
संविधानको रक्षा, संवैधानिक सर्वोच्चता कायम गर्ने तथा राष्ट्रपतिलाई तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित हेटौँडामा बिहीबार युवाहरूको एक समूहले प्रदर्शन गरेको छ। विशेष गरी कांग्रेस, एमाले र माओवादीसहित विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरूको सहभागितामा भएको उक्त प्रदर्शनमा सैनिक शासन नमान्ने चेतावनी दिइएको थियो।
हेटौँडा उपमहानगरपालिका– ४ स्थित हुप्रचौरमा भेला भएका युवाहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर,’ ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपति सार्वजनिक गर’, ‘सैनिक शासन चाहिँदैन’, ‘संसद् विघटन गर्न पाइँदैन, ‘जेन-जीका माग पूरा गर’जस्ता नारासहित प्रदर्शन गरेका थिए। हुप्रचौरबाट सुरु भएर सीमाचोक पुगेको र्यालीले २३ भदौमा जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत राखेका छन्।
हुप्रचौरबाट सुरु भएको र्याली मेनरोड, बैंक रोड हुँदै सीमाचोकमा पुगेको थियो। सीमाचोकमा आयोजित कोणसभामा युवाहरूले संविधानको अस्तित्व र कार्यान्वयनमा भएको चुनौतीप्रति आक्रोश व्यक्त गर्दै सैनिक शासन वा असंवैधानिक कदम स्वीकार्य नहुने चेतावनी दिए। उनीहरूले जनताको बलिदानबाट ल्याइएको संविधानमाथि प्रहार हुने कुनै पनि प्रयास जनताले नस्विकार्ने बताए।
र्यालीमा सहभागी तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका राजेश भेटवालले संविधानको परिधिभित्र रहेर जेन-जीका माग तत्काल पूरा गर्नुपर्ने बताए। उनले जेन-जीका मागहरू जायज रहेको उल्लेख गर्दै केही घुसपैठीहरूले संविधानविपरीत गतिविधिमा जेन-जीलाई उक्साइरहेको, संसद् विघटनलाई मुद्दा बनाइरहेको भन्दै त्यसले उनीहरूको पवित्र आन्दोलन तुहिने खतरा रहेको दाबी गरे। उनले जेन-जीको आन्दोलनमा पनि घुसपैठकै कारण देशले ठुलो धनजनको क्षति व्यहोर्नुपरेको बताए।
प्रदर्शनमा उत्रिएका युवाहरूले संविधानको रक्षा केवल दलहरूको मात्र नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको बताए। उनीहरूले राजनीतिक नेतृत्वले यथाशीघ्र संवैधानिक प्रक्रिया बहाल गर्न आग्रह पनि गरेका थिए।
यस्तै, हेटौँडा– १२ हात्तीगौँडामा पनि युवाहरूले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले संसद् विघटन गर्न नहुने, जेनजीको माग तत्काल पूरा गर्नुपर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नुपर्ने, जेन-जीको आन्दोलनका क्रममा भएका गलत क्रियाकलापमा सहभागीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेलगायतका मागसहित प्रदर्शन गरेकाे प्रदर्शनमा सहभागी कुमार पोखरेलले बताए।