
जेनजी पुस्ताले भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरुद्ध गरेको प्रर्दशनपछि असहज बनेका गण्डकी प्रदेशका सबै जिल्लाको वातावरण सहज भन्दै गएको छ ।
प्रर्दशनको क्रममा पहिलो दिन २३ भदौमा सबैजसो जिल्लामा जेनजीले र्यालीसहित प्रर्दशन गरेको र २४ भदौमा मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा तोडफोड र आगजनी गरेका थिए । तोडफोड र आगजनीपछि अशान्त भएका जिल्लाहरूको अवस्था बुधबारको तुलनामा बिहीबार केही सहज बन्दै बनेको छ ।
अवस्था सहज बन्दै गए पनि विरोधप्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रको सकुलरअनुसार दिउँसो निषेधाज्ञा र साँझ ७ बजेदेखि अर्को दिनबिहान ६ बजेसम्म कफ्र्यु आदेश भने निरन्तरता जारी छ ।
तोडफोड र आगजनी भएका स्थानहरूमा स्थानीयवासीले सफाइ गर्न थालेका छन् ।
जलेको भवनमा मृत भेटिएकाहरूको पहिचान खुल्यो
प्रदर्शनको क्रममा जलेको भवनमा बुधबार मृत भेटिएका दुईजनाको पहिचान खुलेको छ । अंशुभरा ग्रुपको पोखरा–६ लेकसाइडस्थित भवनमा जलेको अवस्थामा भेटिएकी २६ वर्षीया स्वास्थानी खड्का र पोखरा–९ नयाँबजारस्थित हिमालयन अर्गनाईजेसन रहेको भवनमा भेटिएको शव ३५ वर्षीया सञ्जु नगरकोटीको रहेको प्रहरीले जनाएको छ ।
मृतक खड्का दैलेखको बैतेश्वर गाउँपालिका–८ र नगरकोटी सिन्धुपाल्चोककी रहेकी कास्की प्रहरीले जनाएको छ । नगरकोटीले सुरुमा घरेलु कामदार र गत १ असारदेखि अर्गनाईजेशनअन्तर्गतको सोरुममा काम गर्न सुरु गरेकी थिइन् ।
यस्तै, प्रर्दशनको क्रममा म्याग्दी कारागारबाट भागेका ३२ जना, पर्वतबाट भागेका ६ जना, तनहुँबाट फरार भएका तीनजना कैदीबन्दी पक्राउ परेका प्रहरीको भनाइ छ ।