थालेको व्यापार व्यवसाय आन्दोलनले चौपट बनाएको उनी बताउँछन्।

‘अहिले दमकमा पाँच प्रतिशत पनि पसल खुल्न सकेका छैनन्। कोरोना महामारीले थलिएका व्यापार व्यवसायले केही मात्रामा राहत पाएका थिए। अहिले फेरि शिथिल बनाएको छ,’ उनले भने, ‘दमकमा सुरक्षा व्यवस्था शून्य छ। दमकमा प्रहरी छैन। सेना र प्रहरी राजमार्गमा वेलावेला मात्र देखिन्छ। तसर्थ, व्यवसायीले असुरक्षा महसुस गरेका छन्। व्यवसायीले आफ्नै रिक्समा पसल खोल्नुपर्छ। यसो गर्दा लुटपाट हुँदा केही हुने अवस्था छैन। कसैले फाइदा लिन खोज्दा केही गर्ने अवस्था छैन।’

व्यापार व्यवसायको मुख्य समयमा पसल बन्द गर्नुपर्दा व्यवसाय नै संकटमा पर्ने अवस्था आएको उनी बताउँछन्। उनले दमकमा नेपाल प्रहरीलाई बस्ने व्यवस्थापन गरेर फर्काउने पहल भइरहेको बताए।

यस्तै, झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा पनि बजार ठप्प छ। केहीछिन फाट्टफुट्ट पसल खुले पनि अधिकांश पसल बन्द रहेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले बताए। ‘बिर्तामोडको भित्री बजारहरूमा फाट्टफुट्ट पसल खुलेका थिए। तर, सुरक्षा निकायले बन्द गर्न भनेपछि बन्द भएका छन्। हामी सुरक्षा निकायसँग पहल गर्दै छौँ। बिर्तामोडमा फेरि प्रहरीलाई फर्काउन पनि पहल गर्दै छौँ त्यसपछि भने केही सुरक्षा महसुस हुन सक्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा व्यापार व्यवसायमा निकै प्रभाव परेको छ। व्यापारीले बैंकको ऋण तिर्न सक्ने अवस्था छैन। पसल बन्द गर्नुपरेको छ। अन्तरिम सरकार बन्यो भने केही सहज होला कि भन्ने अपेक्षा गरेका छन्। अहिलेको प्रभाव कहिलेसम्म र कति हुन्छ भन्ने हामीले यकिन गर्न सकेका छैनौँ।’

असुरक्षा महसुस हुँदा व्यवसायीले आफ्ना पसल तथा व्यवसाय खुला गर्न सक्ने अवस्था नरहेको दमकका व्यवसायी सुवास गड्तौला बताउँछन्। पसल खुला गर्दा पनि अराजक समूहले लुटपाट गर्ने त्रास रहेको उनी बताउँछन्। ‘अहिले व्यवसायीले असुरक्षा महसुस गरेका छन्। जसका कारण व्यापार व्यवसाय बन्द गर्नुपरेको छ,’ उनले भने।

प्रशासनले कर्फ्यु जारी राख्दा र व्यापार व्यवसाय बन्द हुँदा अहिले पनि जनजीवन प्रभावित बन्न पुगेको दमक– ९ का रमेश भट्टराईले बताए। ‘यो आन्दोलनपछिको अवस्था सामान्य बन्न सकेको छैन। बाहिर निस्कन सक्ने अवस्था छैन। बजार व्यवसाय चौपट बनेका छन्,’ उनले भने, ‘कोरोना महामारीले उठ्न नसकेको व्यवसायलाई यो आन्दोलनपछि झन् थला पारेको छ। चाडबाडको समयमा यस्तो हुँदा अवस्था जटिल बनेको छ।

आफ्नो टोलको सुरक्षामा आफैँ निस्किए नागरिक
आन्दोलनको क्रममा आगजनी हुँदा इलाका प्रहरी कार्यालय दमक पूर्ण रूपमा जल्यो। अहिले दमकमा नेपाल प्रहरी छैनन्। नेपाली सेना र सशस्त्र प्रहरीले राजमार्गमा मात्र कडाइ गरेको छ। गाउँ तथा टोलमा आपराधिक घटना घटिरहेको छ। रातको समयमा हुन सक्ने चोरी तथा अन्य आपराधिक घटना रोक्नका लागि नागरिकहरू रातको समयमा आफैँ गस्ती निस्कन थालेका छन्। टोल विकास संस्थाले समूह बनाएर रातको समयमा गस्ती सुरु गरेको हो।

दमक– ९ स्थित पूर्वेली टोल विकास संस्थाले नागरिक सुरक्षा समिति बनाएर रातभर टोलको सुरक्षामा खटिरहेको समितिका संयोजक अनन्त कटुवालले जानकारी दिए। ‘टोलको सुरक्षाका लागि हामी आफैँ रातभर निस्किएका छौँ। अहिले दमकमा प्रहरी नहुँदा जेनजीको नाममा रातको समयमा अराजक समूहले अपराधिक घटना निम्त्याउन सक्छ,’  उनले भने, ‘नागरिक पनि बिना बर्दीका प्रहरी हुन्। सुरक्षा शून्यताको अवस्थामा आफ्नो गाउँ आफैँ सुरक्षा गर्न लागेका छौँ।’