
तराई–मधेश जेन–जी समूहले वर्तमान राज्यको प्रणालीमै गम्भीर त्रुटि रहेको भन्दै नयाँ व्यवस्थामा जानुपर्ने माग गरेको छ। यो प्रणालीले व्यक्तिलाई नै भ्रष्ट बनाउने भन्दै उक्त समूहले जननिर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएको छ।
‘बेथिति र भ्रष्टाचारको जड के हो ? दोष केवल व्यक्तिमा मात्र होइन, राज्यको प्रणालीमै गम्भीर त्रुटि छ। यस्तो प्रणालीले व्यक्तिलाई नै भ्रष्ट बनाउन बाध्य बनाएको छ। त्यसैले अब प्रणालीगत सुधार अपरिहार्य छ। यसका लागि सबैभन्दा पहिले, जननिर्वाचित कार्यकारी राष्ट्रप्रमुखको स्पष्ट व्यवस्था गर्न आवश्यक छ,’ वक्तव्यमा भनिएको छ।
प्रदर्शनका क्रममा सिंहदरबार, अदालत, अख्तियारलगायतका संरचनाहरूमा भएको आगजनी र तोडफोडले राज्यका कैयौँ प्रमाण र दस्ताबेज नष्ट भएका उल्लेख गर्दै तराई–मधेश जेन–जी समूहले प्रतिगामी तत्त्वहरूको घुसपैठ, व्यक्तिगत र राजनीतिक प्रतिशोध तथा आन्दोलनलाई बदनाम गराउने प्रयत्न भएको दाबी गरेको छ।
त्यसैले अबका वार्ता र निर्णय प्रक्रियामा पुराना दल वा सत्ता भोगेका अनुहारलाई स्थान दिन नहुने स्पष्ट पार्दै समूहले भनेको छ, ‘संघीय प्रणालीलाई थप अधिकारसम्पन्न बनाउँदै, वैदेशिक हस्तक्षेपविनाको स्वतन्त्र वातावरणमा सबै सरोकारवालाबिच सर्वपक्षीय संवाद आवश्यक छ। जेन–जी आन्दोलनको नेतृत्वबारे विवाद स्वाभाविक भए पनि अब साझा नेतृत्व समूह बनाई ऐक्यबद्धतासाथ अघि बढ्नु पर्छ। अन्यथा, फेरि उही पुराना शक्ति र सम्भ्रान्त वर्गले आन्दोलन कब्जा गर्ने खतरा रहन्छ, जुन जनताले स्विकार्ने छैनन्।’