
जेन–जी आन्दोलनका क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सबै वडा कार्यालय ध्वस्त भएका छन् । आन्दोलनकारीले सिंहदरबारको भ्रष्टाचारले गाउँमा सीमा नाघ्यो भन्दै पालिकासहितका सबै वडा कार्यालय ध्वस्त गरिदिएका हुन् ।
शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिका कार्यालयका सबै उपकरण तोडफोड गरिदिएको बताए । उनका अनुसार पालिका कार्यालयसहित १ देखि १२ वटै वडामा तोडफोड, आगजनी भएको छ । ‘पालिकादेखि सबै वडामा तोडफोड आगजनी भएकाले अहिलेकै अवस्थामा कार्यालयमा सेवा सञ्चालन गर्न सकिएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत विष्टले भने । आफूले मन्त्रालयमा पनि बुझ्दा एमाले नेताले नेतृत्व गरेको पालिकामध्ये सबैभन्दा बढी शुक्लाफाँटा कार्यालयमा क्षति भएको बताए । उनले भने, ‘अहिले हामी पालिका, वडा सबै कार्यालयमा सरसफाइमा जुटेका छौँ, क्षतिको विवरण पनि संकलन गर्दै छौँ, कार्यालयमा बस्ने कुर्सी पनि छैन, हामीले कसरी कार्यालय सञ्चालन गरेर जनताको सेवा गर्ने हो ।’
मेयर रणबहादुर महरा र उपमेयर कमला पन्तको कार्यकक्ष तोडफोड भएको छ । तर, कार्यालय प्रमुखको कक्षमा भने सिसा मात्रै फुटेको छ । कञ्चनपुरकै जिल्लामा पनि पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिकासहित केही वडाहरूमा क्षति भए पनि अन्यन्त्र पालिकाहरूमा यति ठुलो क्षति नभएको बताए । ‘कार्यालयलक्षित तोडफोड गैरकानुनी भए पनि हाम्रा जनप्रतिनिधि र हामी कर्मचारीले नागरिकलाई दिने सेवाबारे नागरिकको असन्तुष्टिको प्रतीक हो,’ उनले भने, ‘अब यसबाट हामी सबैले कमीकमजोरी सच्याएर जनभावनाअनुरूप शीघ्र सेवा प्रवाहकोे विकल्प छैन, नत्र हामीलाई जनताले छाड्नेवाला पनि छैनन्, मौलिक संस्कारअनुरूप स्थानीय सरकारले नागरिकलाई सेवा प्रवाह गर्नुपर्छ ।’