
सोसलिस्ट इन्टरनेसनलले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भएको सांघातिक हमलाको निन्दा गरेको छ।
विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिस्ट इन्टरनेसनलले वक्तव्यमार्फत जेन–जीको प्रदर्शनका क्रममा भदौ २४ गते देउवादम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो। सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष पेद्रो साञ्चेज पेरेज–कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घटनाक्रमबारे चिन्ता व्यक्त गरेका छन्।
जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सोसलिस्ट इन्टरनेसनलले प्रजातान्त्रिक व्यवस्थाअनुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्यसमेत रहेको कांग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठ निवास पुगेको भिडले देउवादम्पतीलाई मरणासन्न हुने गरी कुटपिट गर्दै घरमा आगो लगाएर ध्वस्त बनाएको थियो।