मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २६ बिहीबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सामान्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १३:२७:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान पुनः नियमित भएका छन् । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बुधबार साँझदेखि नै उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेको जानकारी दिए । ‘विगतका दिनझैँ हवाई आवागमन सहज बनाउन सुरक्षासम्बन्धी निकायसँग समन्वय गरिएको छ,’ उनले भने । उनका अनुसार हालको क्षमताअनुसार मात्रै उडान भइरहेको र तत्काल थप उडान गर्ने अवस्था छैन ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले यात्रुहरूलाई परिचयपत्रका आधारमा आवतजावत सहज बनाइएको छ । विदेशी पर्यटकका लागि नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था मिलाएको छ भने वायुसेवा कम्पनीहरूले आफ्ना यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन आन्तरिक व्यवस्था मिलाइरहेका छन् ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बिहीबार बिहानदेखि नियमित रूपमा उडान भइरहेको बताए । उनका अनुसार पछिल्ला दुई–तीन दिनदेखि रोकिएका यात्रुलाई प्राथमिकताका साथ गन्तव्यमा पुर्‍याइनेछ ।

‘जेन–जी’ आन्दोलनपछि जारी निषेधाज्ञाका कारण गत भदौ २४ गतेदेखि विमानस्थल बन्द गरिएको थियो । तर, सुरक्षा समितिको निर्णयअनुसार बुधबार दिउँसो ३:३० बजेदेखि उडान सञ्चालन फेरि सुरु भएको हो ।

विमानस्थलले यात्रुहरूलाई आफ्ना वायुसेवा कम्पनीसँग सम्पर्क गरी समयबारे जानकारी लिएर मात्र आउन र टिकट तथा परिचयपत्र साथमा ल्याउन आग्रह गरेको छ ।

हाल त्रिभुवन विमानस्थलमार्फत दैनिक करिब तीन सयभन्दा बढी उडान भइरहेको छ । यसमध्ये करिब २५० भन्दा बढी आन्तरिक र करिब १०० अन्तर्राष्ट्रिय उडान हुन् । विमानस्थल बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालनमा रहँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकोप्टरसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा ३ नेपालीसहित ३० एयरलाइन्सले उडान भर्दै आएका छन् ।