
नेपाल प्रहरीले हालै भएको जेन जी को प्रदर्शनका क्रममा प्रहरी पोशाक, अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाब तथा विभिन्न भौतिक सामग्री नियन्त्रणमा लिइएका वा कतै फेला परेको अवस्थामा तत्काल फिर्ता बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनामा यस्ता सामग्री नजिकको स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालयमा बुझाउन वा प्रहरी कन्ट्रोल ‘१००’, टोल–फ्री नम्बर १६६००१४१५१६ अथवा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यस्तै, आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरी पोशाक वा अन्य सामग्री कुनै पनि अवस्थामा दुरुपयोग नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ। साथै, यस्ता पोशाक वा उपकरणको प्रयोगबारे कुनै जानकारी भएमा सो सम्बन्धी सूचना तुरुन्तै प्रहरीलाई उपलब्ध गराउन अपिल गरिएको छ।
प्रहरीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, सुरक्षाकर्मीको उपकरण र पोशाक दुरुपयोगमा जाने आशङ्का व्यक्त गर्दै नागरिकबाट सक्रिय सहयोगको अपेक्षा गरेको छ।