
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष) भवनमा अज्ञात समूहले आगजनी गरेको छ । पाथीभराधाम प्रवेशद्वार नजिक रहेको हेल्थ डेस्क र टि हाउस (चिया घर) मा बुधबार राति आगजनी गरिएको हो । प्रवेशद्धारदेखि केही तल लहरै बनाएका घरहरु पनि जलेर पूर्णरुपमा ध्वस्त भएका छन् ।
प्रहरीका अनुसार अज्ञात समूहले गरेका आगजनीबाट हेल्थ डेस्क र टि हाउस गरी दुईवटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगजनीबारे अनुसन्धान र संम्लगनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार बढइँले जानकारी दिए ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा उक्त संरचना निर्माण गरिएका थिए । केही समय पहिले नै निर्माण सम्पन्न गरिएका भवनहरू सञ्चालनमा ल्याउनमा नआइ आगजनी भएको कार्यकारी निर्देशक हाङ्बाङले बताए ।
खाली रहेको उक्त भवनमा पाथीभरा केबलकार निर्माणका सामाग्री राखिँदै आएको थियो । समितिका एक कर्मचारीका अनुसार हेल्थ डेस्क र टिहाउसमा सिमेन्ट लगायतका सामाग्री राखिएको थियो । हाल जेन–जी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएको मौका छोपेर आगजनी गरिएको हुनसक्ने स्थानीय बताउँछन् ।