
देशको राजधानी काठमाडौंलगायत विभिन्न कारागारबाट भागेकामध्ये ४७ कैदीबन्दीहरुलाई धादिङबाट नियन्त्रणमा लिइएको छ।
जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका तीन महिलासहित ४७ जनालाई बिहिबार नियन्त्रणमा लिएर नुवाकोट पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए।
पृथ्वी राजमार्गका विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको छ। बुधबार तीनजनालाई धादिङको गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिएको थियो।
प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार नियन्त्रणमा लिएकाहरुमा कारागार कार्यालय जगन्नाथदेवलका २९ जना, कारागार कार्यालय नख्खुका १३ जना, कारागार कार्यालय भीमफेदीका ४ जना र कारागार कार्यालय तनहुँका १ जना छन्। पक्राउ परेका ३ महिला नै कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका हुन्।
चेकजाँचको क्रममा सोधिखोजी गरेर कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिए। नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिँडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको छ। केहिलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको उनले बताए।